
दोहा, कतार : मध्यपूर्वमा पछिल्लो समय बढ्दै गएको सैन्य तनावबिच कतारस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले शनिबार जारी गरेको सुरक्षा सूचनामा क्षेत्रको सुरक्षा अवस्था जटिल रहेको र अप्रत्याशित रूपमा थप तनाव बढ्न सक्ने चेतावनी दिँदै हवाई उडान र यात्रामा अवरोध आउन सक्ने जनाएको हो ।
दूतावासका अनुसार मध्यपूर्वमा रहेका अमेरिकी नागरिकले सम्भावित उडान रद्द, हवाई क्षेत्र बन्द तथा यात्रामा हुन सक्ने अन्य अवरोधबारे नियमित जानकारी लिनुपर्नेछ । कतारबाट यात्रा गर्ने यात्रुले आफ्नो उडानको अवस्था सम्बन्धित विमान कम्पनी वा हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रत्यक्ष जाँच गर्नसमेत आग्रह गरिएको छ ।
सुरक्षा चेतावनी यस्तो समयमा आएको हो, जति बेला यमनका हुथी समूह र साउदी अरबबिच सैन्य तनाव थप चर्किएको छ । शनिवार हुथीहरूले साउदी राजधानी रियादतर्फ क्षेप्यास्त्र प्रहार गरेको साउदी पक्षले जनाएको छ । साउदी नेतृत्वको गठबन्धनले उक्त क्षेप्यास्त्र बाटोमै नष्ट गरेको दाबी गरेको छ भने रियादमा हवाई सतर्कता जारी गरिनुका साथै विमानस्थल आसपास धुवाँ र आगो देखिएको विवरण सार्वजनिक भएका छन् ।
अमेरिकी दूतावासले हुथीहरूले यसअघि पनि नागरिक विमानस्थललाई निशाना बनाएको उल्लेख गर्दै अहिलेको सैन्य द्वन्द्व तीव्र रूपमा फैलिन सक्ने चेतावनी दिएको छ । अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई स्थानीय सञ्चारमाध्यम तथा सम्बन्धित अधिकारीबाट प्राप्त सूचनामा ध्यान दिन, प्रदर्शन तथा ठुलो भीडबाट टाढा रहन र अमेरिकी प्रतिष्ठान तथा सार्वजनिक रूपमा अमेरिकासँग जोडिएका स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
दूतावासले इरान र इरान समर्थित समूहबाट मध्यपूर्वबाहिर रहेका अमेरिकी कूटनीतिक तथा अन्य अमेरिकी हितका स्थानसमेत जोखिममा पर्न सक्ने जनाएको छ । अमेरिकी दूतावासले नियमित अमेरिकी नागरिक सेवा तथा सीमित भिसा सेवा भने सञ्चालनमा रहेको जनाएको छ । पछिल्लो घटनाक्रमले साउदी अरब र यमनबिचको द्वन्द्वलाई थप संवेदनशील बनाएको छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले साउदी अरबका नागरिक तथा ऊर्जा पूर्वाधारमा भइरहेका हुथी आक्रमणको निन्दा गर्दै लालसागर र बाब अल–मन्देब क्षेत्रमा व्यावसायिक पानीजहाज तथा चालक दलको सुरक्षामा समेत चिन्ता व्यक्त गरेको छ ।
यसैबिच क्षेत्रीय तनावका कारण हवाई यात्रामा समेत प्रभाव पर्न थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साउदी अरबले इरान तथा यमनका हुथी समूहबाट क्षेप्यास्त्र र ड्रोन आक्रमणको जोखिम सामना गरिरहेको भन्दै अमेरिकाले साउदी अरबका लागि ‘यात्रा पुनर्विचार गर्नुपर्ने’ तहको यात्रा चेतावनीसमेत जारी गरेको छ ।
कतारका लागि बेलायती सरकारको पछिल्लो यात्रा सूचनाले पनि मध्यपूर्वको अवस्था अझै अप्रत्याशित रहेको र थप आक्रमण तथा आकस्मिक तनाव बढ्ने जोखिम रहेको उल्लेख गरेको छ । सम्भावित हवाई क्षेत्र बन्द, उडान रद्द तथा यात्रामा अवरोधका लागि यात्रुलाई तयार रहन आग्रह गरिएको छ ।