२०८३ असोज ३० गते शुक्रवार / Oct 16 , 2026 , Friday
२०८३ असोज ३० गते शुक्रवार

गायक रविलाई खुला पत्र- 'लोकप्रियताले तिम्रो विनम्रता नखोसोस्, जिम्मेवारीले तिम्रो मौलिकता नबदलियोस्'

Nada
तिलु शर्मा पौडेल
२०८३ असोज ३० गते १२:४३
Shares
गायक रविलाई खुला पत्र- 'लोकप्रियताले तिम्रो विनम्रता नखोसोस्, जिम्मेवारीले तिम्रो मौलिकता नबदलियोस्'

एउटा गाउँको सामान्य परिवेशबाट उठेको प्रतिभाले आफ्नै स्वर, साधना र सङ्घर्षको बलमा राष्ट्रिय पहिचान बनाउँदा त्यो केवल एक व्यक्तिको सफलता हुँदैन, सिङ्गो गाउँ, समाज र माटोको गौरव बन्छ । म्याग्दीको नेप्टेचौरमा जन्मिएका लोकदोहोरी गायक रवि कार्की आज त्यही गौरवका परिचित नाम बनेका छन् । उनका गीतमा नेपाली जनजीवनका भोगाइ, लोकलयको मिठास र आममानिसका सुखदुःखका कथा भेटिन्छन् । तर आजको लोकप्रियतासम्म आइपुग्न उनले पार गरेको बाटो सहज थिएन । उनको सफलताभित्र अभाव, निराशा र निरन्तर सङ्घर्षको लामो कथा लुकेको छ ।

ncell

रविको बाल्यकाल सुखसुविधामा बितेन । अनेक अभाव र अप्ठ्याराबीच उनले आफ्नो विद्यालय जीवन पूरा गरे । परिस्थितिले उनलाई सजिलो बाटो दिएन, तर दुःखले उनको सपना मार्न सकेन । मनमा गीतप्रतिको मोह र भविष्यप्रति आशा बोकेर उनी सांगीतिक यात्रामा अघि बढे । सन् २००६ मा ‘बादलभित्र’ गीतमा पहिलोपटक स्वर दिएर उनले आफ्नो सांगीतिक यात्रा सुरु गरे । पहिलो गीतले अपेक्षित चर्चा पाएन, तर उनले हिम्मत हारेनन् । त्यसपछि ‘बेनी बजार झर मायालु’ गीत सार्वजनिक गरे । यही गीत उनको सांगीतिक जीवनको महत्त्वपूर्ण मोड बन्यो । गीतले चर्चा पाएसँगै रवि कार्कीको नाम नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा फैलिन थाल्यो ।

त्यसपछि उनले ‘जाम सुस्तै’, ‘रेरे साइँलो’, ‘घुम्ती घुम्ती रोड’, ‘चरी बाँसैमा’, ‘बसे है पाले दाइ’, ‘माया के रैछ’, ‘हाँस्ने बोल्ने गरे पो माया बढ्छ’, ‘हुन्छ भन’, ‘साइँली सलक्कै’, ‘बर्खे झरीमा’ र ‘बागलुङ पञ्चकोट’ लगायतका गीतमार्फत आफ्नो सांगीतिक पहिचान फराकिलो बनाए । लोकदोहोरीसँगै भजन गायनमा सक्रिय उनले ‘शिव भजन’, ‘गलेश्वरको दर्शन’ र ‘हे शिव कैलाशमा’ जस्ता भजनमार्फत पनि श्रोताको मन जितेका छन् । मौलिक लोकलय, सरल शब्द र भावपूर्ण गायन उनका विशेषता हुन् । गायनसँगै शब्द तथा संगीत सिर्जना, अभिनय, निर्देशन र नृत्यमा समेत सक्रिय उनी बहुआयामिक कलाकारका रूपमा परिचित छन् ।

धौलागिरि नाट्य समूहको अध्यक्षका रूपमा काम गरेका रविले नाट्य क्षेत्रमा पनि आफ्नो क्षमता प्रस्तुत गरे । पछिल्लो समय दोहोरीमा जोगीको भूमिकामा प्रस्तुत हुने उनको शैलीले दर्शकमाझ छुट्टै लोकप्रियता कमाएको छ । उनका केही गीतले करोडौं पटक हेरिने सफलता हासिल गरेका छन् । सांगीतिक कार्यक्रमका सिलसिलामा कतार, दुबई, जापान र हङकङसम्म पुगेका उनले गाउँको परिवेशबाट सुरु भएको आफ्नो यात्रालाई विदेशमा रहेका नेपाली समुदायसम्म विस्तार गरेका छन् ।

तर कलाकारको जीवनमा लोकप्रियता र संस्थागत सम्मान सधैँ एकसाथ प्राप्त हुँदैन । एकपटकको व्यक्तिगत भेटमा रविले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, म्याग्दी शाखामा सहकोषाध्यक्षको जिम्मेवारीमा रहँदाको एउटा अनुभव सुनाएका थिए । आगामी पदमा उम्मेदवारी दिने वा नदिने विषयमा समेत समितिले आफूलाई सल्लाह नगरेको र एकपटक सोध्नसमेत आवश्यक नठानेको महसुस भएको उनले बताएका थिए । त्यसपछि प्रतिष्ठानबाट अलग्गिएको उनको भनाइ थियो ।

यो उनको व्यक्तिगत अनुभूति हो । त्यस घटनाको सत्यता वा औचित्यबारे फैसला सुनाउनु मेरो उद्देश्य होइन । तर यसले एउटा प्रश्न भने उठाउँछ—हामी आफ्नै वरिपरि रहेका प्रतिभालाई समयमै चिन्न र उनीहरूको योगदानको सम्मान गर्न कति सचेत छौं ? व्यक्तिको क्षमता उसले पाएको पदले निर्धारण गर्छ कि उसको कर्मले ? संस्थाभित्र बेवास्ता गरिएको अनुभूति बोकेको प्रतिभाले आफ्नै साधना र निरन्तरताबाट पहिचान बनाउन सक्दैन र ?

समयसँगै रविको यात्रा नयाँ मोडमा पुगेको छ । उनले गुनासोलाई अन्तिम बिन्दु बनाएनन् र आफ्नो साधना रोकेनन् । गीत गाइरहे, सिर्जना गरिरहे र दर्शकमाझ आफ्नो परिचय स्थापित गरिरहे । हालै सम्पन्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौं महाधिवेशनको बन्दसत्रबाट उनी लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । म्याग्दीबाट निर्वाचनमा प्रतिस्पर्धा गरेर केन्द्रीय सदस्य बन्नु उनको व्यक्तिगत उपलब्धिका साथै जिल्लाको सांगीतिक क्षेत्रका लागि पनि महत्त्वपूर्ण उपलब्धि हो । यसअघि म्याग्दीबाट प्रतिष्ठानको केन्द्रीय तहमा प्रतिनिधित्व भए पनि निर्वाचनमा प्रतिस्पर्धा गरेर निर्वाचित हुने उनको उपलब्धि जिल्लाकै पहिलो भएको दाबी गरिएको छ ।

रविले प्राप्त गरेको मत उनको कला, निरन्तरता र लोकप्रियताप्रतिको विश्वासको प्रतिफल हो । यो पद उनको यात्राको अन्तिम गन्तव्य नभई नयाँ जिम्मेवारीको सुरुआत हो । अब कलाकारको हकहितको संरक्षण, लोक तथा दोहोरी गीतको प्रवर्द्धन, नयाँ प्रतिभाको पहिचान र कलाकारका समस्या सम्बोधनमा योगदान पुर्‍याउने अवसर उनीसँग छ । उनको सफलताले गाउँबस्तीमा रहेर आफ्नो प्रतिभा चिनाउन सङ्घर्ष गरिरहेका नयाँ पुस्ताका कलाकारलाई पनि आशा र प्रेरणा दिन सक्छ ।

कलाकार सफल हुँदा प्रायः गीतको लोकप्रियता, भिडियोले पाएको दर्शक संख्या र मञ्चमा बज्ने तालीको चर्चा हुन्छ । तर ती उपलब्धिको जगमा रहेका अभाव, निराशा र निरन्तरताको मूल्यबारे कमै चर्चा गरिन्छ । रविको यात्रा यही नदेखिएको सङ्घर्षको सम्झना पनि हो । उनको सफलतालाई केवल पद प्राप्तिका रूपमा होइन, कठिन परिस्थितिमा पनि आफ्नो कर्म नछाड्ने कलाकारको उपलब्धिका रूपमा हेर्नुपर्छ ।

रविसँग मेरो सम्बन्ध उनको आजको लोकप्रियताबाट सुरु भएको होइन । ‘बेनी बजार झर मायालु’ गीतले चर्चा पाउनुअघि पनि उनी मेरा भाइ थिए, आज चर्चित हुँदा पनि मेरा भाइ नै छन् र भोलि अझ ठूलो उचाइमा पुगे पनि मेरा लागि त्यही आत्मीय भाइ रहनेछन् । हाम्रा केही सांगीतिक कर्म र सम्झनाले पनि हामीलाई जोडेको छ । त्यसैले उनको सफलतामा मेरो खुसी केवल दर्शकको खुसी होइन, उनको यात्राका कठिन मोड सम्झने आत्मीय व्यक्तिको खुसी पनि हो ।

म उनका हरेक निर्णयलाई सही ठहर्‍याउन वा उनलाई अरूभन्दा ठूलो देखाउन यी शब्द लेखिरहेको छैन । उनको जीवनयात्रामा देखिएको संघर्ष, सम्भावना र उपलब्धिलाई अभिलेखमा राख्ने मेरो प्रयास हो । कसैको प्रशंसा गर्नु भनेको उसका कमजोरी अस्वीकार गर्नु होइन; उसले हासिल गरेको उपलब्धिको उचित सम्मान गर्नु हो ।

रवि भाइ, तिमीले भोगेका दुःखले तिमीलाई कमजोर बनाएनन्, बरु तिम्रो यात्रालाई थप अर्थपूर्ण बनाए । पहिलो गीतले चर्चा नपाउँदा पनि तिमी रोकिएनौ । आज तिम्रो नामसँग लोकप्रिय गीत मात्र होइन, निरन्तर साधनाबाट प्राप्त उपलब्धिको कथा पनि जोडिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सदस्यका रूपमा पाएको जिम्मेवारीलाई कलाकारको हित र लोकसंगीतको संरक्षणमा उपयोग गर्न सक । तिम्रो कामले तिमीलाई विश्वास गर्नेहरूको भरोसा अझ बलियो बनाओस् ।

सफलताको उचाइमा पुग्दा आफ्ना कठिन दिनहरू नबिर्सनू । लोकप्रियताले तिम्रो विनम्रता नखोसोस् र जिम्मेवारीले तिम्रो मौलिकता नबदलियोस् । तिम्रो स्वर अझ धेरै नेपालीको मनसम्म पुगोस् र तिम्रो अनुभवले अरू प्रतिभालाई अघि बढ्ने साहस देओस् ।

दुःखको भट्टीबाट निखारिँदै सफलताको उचाइतर्फ अघि बढेको तिम्रो सांगीतिक यात्रा अझ समृद्ध बनोस् । तिम्रो व्यक्तिगत सफलता नेपाली लोकसंगीतको साझा गौरव बनोस् । हृदयदेखि नै बधाई तथा उज्ज्वल सांगीतिक भविष्यको शुभकामना ।

ताजा खबर

सम्बन्धित खबर