
काठमाडौँ : वरिष्ठ पत्रकार हरि लम्सालको आज बिहान १०: ३० बजे निधन भएको छ । फोक्सोसम्बन्धी समस्याको उपचार गराइरहेका ७८ वर्षीय लम्सालको उपचारकै क्रममा ह्याम्स अस्पतालमा निधन भएको हो ।
स्वर्गीय लम्साल नेपाल पत्रकार महासंघ, काठमाडौँ शाखाका पूर्वसभापति हुन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले लम्सालको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली पत्रकारितामा उनको योगदानको स्मरण गरेका छन् ।
दाहालका अनुसार लम्साल पाँच दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय थिए । उनले ‘राष्ट्रवाणी’ साप्ताहिकको सम्पादकीय नेतृत्वसमेत गरेका थिए ।
लम्सालको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिएका छन् ।