२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

भारतको धौलीगंगा बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

Nada
२०८३ असोज १६ गते १४:३७
Shares
भारतको धौलीगंगा बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौँ : भारतको उत्तराखण्डस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि खोलिने भएपछि महाकाली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासनले आग्रह गरेको छ ।

ncell

बाँधमा जम्मा भएको सिल्ट सफाइका लागि शनिबार राति १ बजेदेखि सोमबार राति १ बजेसम्म ढोका खुला राखिने भएको हो । यस अवधिमा महाकाली नदीको बहाव तथा जलस्तर बढ्न सक्ने भन्दै प्रशासनले नदी आसपासका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ ।

भारतको एनएचपीसी लिमिटेडअन्तर्गत धौलीगंगा पावर स्टेसनबाट प्राप्त जानकारीका आधारमा दार्चुला र कञ्चनपुर प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सचेत गराएका हुन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार असोज १७ गते शनिबार राति १ बजेदेखि असोज १९ गते सोमबार राति १ बजेसम्म बाँधमा जमेको बालुवा, माटो तथा सिल्ट हटाउने काम हुनेछ ।

सिल्ट सफाइका क्रममा बाँधका ढोका खोलिने भएकाले महाकाली नदीमा पानीको बहाव बढ्न सक्ने प्रशासनले जनाएको छ ।

बाँधबाट पानी छोड्दा नदीको जलस्तरमा हुने परिवर्तनलाई ध्यानमा राख्दै नदी किनार तथा आसपासका जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ ।

प्रशासनले विशेष गरी महाकाली नदी किनारमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा बाँध खुला रहने अवधिमा नदीमा नजान अनुरोध गरेको छ ।

नदी किनारमा जाने, नदी वारपार गर्ने तथा जलस्तर बढ्दा जोखिम हुन सक्ने गतिविधि नगर्नसमेत आग्रह गरिएको छ ।

दार्चुलाबाट बग्ने महाकाली नदी बैतडी, डडेल्धुरा र कञ्चनपुर हुँदै भारततर्फ जाने भएकाले तल्लो तटीय क्षेत्रमा समेत जलस्तर वृद्धिको प्रभाव पर्न सक्ने प्रशासनको भनाइ छ ।

बाँधका ढोका बन्द गरिएलगत्तै नदीको अवस्था सामान्य नहुन सक्ने भएकाले त्यसपछि पनि केही समय सतर्कता कायम राख्न प्रशासनले आग्रह गरेको छ ।

सिल्ट सफाइका क्रममा छोडिएको पानीका कारण बाँधभन्दा तल्लो तटीय क्षेत्रमा केही समयसम्म पानीको बहाव र जलस्तर बढी रहन सक्ने भएकाले नदी किनारका बासिन्दालाई स्थानीय प्रशासनबाट जारी हुने सूचनामा ध्यान दिन तथा आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर