२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कविता : एउटा बाघको सन्देश

shivam cement
२०८१ भदौ १ गते ०६:२०
Shares
कविता : एउटा बाघको सन्देश

–मोहन राज काफ्ले

प्रकृतिको सुन्दर अनि अनुपम रचना हुँ म
वन जङ्गल नै घर हो मेरो जङ्गलभित्रै रम्छु
मेरो आफ्नै घेराभित्र घुम्दै फिर्दै बस्छु
कसैको भर पर्दिन, मेरो बन्दोबस्त म आफैँ गर्छु
जङ्गल बाहिर घर घर डुल्ने मेरो बानी हैन
आफ्नो घेरा बाहिर गई दुःख दिने छैन ।।

हो तिमीहरूले मलाई बुझ्न नसकेको पक्कै हो
मलाई उग्र हुन बाध्य पार्ने तिमीहरू नै हो
म हत्तपत्त मान्छे तिमीलाई खान चाहँदिन
सिकार खोजी खोजी म जङ्गल बाहिर जाँदिन
मैले त वन जङ्गलभित्रकै सन्तुलन राख्नु छ
शान्त अनि विशाल मेरो छविलाई उच्च राख्नु छ ।।

बुढो भएर मैले सिकार गर्न नसकेका बेला
अनेक कोसिस गर्दा पनि आहारा नमिलेका बेला
मेरा लालाबालाको साथ अनि प्रियसीसँग रमाएको बेला
म नै भ्रममा पर्ने गरी एक्लै दुकूलै मेरो नजिक आएको बेला
मेरो बासमा आउँदा तिमीहरू मेरो नजरमा पर्न सक्छौ
मैले नचाहँदा नचाहँदै पनि अनाहकमा स्वर्ग तर्न सक्छौ ।।
 
हो मेरो संरक्षणमा पनि तिमीहरू खटेका छौ
पर्यापर्यटनका लागि नि त मेरो नाम रटेका छौ
कहाँ–कहाँ कति छौँ हामी भन्दै गन्ती गरेका छौ
कहिले बाघ दिवस कहिले सम्मेलन भनेका छौ
कहिले इकोसिस्टमको वाहक त कहिले शत्रु ठानेका छौ
के राम्रो के नराम्रो मेरा बारे धेरै जानेका छौ ।।

आज विश्वले मेरो गाथा गाउँदै दिवस मनाउँदै छ
आवश्यक ठानेरै त होला मेरो महत्व जगाउँदै छ
चाहेरै पनि कहाँ मन पर्न सकिन्छ र सबैसँग
मलाई जस्तो ठाने पनि गुनासो छैन कसैसँग
मेरो घर हो वन जङ्गल यसलाई बस्न लायक गराइदेऊ
तिमी हामी सहअस्तित्वमा जुनी जुनी बाँच्ने संसार बनाइदेऊ ।।

सम्बन्धित खबर