२०८३ असोज १६ गते शुक्रवार / Oct 02 , 2026 , Friday
२०८३ असोज १६ गते शुक्रवार

कार्यालय प्रमुख नहुँदा सेवाग्राहीलाई सास्ती

Nada
लालबाबु बानिया
२०८३ असोज १६ गते २१:१२
Shares
कार्यालय प्रमुख नहुँदा सेवाग्राहीलाई सास्ती

पर्सा : पर्साको ग्रामीण क्षेत्रमा रहेको एक मात्र इलाका प्रशासन कार्यालय सुपौलीमा केही महिनादेखि कार्यालय प्रमुख अनुपस्थित हुँदा सेवाग्राही प्रशासनिक सेवा लिनबाट वञ्चित भएका छन् ।

ncell

पर्साको जिराभवानी गाउँपालिका–४ स्थित इलाका प्रशासन कार्यालय सुपौलीमा लामो समयदेखि कार्यालय प्रमुख अनुपस्थित रहेको भन्दै सेवाग्राहीले प्रशासनिक सेवा प्रभावित भएको गुनासो गरेका छन् । कार्यालय प्रमुखको अनुपस्थितिका कारण नागरिकता, नागरिकताको प्रतिलिपि, जातीय सिफारिसलगायत महत्वपूर्ण प्रशासनिक काम प्रभावित भएको सेवाग्राहीको भनाइ छ ।

कार्यालयमा अन्य कर्मचारी उपस्थित भए पनि कार्यालय प्रमुखको निर्णय तथा स्वीकृति आवश्यक पर्ने काम अघि बढ्न नसक्दा सेवाग्राही समस्यामा परेको स्थानीयको गुनासो छ । विशेषगरी नयाँ नागरिकता तथा नागरिकताको प्रतिलिपि बनाउन आउने विद्यार्थी, ज्येष्ठ नागरिक तथा रोजगारीका लागि विदेश जाने तयारीमा रहेका युवा प्रभावित भएका छन् ।

जिराभवानी गाउँपालिका–१ का द्वारिका राय आफ्ना छोरा–छोरीको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय सुपौली पुग्दा कार्यालय प्रमुख नभएपछि रित्तो हात फर्किनुपरेको गुनासो गरेका छन् ।

‘मेरो छोरा–छोरीलाई उच्च शिक्षा पढाउन कलेजले नाम लेख्यो तर नेपाली नागरिकता माग गरेको छ । त्यही नागरिकता बनाउन छोरा–छोरीलाई लिएर इलाका प्रशासन कार्यालय सुपौली पुग्दा कार्यालय प्रमुख नभएका कारण काम हुन सकेन र रित्तो हात फर्किन बाध्य भएँ,’ रायले भने ।

इलाका प्रशासन कार्यालय सुपौलीमा नागरिकता, नागरिकताको प्रतिलिपिलगायत अन्य प्रशासनिक कामका लागि ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौलीलगायत गाउँपालिकाबाट टाढाका क्षेत्रका नागरिकसमेत आउने गरेका छन् । तर कार्यालय प्रमुखको अनुपस्थितिका कारण काम नभएपछि टाढाबाट आएका सेवाग्राही खाली हात फर्किनुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ ।

कार्यालय प्रमुखको दरबन्दी अधिकृतको रहेको भए पनि मन्त्रालयबाट अहिलेसम्म कार्यालय प्रमुख नआएका कारण समस्या देखिएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भला प्रसाद दहालले बताए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय पर्साका अधिकृतबाट इलाका प्रशासन कार्यालय सुपौलीमा नागरिकतालगायतका आवश्यक विवरण संकलन गरी साताको दुई दिन आइतबार र सोमबार नागरिकता बनाउने काम हुँदै आएको थियो । तर उक्त काममा खटिएका कर्मचारीको समेत अन्यत्र सरुवा भएपछि अहिले थप समस्या देखिएको उनले बताए ।

‘अहिले नागरिकतालगायत कामकाज गर्ने प्रमुख कर्मचारीको अन्यत्र सरुवा भएपछि समस्या देखिएको छ,’ प्रमुख जिल्ला अधिकारी दहालले भने ।

कार्यालयमा काम गर्ने दुई कर्मचारी अनुपस्थित हुँदा सहायक कर्मचारीहरू नियमित रूपमा कार्यालयमा आए पनि प्रशासनिक निर्णय तथा स्वीकृति आवश्यक पर्ने काम अघि बढाउन कठिनाइ भएको दहालले बताए ।

इलाका प्रशासन कार्यालय सुपौलीमा जिम्मेवार कर्मचारीको व्यवस्था गर्न आफूले लिखित पत्र पठाएको उनले जानकारी दिए । कार्यालय सञ्चालनलाई सहज बनाउन आफ्नै ठाउँबाट नायब सुब्बालाई निमित्त प्रमुखको जिम्मेवारी दिने पहलसमेत गरिएको दहालले बताए ।

‘इलाका प्रशासन कार्यालय सुपौलीमा जिम्मेवार कर्मचारीको व्यवस्था गर्न लिखित पत्र पठाएको छु । आफ्नै ठाउँबाट नायब सुब्बालाई निमित्त प्रमुख बनाएर जिम्मेवारी दिने पहल गरेको छु,’ दहालले भने ।

तर निमित्त प्रमुखको जिम्मेवारी दिने विषयमा मन्त्रालयबाट अहिलेसम्म ठोस निर्णय नआएको उनले बताए। मन्त्रालयबाट स्वीकृति आएलगत्तै इलाका प्रशासन कार्यालय सुपौलीबाट नागरिकतालगायतका सेवा नियमित रूपमा सञ्चालन गरिने दहालले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर