
विश्वका विभिन्न देशमा रहेका नेपालीजस्तै जापानमा बसोबास गर्ने नेपाली पनि दसैं मनाउने तयारीमा छन् । व्यस्त जीवनशैलीका बीच समय मिलाएर उनीहरूले यस पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरेका छन् ।
विकसित देशमा बसेर पैसा कमाइरहेका नेपालीको मन भने दसैंमा स्वदेशतिरै तानिन्छ । नेपालमा जस्तै लिंगेपिङ खेल्न, मठमन्दिर दर्शन गर्न र आमाबुबाको हातबाट टीका–जमरा लगाउन नपाए पनि उनीहरूले आ–आफ्नै तरिकाले दसैं मनाउँदै आएका छन् । कोही साथीभाइ र आफन्तसँग जमघट गर्दै छन् त कोही सामाजिक संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने तयारीमा छन् ।
झापाका राजु बस्नेत जापानमा बसेको १० वर्ष भयो । तर, उनले यस अवधिमा आमाबुबाको हातबाट दसैंको टीका लगाउन पाएका छैनन् । कहिले आर्थिक अभाव, कहिले काम र भिसाको समस्या त कहिले विद्यार्थी हुँदा कलेजबाट बिदा लिन नसक्दा उनी नेपाल गएर दसैं मनाउनबाट वञ्चित भए ।
दसैं नजिकिँदै गर्दा राजु मोबाइल र सामाजिक सञ्जालको प्रयोग कम गर्छन् । साथीहरू दसैं मनाउन नेपाल फर्किएका तस्बिर र शुभकामना सन्देश देख्दा मन दुख्ने उनी बताउँछन् । यस वर्ष पनि जापानमै रहेका आफन्तसँग दसैं मनाउने उनको तयारी छ ।
जापानमा रहेका धेरै नेपालीले घरमै जमरा उमार्छन् । दसैंका दिन सेलरोटीलगायत परिकार बनाएर एक–अर्कासँग खुसी साट्दै पर्व मनाउँछन् । तर, सबैका लागि दसैं रमाइलो जमघटको अवसर भने बन्न सकेको छैन ।
रामेछापकी शर्मिला लामा यस वर्ष दसैंको दिन पनि आफू कार्यरत कम्पनीमा काम गर्ने योजनामा छिन् । नजिकका साथीहरू नेपाल गएपछि दसैं मनाउने साथीसँगै नभएको र घरमा बस्दा परिवारको यादले झन् सताउने भएकाले काममै व्यस्त रहने निर्णय गरेको उनी बताउँछिन् ।
हुम्लाबाट जापानको फुकुओकास्थित कलेजमा अध्ययन गर्न आएका रमेश हमालको अनुभव पनि उस्तै छ । जापान आएको धेरै समय नभए पनि दसैंमा घरको यादले सताउन थालेको उनी बताउँछन् । सोचेअनुसार काम नपाएको, नेपाल गएर दसैं मनाउन आर्थिक अवस्था अनुकूल नभएको र कलेजको शुल्क तिर्न पैसा जुटाउनसमेत कठिन भइरहेको उनले सुनाए । यो समस्या जापानमा रहेका धेरै नेपाली विद्यार्थीको साझा पीडा हो ।
लामो समयदेखि जापानमा व्यवसाय गर्दै आएका भुवन थपलिया पनि यस वर्ष जापानमै दसैं मनाउने तयारीमा छन् । अमेरिकामा रहेका आमाबुबा र परिवारसँग भिडियो संवाद गरेर आफ्नो मौलिक शैलीमा दसैं मनाउने उनको योजना छ ।
रुकुमका चित्रबहादुर बुढामगर झन्डै आठ वर्षदेखि जापानमै दसैं मनाउँदै आएका छन् । यस वर्ष पनि परिवारसहित नेपाल जाँदा धेरै खर्च हुने भएकाले उनी जापानमै दसैं मनाउने योजनामा छन् । काठमाडौंका राज भण्डारी पनि कम्पनीबाट लामो बिदा लिन नसक्ने भएपछि परिवारसँगै जापानमा दसैं मनाउँदै छन् ।
जापानमा पत्रकारिता गरिरहेका भवानी भट्टलाई पनि दसैंमा घर फर्किने इच्छा छ । तर, यस वर्ष उनी श्रीमती र छोरासँग जापानमै दसैं मनाउने तयारीमा छन् । सेन्दाईमा कार्यरत विनोद चन्दले पनि समय व्यवस्थापन गर्न नसक्दा नेपाल जाने अवसर पाएनन् । उनी यस वर्ष जापानमै रहेका परिवारसँग दसैं मनाउने योजनामा छन् ।
सामूहिक दसैं
जापानमा रहेका नेपालीका विभिन्न संघसंस्थाले पनि दसैंका कार्यक्रम आयोजना गर्दै छन् । गलकोट समाज जापानको कान्तो शाखाले टोकियोमा कार्यक्रम गर्ने तयारी गरेको समाजका वरिष्ठ उपाध्यक्ष लक्ष्मण कार्कीले बताए ।
सुदूरपश्चिमेली नेपाली समाज जापानले पनि शुभकामना आदानप्रदान तथा टीका–जमरा लगाउने कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष विकास रोकायाले जानकारी दिए । अछाम सेवा समाज जापानले पनि टीका कार्यक्रमसँगै भेटघाट आयोजना गरेको समाजका अगुवा टक्कर कुँवरले बताए ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत शुभकामना आदानप्रदान गर्ने, समूह बनाएर भिडियो कल गर्ने र आफन्तसँग जोडिने क्रम पनि बढेको छ । यसले भौगोलिक दूरीमा रहेका नेपालीलाई चाडपर्वका बेला एक–अर्कासँग नजिक बनाएको छ ।
नेपालमा परिवार र आफन्तसँग दसैं मनाइरहँदा विदेशमा रहेका कतिपय नेपालीले भने बिदा नपाएर काम गर्नुपर्ने हुन्छ । विद्यार्थीले कलेज जानुपर्ने हुन्छ भने कतिपय आर्थिक अभावका कारण घर फर्किन सक्दैनन् । उनीहरूलाई दसैंमा परिवारको सम्झनाले सताउँछ ।
तैपनि परिवारको खुसीका लागि विदेशमा पसिना बगाइरहेका नेपालीले दसैं खर्च पठाउन छाडेका छैनन् । आफू परदेशमा रहेर पनि परिवारको दसैं खुसी बनाउन उनीहरू प्रयत्नशील छन् । घरपरिवारबाट टाढा रहेर मनाइएको दसैं उनीहरूका लागि सम्झना, जिम्मेवारी र भविष्यप्रतिको आशासँग जोडिएको पर्व बनेको छ ।