
काठमाडौं : भोटेकोशी बाढीप्रभावित बालबालिका विपद् आएको एक महिना बितिसक्दा पनि नियमित विद्यालय शिक्षाबाट वञ्चित छन् । सरकारले प्रभावित बालबालिकालाई विभिन्न माध्यमबाट ‘सिकाइमा जोडिएको’ बताए पनि अधिकांश विद्यालयमा औपचारिक पठनपाठन अझै पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीका अनुसार बाढीपहिरोबाट नौ हजार आठ सय विद्यार्थी प्रभावित भएका छन् । रसुवा, नुवाकोट र धादिङका ३० भन्दा बढी विद्यालय प्रत्यक्ष प्रभावित भएका छन् । तीमध्ये केहीमा मात्र नियमित पठनपाठन सुरु भएको छ ।
अधिकांश विद्यार्थी अस्थायी सिकाइ केन्द्र, आफन्तको घर, नजिकका विद्यालय वा होल्डिङ सेन्टरमार्फत सिकाइमा जोडिएका छन् । कतिपय स्थानमा पाल टाँगेर अस्थायी सिकाइ केन्द्र सञ्चालन गरिएको छ ।
रसुवा र नुवाकोटका केही विद्यालयमा स्थानीय अवस्थाअनुसार पठनपाठन सञ्चालन गर्न सकिने अवस्था बने पनि धेरै ठाउँमा सहज छैन । प्रभावित परिवारले अझै होल्डिङ सेन्टरमा आश्रय लिइरहेका कारण विद्यालय सञ्चालनमा समेत कठिनाइ छ ।
क्षतिग्रस्त विद्यालयमध्ये केहीलाई अन्यत्र स्थानान्तरण गरी सञ्चालन गर्ने तयारी भइरहेको छ । मिलनगढ माध्यमिक विद्यालयमा आवासीय प्रकृतिबाट पठनपाठन सञ्चालन गर्ने योजना स्थानीय तहले अघि बढाएको छ । अन्य विद्यार्थीलाई पनि पायक पर्ने नजिकका विद्यालयमा जोडेर पढाइ अघि बढाउने प्रयास भइरहेको छ ।
विस्थापित परिवार आफन्तको घर तथा अन्य सुरक्षित स्थानमा सर्न थालेपछि प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका होल्डिङ सेन्टरको संख्या घट्दै गएको मन्त्रालयले जनाएको छ । त्यससँगै त्यहाँ रहेका विद्यार्थीको संख्या पनि घटिरहेको छ ।
‘सिकाइ’ हुँदै छ, ‘पढाइ’ अनिश्चित
विपद्पछि बालबालिकालाई मानसिक त्रासबाट बाहिर ल्याउने, कुराकानी गर्ने, कथा सुनाउने, पढ्ने वातावरण बनाउने तथा मनोसामाजिक परामर्श दिने गतिविधिलाई पनि सिकाइ प्रक्रियाका रूपमा अघि बढाइएको छ । यसका लागि शिक्षक, मनोसामाजिक परामर्शदाता, अभिभावक, आफन्त तथा सहयोगी संस्थाका विज्ञ परिचालन भएका छन् ।
तर शिक्षक, कक्षाकोठा र नियमित पाठ्यक्रमसहितको औपचारिक पठनपाठन भने अधिकांश प्रभावित क्षेत्रमा अझै पुनस्र्थापित हुन सकेको छैन । विपद्को एक महिनापछि पनि हजारौं बालबालिकाका लागि नियमित विद्यालय फर्किने अवस्था अनिश्चित छ ।
शिक्षा मन्त्रालयले विपद्पछि प्रभावित विद्यालयको वास्तविक अवस्था पहिचान गर्न प्रत्येक विद्यालयको छुट्टाछुट्टै प्रोफाइल तयार गरिरहेको छ ।
प्रभावित तीन जिल्लाका स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइ र विकास साझेदार संस्थाका प्रतिनिधिमार्फत विद्यालयगत क्षति, नोक्सानी तथा आवश्यक पुनर्निर्माणसम्बन्धी विवरण संकलन भइरहेको छ । मन्त्रालयले उक्त विवरण यो साताभित्र अन्तिम रूप दिने तयारी गरेको छ ।
त्यसपछि विद्यालयगत क्षति र आवश्यक लागतसहितको विवरण राष्ट्रिय योजना आयोगमा पठाइनेछ ।
७३ विद्यार्थी काठमाडौंका विद्यालयमा
बाढीपहिरोबाट प्रभावित भएर काठमाडौं आएका नुवाकोटका ७३ विद्यार्थी काठमाडौं महानगरपालिका–१६ डल्लुस्थित गीतामाता माध्यमिक विद्यालयमा जोडिएका छन् । उनीहरू नुवाकोटको त्रिभुवन त्रिवेणी र वाङ्ल क्षेत्रका विद्यालयबाट आएका हुन् ।
काठमाडौंमा रहेका अन्य प्रभावित बालबालिकालाई पनि विद्यालय शिक्षामा जोड्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । काठमाडौंको एलो गुम्बामा आश्रय लिइरहेका सयभन्दा बढी बालबालिकामध्ये अधिकांश सिकाइ प्रक्रियामा जोडिएका छन् । यद्यपि उनीहरूको यकिन विवरण मन्त्रालयले संकलन गरिरहेको छ ।
पाँच सय बालबालिका अझै सम्पर्कविहीन
विपद्पछि प्रभावित बालबालिकाको अवस्थासम्बन्धी प्रारम्भिक विवरणमा करिब पाँच सय बालबालिका अझै सम्पर्कविहीन रहेको उल्लेख छ । तीमध्ये केही बालबालिकाको मृत्यु भएको जानकारी प्राप्त भए पनि ठुलो संख्या अझै सम्पर्कमा आउन सकेको छैन । विपद् आएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि उनीहरूको अवस्थाबारे यकिन हुन नसक्दा प्रभावित बालबालिकाको खोजी तथा शैक्षिक पुनस्र्थापनाको चुनौती कायमै छ ।