
काठमाडौँ : मनाङको नार्फाभूमि गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये फेला परेका शव नेपाली सेनाले उद्धार गरी सुरक्षित स्थानमा ल्याएको छ ।
असोज १५ गते गएको विनाशकारी हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोज तथा उद्धारका क्रममा फेला परेका शवमध्ये नेपाली सेनाको हवाई साधनमार्फत दुई शव चामे र छ शव फूगाउँसम्म ल्याइएको नेपाली सेनाले जनाएको छ ।
हिम पहिरोपछि बेपत्ताको खोजी तथा शव उद्धारका लागि नेपाली सेनाले हवाई साधन परिचालन गरी उद्धार कार्य जारी राखेको छ ।
दुर्गम हिमाली क्षेत्रमा प्रतिकूल भौगोलिक अवस्थाबीच खोज तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ। हिम पहिरो प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा फेला परेका शवलाई सुरक्षित स्थानमा ल्याउने कार्यलाई प्राथमिकतामा राखिएको छ ।
नेपाली सेनाले विपद्का समयमा सञ्चालन गर्दै आएको उद्धार अभियानअन्तर्गत हिम्लुङ हिमालमा समेत हवाई साधन प्रयोग गरी उद्धार कार्यलाई निरन्तरता दिएको हो ।