२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १३ संशोधन समेटिए, भाडा नबढ्ने मन्त्रीको दाबी

Nada
२०८३ असोज १६ गते १८:५८
Shares
आन्तरिक वायुसेवाको दायित्व विधेयकमा १३ संशोधन समेटिए, भाडा नबढ्ने मन्त्रीको दाबी

काठमाडौँ : आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकमा परेका १५ संशोधन प्रस्तावमध्ये १३ वटा समावेश गरिएको पर्यटन मन्त्री खड्गराज पौडेलले बताएका छन् । 

ncell

उनले विधेयकले हवाई भाडा वृद्धि नगर्ने र यात्रु, चालक दलका सदस्य तथा तेस्रो पक्षको सुरक्षालाई प्राथमिकतामा राख्ने दाबी गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ माथिको छलफलमा मन्त्री पौडेलले सांसद र विधान व्यवस्थापन समितिबाट प्राप्त सुझाव समेटेर विधेयकलाई थप स्पष्ट र व्यावहारिक बनाइएको जानकारी दिएका हुन् ।

उनका अनुसार विधेयकका प्रावधानमा दोहोरो अर्थ नलागोस् र सर्वसाधारणले सहजै बुझ्न सकून् भन्ने उद्देश्यले भाषिक सरलीकरणमा ध्यान दिइएको छ । सुरक्षित र भरपर्दो हवाई सेवा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको भन्दै उनले विधेयक कार्यान्वयनको तयारी तत्काल सुरु गरिने बताएका छन् ।

छलफलमा सांसदहरूले उठाएको प्रचारप्रसारको विषय सम्बोधन गर्न राष्ट्रव्यापी सचेतना योजना अघि बढाउने प्रतिबद्धता पनि मन्त्री पौडेलले व्यक्त गरेका छन् । यात्रुलाई आफ्ना अधिकार र वायुसेवा कम्पनीको दायित्वबारे विभिन्न माध्यमबाट जानकारी दिने मन्त्रालयको तयारी रहेको उनले बताएका छन् ।

शुक्रबारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक र दफावार छलफल सम्पन्न भएको छ ।

ताजा खबर

सम्बन्धित खबर