
काठमाडौं : नेपालमा मुस्लिम समुदायको इतिहास, इस्लामी सभ्यताको विकास र राष्ट्र निर्माणमा मुस्लिम समुदायको योगदानका विविध पक्षमाथि अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।
कन्फिडेन्स नेपालको आयोजनामा भएको कार्यक्रममा पूर्वराज्यमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले ‘नेपालमा इस्लामी सभ्यताको विकास’ विषयमा विशेष प्रस्तुति दिँदै नेपालमा मुस्लिम समुदायको उपस्थिति केवल धार्मिक समुदायको इतिहासका रूपमा नभई नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक तथा सभ्यतागत विकाससँग जोडिएको विषयका रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए ।
नयाँ बानेश्वरस्थित इन्स्टिच्यूट अफ कम्युनिकेशन एण्ड रिसर्चकाे सभा हलमा आयोजित कार्यक्रममा हुसैनले आफ्नो प्रस्तुतिलाई दशवटा प्रमुख अध्यायमा विभाजन गर्दै नेपालसँग मुस्लिम सम्पर्कदेखि संविधानमा मुस्लिम पहिचानसम्मको विकासक्रम प्रस्तुत गरे । उनले पहिलो अध्यायका रूपमा 'नेपालसँग मुस्लिम सम्पर्क’ को ऐतिहासिक पृष्ठभूमिबारे चर्चा गर्दै नेपाल र इस्लामी संसारबीचको प्रारम्भिक सम्पर्क, व्यापारिक सम्बन्ध तथा आवागमनका विभिन्न पक्षबारे प्रकाश पारे । त्यसपछि ‘स्थायी मुस्लिम बसोबास’ शीर्षकअन्तर्गत वर्तमान तराईका हजाराैँ वर्षपहिले देखि आदिवासीकाे रूपमा बसाेबास गरेका र विभन्न कालखण्डमा इस्लाम अपनाएका रैथाने मुस्लिम, आमन्त्रित मुस्लिम, स्वयं आगमन भएका मुस्लिम, विभिन्न कालखण्डमा भएको बसाइँसराइ, शरणार्थीका रूपमा आएका जनसमुदाय तथा क्रमशः नेपाली समाजमा भएको एकीकरणबारे चर्चा गरे ।
मुस्लिम समुदायको नेपाल आगमनलाई एउटै कारण वा एउटै कालखण्डमा सीमित गरेर हेर्न नहुने उनको भनाइ थियो । उनले मुस्लिमकाे इतिहासकाे कुरा गर्दा जहिले पनि मुस्लिम मल्ल कालमा आएकाे इतिहास अपुराे रहेकाे तर्क प्रस्तुत गरे ।
हुसैनले 'अस्थायी बसोबास’ को अध्यायमा नेपालमा व्यापार, रोजगारी, प्रशासनिक तथा अन्य प्रयोजनले केही समयका लागि आएका मुस्लिम समुदाय र उनीहरूको सामाजिक-आर्थिक भूमिकाबारे चर्चा गरे । कार्यक्रममा उनले ‘इस्लामी सभ्यताको प्रभाव’ शीर्षकमा नेपाली भाषा, साहित्य, कला, संगीत, वास्तुकला, व्यापार, प्रशासन, खानपान, पोसाक तथा सामाजिक संस्कृतिमा देखिएका इस्लामी प्रभावका विविध उदाहरण प्रस्तुत गरे ।
त्यस्तै ‘शासनमा मुस्लिम समुदाय’ शीर्षकमा विभिन्न ऐतिहासिक कालखण्डमा प्रशासन, दरबार, व्यापार तथा राज्य संयन्त्रसँग मुस्लिम समुदायको सम्बन्धबारे चर्चा गरिएको थियो । नेपालका विभिन्न शासकीय संरचनामा मुस्लिम व्यक्तिहरूले निर्वाह गरेको भूमिकाको थप अनुसन्धान आवश्यक रहेको उनले बताए । उनले मुस्लिम समुदायको राष्ट्र निर्माणमा रहेको भूमिकालाई 'योगदानको स्वर्ण अध्याय’ का रूपमा प्रस्तुत गर्दै व्यापार, उद्योग, कृषि, शिक्षा, सञ्चार, साहित्य, कला, सुरक्षा, प्रशासन, कूटनीति तथा सामाजिक सेवाका क्षेत्रमा मुस्लिम समुदायका व्यक्तिहरूले पुर्याएको योगदानलाई राष्ट्रिय इतिहासको मूल प्रवाहमा समेट्नुपर्ने धारणा राखे ।
प्रस्तुतिको अर्को महत्वपूर्ण पक्ष ‘पृथक महासभ्यता : अन्तर्घुलित महासभ्यता’ थियो । हुसैनले नेपालमा इस्लामी सभ्यताको विकासलाई नेपालको मूल सभ्यताबाट अलग रहेको सभ्यताको रूपमा मात्र नभई लामो समयदेखि विभिन्न समुदाय, संस्कृति र परम्परासँग अन्तरक्रिया र अन्तर्घुलन हुँदै विकसित भएको सभ्यताका रूपमा बुझ्नुपर्ने बताए ।
त्यसैगरी ‘राजनीतिक इतिहास’ अन्तर्गत मुस्लिम समुदायको राजनीतिक सहभागिता, प्रतिनिधित्व र राज्यसँगको सम्बन्धबारे चर्चा गर्दै उनले नेपालको राजनीतिक इतिहासमा मुस्लिम समुदायको भूमिकालाई पर्याप्त रूपमा दस्तावेजीकरण नगरिएको बताए । उनले राजा भास्कर मल्ल (वि.सं. १७००) ले एकजना मुसलमानलाई काजी (चाैतारा) मा नियुक्त गरेकाे ऐतिहासिक प्रमाण रहेकाे दावी गरे । ‘मुस्लिम आन्दोलन’ शीर्षकमा उनले मुस्लिम समुदायले आफ्नो पहिचान, समान अधिकार, प्रतिनिधित्व र समावेशीकरणका लागि विभिन्न चरणमा सञ्चालन गरेका सामाजिक तथा राजनीतिक प्रयासहरूको चर्चा गरे । उनका अनुसार मुस्लिम आन्दोलनलाई केवल सामुदायिक अधिकारको आन्दोलनका रूपमा नभई संविधानप्रदत्त समानता, सामाजिक न्याय र समावेशी लोकतन्त्रसँग जोडेर हेर्नुपर्छ ।
प्रस्तुतिको अन्तिम अध्याय ‘संविधानमा मुस्लिम पहिचान : नयाँ अध्यायको प्रारम्भ’ रहेको थियो । संविधानले मुस्लिम समुदायलाई दिएको पहिचान, अधिकार तथा समावेशिताको संवैधानिक आधारबारे चर्चा गर्दै हुसैनले संवैधानिक उपलब्धिलाई व्यवहारमा कार्यान्वयन गर्नु अबको प्रमुख चुनौती भएको बताए । कार्यक्रममा काठमाडौँका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी, विशेष गरी कानुन, पत्रकारिता, चिकित्सा तथा इन्जिनियरिङ्गका विद्यार्थी, कानून व्यवसायी, अनुसन्धानकर्ता, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका बुद्धिजीवीहरूको सहभागिता थियो ।
कार्यक्रममा मानवअधिकारवादी नेतृ उषा टिटिक्सु, युवा राजनीतिक विश्लेषक माजिद अन्सारी, युवा विश्लेषक इर्शाद शेख, रिजन राना मगर, माेनिषा चाैधरी, माेनिका निराैला, अन्सुदा पाैडेल, साज्दा नाज, सिमरन परवीन, मुकेश जाेशी लगायतका अनुसन्धान तथा सामाजिक क्षेत्रमा क्रियाशील बाैद्धिक युवा तथा जेनजी नेताहरूले विषयसँग सम्बन्धित धारणा तथा टिप्पणी प्रस्तुत गरेका थिए ।
सहभागीहरूले नेपालमा मुस्लिम इतिहास तथा इस्लामी सभ्यताको विकाससम्बन्धी विषयलाई बाैद्धिक अनुसन्धान, पत्रकारिता र सार्वजनिक विमर्शको विषय बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमको अध्यक्षता कन्फिडेन्स नेपालका अध्यक्ष शम्साद आदिलले गरेका थिए । उनले मुस्लिम समुदायको इतिहास र सभ्यताबारे नयाँ पुस्तालाई तथ्यमा आधारित जानकारी उपलब्ध गराउने तथा विभिन्न समुदायबीच संवाद र समझदारी बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा द मेसेज मिडियाले मिडिया पार्टनरकाे रूपमा सहकार्य गरेको थियो ।