
काठमाडौँ : नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।
नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस पूर्व–पश्चिम राजमार्गबाट नालामा पल्टिएको हो । प्रारम्भिक विवरणअनुसार चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ ।
बसमा चालकसहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएका छन् भने दुई जना सकुशल रहेका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री रहेका छन् । अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी रहेको छ ।
घाइतेहरू :
१. गोरखा, गोरखा–९ का ३० वर्षीय हरिशरण थापा
२. अछाम, मंगलसेन–६ का २८ वर्षीय तेजेन्द्र प्रसाद भण्डारी
३. बर्दिया, ठाकुरबाबा–१ की २० वर्षीया आकृति
४. बाजुरा, स्वामीकार्तिक–५ का ३२ वर्षीय पवन बुढा
५. बर्दिया, राजापुर–९ का २८ वर्षीय सञ्जय थारु
६. बाजुरा, स्वामीकार्तिक–१ का २५ वर्षीय प्रेम बम
७. ललितपुर, कोन्ज्योसोम–५ का २९ वर्षीय अनोज खत्री
८. बर्दिया, बाँसगढी–७ का ३६ वर्षीय लालबहादुर कार्की
९. बाँके, नेपालगञ्ज–१६ का ४८ वर्षीय अस्लाम भगवान
१०. सल्यान, वनगाड कुपिण्डे–१ का २१ वर्षीय अनिल बुढाथोकी
दुर्घटनाको खबर पाएलगत्तै प्रहरी निरीक्षक थमन सिंह रानाको नेतृत्वमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको थियो । उनीहरूको डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।