
दोहा, कतार : अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज (अनेमुस) कतारको आयोजना तथा १२ नेपाली मुस्लिम संस्थाको सहकार्यमा नेपालको संविधान दिवस दीप प्रज्वलन, केक काटेर तथा शुभकामना आदान–प्रदानसहित मनाइएको छ ।
अनेमुस कतारका अध्यक्ष अजमत अलीको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका उपमहासचिव मोहम्मद मुक्तदा मुसलमान प्रमुख अतिथि थिए । मौलाना गुलाम नवीले कुरान तिलावत गरेपछि राष्ट्रिय गानसहित कार्यक्रम अघि बढाइएको थियो ।
कतारमा पछिल्ला वर्षहरूमा संविधान दिवसका सार्वजनिक कार्यक्रम घट्दै गएको सन्दर्भमा आयोजित कार्यक्रममा नेपाली मुस्लिम समुदायका अगुवासहित एनआरएनए आइसिसी तथा एनसिसीका पदाधिकारी, राजनीतिक तथा सामाजिक संस्थाका प्रतिनिधि, व्यवसायी र पत्रकार सहभागी थिए ।
नेपाली जनसम्पर्क समिति कतारका उपसभापति ठाकुर परियार, प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष अफसर अली खान तथा सामाजिक व्यक्तित्व चानक पोखरेललगायतले संविधान, राष्ट्रियता र नागरिक दायित्वका विषयमा धारणा राखेका थिए ।
वक्ताहरूले प्रवासमा रहे पनि संविधानप्रदत्त अधिकार, राष्ट्रियता र नागरिक जिम्मेवारीप्रति चासो राख्नुपर्ने बताए । संविधान दिवसलाई उत्सवमा मात्र सीमित नगरी संविधानले सुनिश्चित गरेका अधिकार, समानता, सामाजिक न्याय र नागरिक कर्तव्यबारे प्रवासमा समेत संवाद तथा सचेतना आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
मुस्लिम संस्थाका अगुवाहरूले नेपाली मुस्लिम समुदायसहित समग्र नेपाली समाजबीच सामाजिक सद्भाव, सहकार्य र साझा राष्ट्रिय पहिचानलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
१२ मुस्लिम संस्थालाई एउटै मञ्चमा ल्याइएको कार्यक्रमले नेपाली मुस्लिम समुदायबीच संस्थागत सहकार्य र एकताको सन्देश दिएको आयोजकले जनाएको छ । अनेमुसले सामाजिक तथा राष्ट्रिय महत्वका विषयमा विभिन्न संघसंस्थाबीच सहकार्य र समन्वयलाई निरन्तरता दिने जनाएको छ ।
कार्यक्रमको समापनमा आयोजकले सहआयोजक संस्था, एनआरएनए तथा अन्य नेपाली संघसंस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्व, व्यवसायी, पत्रकार र सहभागीप्रति आभार व्यक्त गरेको थियो ।