
काठमाडौं : भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले दिल्लीमा ७०० भन्दा बढीलाई पक्राउ गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार जन्तरमन्तर क्षेत्रमा भएको प्रदर्शनबाट मात्रै ठूलो संख्यामा प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा विद्यार्थीका साथै विपक्षी राजनीतिक दलका नेतासमेत छन् ।
मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गर्दै ककरोच जनता पार्टी (सिजेपी)ले बिहीबारदेखि आन्दोलन थालेको हो । निर्वाचन प्रक्रिया र आयोगको भूमिकालाई लिएर सीजेपीले विरोध प्रदर्शन अघि बढाएको बताइएको छ ।
प्रदर्शनमा सहभागी भएपछि आम आदमी पार्टीकी नेता तथा दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशी र पूर्वमन्त्री सौरभ भारद्वाज पनि प्रहरी नियन्त्रणमा परेका छन्। बीबीसी हिन्दीका अनुसार दुवैलाई प्रदर्शनस्थलबाट पक्राउ गरिएको हो ।
त्यस्तै, राष्ट्रिय जनता दल (आरजेडी)का सांसद मनोज झालाई पनि जन्तरमन्तरबाट प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय कम्युनिस्ट नेता एमए बेबीसमेत पक्राउ परेको समाचारमा उल्लेख छ ।
कुमारको राजीनामा माग गर्दै सुरु भएको आन्दोलनमा विद्यार्थी तथा विभिन्न विपक्षी दलका नेता–कार्यकर्ता सहभागी भएका छन् । निर्वाचन प्रणाली र आयोगको कार्यसम्पादनलाई लिएर उठाइएका प्रश्नलाई लिएर भारतमा पछिल्लो समय विरोध प्रदर्शन हुँदै आएको छ ।