
पर्सा : नेपालभर कार्यरत अतिरिक्त हुलाकका अस्थायी कर्मचारीहरूले न्यून पारिश्रमिकमा लामो समयदेखि काम गर्नुपरेको भन्दै गुनासो गरेका छन् । उनीहरूका अनुसार सरकारले अतिरिक्त हुलाकका कर्मचारीलाई मासिक करिब ७ हजारदेखि ८ हजार रुपैयाँसम्म पारिश्रमिक दिएर नियमित कार्यालय समयअनुसार काम गराउँदै आएको छ ।
विशेषगरी हल्कारा, पत्रवितरक लगायतका अतिरिक्त हुलाक कर्मचारीले आफूहरूमाथि विभेद भएको गुनासो गरेका छन् । उनीहरूले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म काम गर्नुपर्ने भए पनि प्राप्त हुने पारिश्रमिक दैनिक करिब २५० रुपैयाँ मात्रै रहेको बताएका छन् ।
श्रमसम्बन्धी प्रचलित व्यवस्थाअनुसार न्यूनतम ज्यालासँग तुलना गर्दा आफूहरूले पाउँदै आएको पारिश्रमिक निकै कम रहेको कर्मचारीहरूको भनाइ छ। न्यून पारिश्रमिकका कारण दैनिक गुजारा चलाउनसमेत कठिन भएको उनीहरूको गुनासो छ ।
पर्साको धोबीनी गाउँपालिका–४ लंगडी इलाका हुलाकमा कार्यरत अतिरिक्त हुलाक कर्मचारी तथा पत्रवितरक जितेन्द्र पटेलले आफू २० वर्षदेखि सोही पदमा कार्यरत रहेको बताए । उनले भने, ‘देशमा धेरै परिवर्तन भयो । अब नयाँ सरकारले अतिरिक्त हुलाक कर्मचारीको समस्या समाधान गर्छ भन्ने आशामा काम गरिरहेका छौं । २० वर्षदेखि काम गर्दै आए पनि खान–बस्न पुग्ने पारिश्रमिक र सेवा–सुविधा पाउन सकेका छैनौं ।’
पटेलका अनुसार विगतका सरकारहरूले पटक–पटक आश्वासन दिएपनि अतिरिक्त हुलाक कर्मचारीको पारिश्रमिक तथा सेवा–सुविधामा अपेक्षित सुधार हुन सकेको छैन ।
त्यस्तै, लंगडीकै अतिरिक्त हुलाक कर्मचारी तथा पत्रवितरक ज्ञान्ती देवीले आफू १२ वर्षदेखि यस क्षेत्रमा कार्यरत रहेको बताइन् । लामो समयदेखि काम गर्दै आए पनि आफूहरूले पाउने पारिश्रमिक न्यून रहेको उनको गुनासो छ ।
उनले भनिन्,‘जिल्ला हुलाक कार्यालय पर्साबाट अनुगमन आउँदा हाकिमहरूले तपाईंहरूको सरकारी ड्रेस र कार्ड कहाँ छ भनेर सोध्नुहुन्छ । कार्यालयमा ड्रेस लगाएर आउनुपर्ने भनिन्छ । तर हामी हाकिमसँग भन्छौं, सर हाम्रो तलब ७ हजार २ सय रुपैयाँ छ, त्यो रकमबाट एक छाक टार्न ग्यास र चामल किनौँ कि सरकारी ड्रेस खरिद गरौं ? यसैबाट आफ्नो गुजारा चलिरहेको छैन ।’
उनका अनुसार देशमा महँगी दिनप्रतिदिन बढ्दै गएको अवस्थामा दैनिक २५० रुपैयाँ पारिश्रमिक पाउँदा खान–बस्नमै धौ–धौ भइरहेको छ ।
अतिरिक्त हुलाक कर्मचारीहरूले आफूहरूलाई अन्य कर्मचारीसरह उचित पारिश्रमिक, सेवा–सुविधा तथा श्रमको सम्मान हुने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले लामो समयदेखि कायम रहेको न्यून पारिश्रमिकको समस्या समाधान गरी जीवनयापन गर्न पुग्ने पारिश्रमिक निर्धारण गर्नुपर्ने बताएका छन् ।
कर्मचारीहरूले नयाँ सरकारबाट आफूहरूको समस्या सम्बोधन हुने र वर्षौंदेखि भोग्दै आएको न्यून पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी समस्या समाधान हुने अपेक्षा गरेका छन् ।
त्यसैगरी, धोबीनी गाउँपालिका हुलाक कार्यालयमा कार्यरत अस्थायी अतिरिक्त हुलाक कर्मचारी तथा डाक वितरक भुसन पासवानले आफू १० वर्षदेखि अतिरिक्त हुलाक कर्मचारीका रूपमा काम गर्दै आएको बताए। उनले पनि आफूले दैनिक २५० रुपैयाँ पारिश्रमिक पाउँदै आएको बताए ।
पासवानले भने, ‘हामीहरूको जिन्दगी बरबाद भयो यो जागिरको कारण । गाउँबाहिर पनि निस्केर कमाउन सकिरहेका छैनौं । यो सरकारी रकमले घरपरिवार पाल्न समस्या भइरहेको छ । सरकारले केही गर्छ भन्दै आशैआशमा पर्खेर बसेका छौं ।’
गाउँपालिका हुलाक कार्यालयमा अस्थायी अतिरिक्त हुलाक कर्मचारी हुँदाहुँदै जिल्ला हुलाक कार्यालयले बलजफ्ती करार कर्मचारीहरू नयाँ नियुक्ति गरी बहाली गरेर पठाउने गरेको उनीहरूको आरोप छ ।
अस्थायी अतिरिक्त हुलाकका कर्मचारी हुँदाहुँदै पनि राजनीतिक आधारमा करारमा नियुक्ति गरी सरकारको अर्थमा थप बोझ दिने काम भइरहेको हुलाक कर्मचारीहरूको आरोप छ । गाउँपालिकामा रहेका हुलाक कार्यालयमा एक–दुई जना करारका कर्मचारी पठाएर अतिरिक्त हुलाक कर्मचारीहरूसँग कामकाज गराइरहेको उनीहरूको भनाइ छ ।
पहिलेदेखि नै अतिरिक्त हुलाकका कर्मचारीहरूले बिहान १० बजेदेखि कामकाज गर्दै आएकोमा अहिले सरकार परिवर्तन भएपछि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कामकाज गरिरहेको कर्मचारीहरूले बताएका छन् ।