
काठमाडौँ : हिमलुङ हिमपहिरोमा परी हराइरहेका व्यक्तिको खोज तथा उद्धार कार्य अस्थायी रूपमा स्थगित गरिएको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)का अनुसार हिमपहिरोमा अझै १२ जना कुक स्टाफ बेपत्ता छन् ।
हिमपहिरोमा परी हालसम्म चार जनाको शव फेला परेको एसोसिएसनले जनाएको छ । हिमलुङ आधार शिविरमा गएको ठूलो हिम पहिरोका कारण शिविर क्षेत्रमा करिब १४ फिटसम्म बाक्लो हिउँ जमेको थियो ।
हिम पहिरोपछि एनएनएमजीएको नेतृत्वमा अनुभवी उद्धार टोली तत्कालै खोज तथा उद्धारमा परिचालन भएको थियो । मिङ्मा जीको नेतृत्वमा आठ सदस्यीय टोलीले प्रतिकूल र जोखिमपूर्ण भौगोलिक अवस्थाका बाबजुद खोजी कार्य अघि बढाएको थियो ।
तर हाल जीवित व्यक्तिलाई उद्धार गर्ने सम्भावना नरहेको निष्कर्षसहित तत्कालका लागि खोजी कार्य रोकिएको एसोसिएसनले जनाएको छ । हिम पहिरोपछि जमेको बाक्लो हिउँ तथा हिमालको अवस्थाका कारण थप उत्खनन जोखिमपूर्ण बनेको जनाइएको छ ।
एसोसिएसनका अनुसार हिमाल तथा हिउँको अवस्था अनुकूल भएपछि हराइरहेकाको खोजीका लागि पुनः उत्खनन कार्य अघि बढाइनेछ ।