
दोहा, कतार : कतारस्थित नेपाली मुस्लिम समुदायको पहलमा सञ्चालित ‘नेपाल बाढीपीडित राहत अभियान’बाट संकलित ४१ लाख सात हजार ७२१ रुपैयाँ नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।
रसुवागढी तथा भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि सञ्चालित अभियानमा कतारमा क्रियाशील विभिन्न नेपाली मुस्लिम संघसंस्था, व्यवसायी, श्रमिक लगायतले सहकार्य गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको समन्वयमा सञ्चालित अभियानमा नेपाली मुस्लिम शान्ति समाज, फख्र मिल्लत फाउन्डेसन, नेपाल इस्लामिक ग्रुप, नेपाली मुस्लिम फाउन्डेसन धनुषा, रमौल मुस्लिम सेवा समाज, महोत्तरी मुस्लिम कमिटी संघ, नेपाली मुस्लिम परिषद्लगायतका संघसंस्थाको सहभागिता रहेको थियो ।
राहत अभियानसम्बन्धी कार्यक्रममा समाजका प्रमुख संरक्षक मोहम्मद मुक्तदा मुसलमानले दीर्घकालीन सामाजिक परियोजना सञ्चालनका लागि कतारमा रहेका नेपाली मुस्लिम संघसंस्थालाई समेटेर संयुक्त बोर्ड गठन गर्नुपर्ने प्रस्ताव राखे । संरक्षक करिम बक्स मियाँले शिक्षा, स्वास्थ्य, रोजगारी तथा आर्थिक आत्मनिर्भरतासँग जोडिएका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

समाजका अध्यक्ष अजमत अलीले न्यूनतम एक करोड रुपैयाँको प्रारम्भिक कोष स्थापना गरी ‘चेन कमान परियोजना’ सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । कृषि, प्रशोधन, उत्पादन तथा बजारीकरणमार्फत सामुदायिक आत्मनिर्भरता बढाउने र विपन्न विद्यार्थीलाई शिक्षा तथा स्वास्थ्यमा सहयोग गर्ने परियोजनाको लक्ष्य रहेको उनले बताए ।
समाजले जारी गरेको विज्ञप्तिमा राहत संकलन अभियान अझै जारी रहने जनाउँदै तत्कालीन राहतसँगै ‘योगदानबाट पुँजी, पुँजीबाट उत्पादन, उत्पादनबाट आम्दानी, आम्दानीबाट समुदायको विकास’ भन्ने अवधारणाअनुसार दीर्घकालीन सामाजिक तथा आर्थिक सशक्तीकरणका कार्यक्रम अघि बढाउने उल्लेख गरिएको छ ।