
काठमाडौँ : नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले वर्तमान सरकारको ६ महिनाको कार्यकाल पूर्णतः असफल भएको बताएका छन् ।
मंगलवार संसद परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै महरले सरकार सुशासन र जनउत्तरदायी भूमिका निर्वाह गर्नुको साटो संविधान र लोकतान्त्रिक संस्थाप्रति पूर्वाग्रही बनेको आरोप लगाएका हुन्
सरकार बनेको ६ महिना पूरा भएको सन्दर्भमा प्रतिक्रिया दिँदै महरले सुरुमा जनतामा रहेको उत्साह र आशा अहिले निराशामा परिणत भएको बताए । उनले युवा र नयाँ अनुहारको सरकारबाट देशले आर्थिक तथा सामाजिक रूपान्तरणको फड्को मार्ने अपेक्षा गरिए पनि सरकार ‘स्टन्ट’ र सस्तो लोकप्रियतामै केन्द्रित रहेको टिप्पणी गरे ।
महरले भने, ‘सरकारले चुनावअघि गरेका वाचा र पछि ल्याएको १०० दिने कार्यसूची दुवै एकादेशको कथा बनेका छन् । विदेशमा रहेका युवालाई फर्काउने, नि:शुल्क शिक्षा र स्वास्थ्य दिने नारा दिएको सरकार अहिले आफ्ना विरोधीहरूलाई प्रतिशोध साधेर थुन्ने काममा सक्रिय छ । यो सरकारको कार्यशैली पञ्चायती शैलीको पुनरावृत्ति जस्तो देखिन थालेको छ । विपद्को समयमा समेत समन्वयकारी भूमिका खेल्नुको साटो प्रधानमन्त्री र मन्त्रीहरू दम्भ र अहंकार प्रदर्शन गर्दै गैर जिम्मेवार अभिव्यक्ति दिइरहेका छन् । पुनर्स्थापनाको काममा राज्य संयन्त्र पूर्णतः अस्तव्यस्त बनेको छ । सरकार टाउकोले टेकेर उल्टो दिशामा हिँडिरहेको छ, त्यसैले यसलाई कुनै नम्बर दिन सकिँदैन ।’
सरकारले लोकतान्त्रिक संस्थाहरू, विद्यार्थी संगठन र कर्मचारी संयन्त्रमाथि प्रहार गरिरहेको आरोप लगाए । कानूनी राज्यको धज्जी उडाउँदै विना अभियोग र प्रमाण व्यक्तिहरूलाई पक्राउ गर्ने, थुन्ने र राज्य आतंक सिर्जना गर्ने काम भइरहेको भन्दै महरले सरकारको कार्यशैली स्वेच्छाचारी र निरङ्कुश भएको जिकिर गरे ।