२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

परदेशको उत्सव, नेपाली आत्मीयता

Nada
पीपलमणि सिग्देल
२०८३ कार्तिक १ गते ०६:१०
Shares
परदेशको उत्सव, नेपाली आत्मीयता

दसैं एउटा चाड मात्र होइन, यो नेपाली मनको उत्सव हो । परिवारको मिलन, अग्रजको आशीर्वाद, बाल्यकालको स्मृति र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको संस्कारको जीवन्त अभिव्यक्ति हो । रातो टीका, पहेँलो जमरा, नयाँ लुगा, मिठा परिकार, घरआँगनको चहलपहल र गाउँघरमा गुन्जिने मालश्रीका धुनसँग नेपाली जीवनको गहिरो भावनात्मक सम्बन्ध गाँसिएको छ । तर जब यही दसैं सात समुद्रपारि अमेरिकाको व्यस्त जीवनमा मनाउनुपर्छ, तब यसको अनुभूति केही फरक हुन्छ । यहाँ उत्सव त हुन्छ, तर त्यसको अन्तर्यमा सम्झना, संवेदना र जन्मभूमिप्रतिको गहिरो तिर्सना पनि मिसिएको हुन्छ ।

ncell

सन् २००८ मा अमेरिका आएदेखि सुरुका केही वर्ष दसैंको टीका लगाउनसमेत बिदाको दिन कुर्नुपर्ने बाध्यता थियो । कामको व्यस्तता, समयको अभाव र जीवनयापनका अनेक जिम्मेवारीबीच दसैं मनाउनु आफैंमा चुनौती थियो । पात्रोले दसैं आएको जनाउँथ्यो, पारिवारिक आत्मीयता र सामूहिक उल्लास सहजै प्राप्त हुँदैनथ्यो ।

समयक्रमसँगै अमेरिकामा नेपाली समुदायको विस्तार भयो । नेपाली सामाजिक संस्थाले दसैं–तिहारका सांस्कृतिक कार्यक्रम आयोजना गर्न थाले । दुर्गापूजा, नेपाली गीत–संगीत, सांस्कृतिक प्रस्तुति, सामूहिक भेटघाट र शुभकामना आदानप्रदानले परदेशी जीवनमा नेपालीपनको नयाँ उज्यालो थपे । नेपाली मन्दिरहरूमा जमरा राख्ने, दुर्गा भवानीको पूजा गर्ने र विजयादशमीलाई श्रद्धा तथा उल्लासका साथ मनाउने परम्परा पनि विकसित हुँदै गएको छ । मन्दिरमा भेला भएका नेपालीको अनुहारमा देखिने प्रसन्नता र पूजापाठको वातावरणले केही क्षणका लागि भए पनि नेपालमै पुगेको अनुभूति गराउँछ । यस्ता सामूहिक प्रयासले हाम्रो संस्कृतिलाई जीवित राख्नुका साथै नयाँ पुस्तालाई आफ्नो भाषा, परम्परा र पहिचानसँग जोड्ने महत्त्वपूर्ण काम गरेका छन् ।

घरमा पनि जमरा राखिन्छ, आफन्तहरू आउनुहुन्छ, हामी अरूका घरमा जान्छौं, टीका लगाउँछौं, आशीर्वाद लिन्छौं र मिठा परिकार बनाएर सँगै खान्छौं । यी सामान्यजस्ता लाग्ने गतिविधिले परदेशको जीवनमा असाधारण आत्मीयता थप्छन् । केही घण्टाको भेटघाटले पनि मनलाई ठुलो सन्तोष दिन्छ । आफ्नै भाषा बोल्न पाउनु, बाल्यकालका सम्झना साट्नु र नेपाली संस्कृतिको न्यानोपन अनुभव गर्न पाउनु परदेशमा दसैंको विशेष उपलब्धि हो ।

तथापि, अमेरिकामा दसैं मनाउने क्रममा तिथिमिति र टीकाको साइतसम्बन्धी अन्योल अझै देखिन्छ । यहाँको स्थानीय समयअनुसार गरिने तिथि गणना र नेपालमा प्रचलित टीकाको साइतबीच कहिलेकाहीँ भिन्नता पर्छ । कतिपयले स्थानीय तिथि र मुहूर्तअनुसार टीका लगाउँछन् भने कतिपयले नेपालमा टीका लगाएपछि मात्र लगाउने मान्यता राख्छन् । फलस्वरूप, एउटै समुदायका मानिसले पनि फरक–फरक दिनमा दसैं मनाउने अवस्था सिर्जना हुन्छ । यसले सामूहिक भेटघाट र उत्सवको एकरूपतामा केही अन्योल थपेको छ । स्थानीय समय, परम्परा र शास्त्रीय मान्यताबारे आपसी संवाद र सहमतिमार्फत यसलाई सहज बनाउन सके परदेशको दसैं अझ व्यवस्थित र आत्मीय बन्नेछ ।

तर परदेशको दसैंको सबैभन्दा गहिरो अनुभूति यसको बाहिरी उल्लासमा होइन, मनभित्र लुकेका सम्झनामा भेटिन्छ । आफन्तसँग हाँस्दै टीका लगाइरहँदा पनि माता–पिताको अनुहार आँखाअगाडि आउँछ । जन्मभूमिको घरआँगन, गाउँको बाटो, चौतारीमा झुन्डिएको पिङ, बालसखाहरूको हाँसो र आफन्तसँगको आत्मीय भेटघाट स्मृतिमा ताजा भएर आउँछन् । नेपालमा हुँदा सामान्य लाग्ने ती क्षण अमेरिकामा आएपछि जीवनकै अमूल्य सम्पत्ति रहेछन् भन्ने महसुस हुन्छ ।

यहाँको दसैंमा पनि हाँसो छ, रौनक छ र आत्मीयता छ । तर त्यो हाँसोको भित्री तहमा कहिलेकाहीँ आँखा टिलपिल पार्ने पीडा पनि हुन्छ । फोन वा भिडियो कलमा माता–पिताको अनुहार हेरेर आशीर्वाद लिनु, टाढाबाट आफन्तसँग शुभकामना साट्नु र पुराना तस्बिर हेरेर चित्त बुझाउनु परदेशी जीवनका आफ्नै बाध्यता हुन् । हजारौं माइलको दूरीले शरीरलाई टाढा राख्न सक्छ, तर मायालाई टाढा बनाउन सक्दैन । मनको एउटा कुनामा सधैं नेपाल बसेको हुन्छ, जहाँ हाम्रा सम्झना, सम्बन्ध र भावनाका असंख्य धागाहरू जोडिएका हुन्छन् ।

हामी संसारको जुनसुकै कुनामा पुगे पनि हाम्रो अस्तित्वको गहिराइमा नेपाली माटोको सुगन्ध बसिरहेको हुन्छ । रुखका हाँगामा नयाँ पात पलाउन सक्छन्, फूलहरू नयाँ ठाउँमा फुल्न सक्छन् र हावाले बीउलाई टाढा–टाढासम्म पुर्‍याउन सक्छ, तर रुखको जीवन आफ्ना जरासँग जोडिएको हुन्छ । हाम्रो जीवन पनि त्यस्तै हो । हामी अमेरिकामा छौं, हाम्रा सन्तान यहीँ हुर्किरहेका छन् र हाम्रो कर्मभूमि यही बनेको छ । तर हाम्रो मनको गहिराइमा नेपाल, नेपाली भाषा, संस्कृति, संस्कार र पुर्खाहरूको स्मृति सधैं जीवित छन् । हामीले संसारमा जता पात पलाए पनि आफ्ना जरालाई बिर्सन सक्दैनौं ।

दसैंले यही सत्यलाई हरेक वर्ष अझ प्रगाढ बनाउँछ । जमराको पहेँलो रङमा हामी गाउँको माटो देख्छौं, टीकाको रातो रङमा माता–पिताको स्नेह अनुभव गर्छौं र अग्रजका हातबाट प्राप्त आशीर्वादमा पुर्खाहरूको निरन्तरता महसुस गर्छौं । कहिलेकाहीँ लाग्छ, अमेरिकामा जमरा उमार्नु भनेको आफ्नै बाल्यकाल, गाउँ र स्मृतिहरूलाई फेरि एकपटक जीवित बनाउनु हो । हामी केवल चाड मनाइरहेका हुँदैनौं, आफ्ना जरासँगको सम्बन्धलाई पनि नवीकरण गरिरहेका हुन्छौं ।

त्यसैले हाम्रा सन्तानले दसैंको टीका लगाउँदा त्यसको रातो रङ मात्र नदेखून्, त्यसमा लुकेको प्रेम, त्याग, इतिहास र पुर्खाको आशीर्वाद पनि बुझून् । उनीहरूले नेपाल नदेखेका भए पनि नेपालीपन अनुभूत गर्न सकून् । समयले हाम्रा ठेगाना बदल्न सक्छ, पुस्ताले बोल्ने भाषा र जीवनशैली बदलिन सक्छ, तर आफ्नो जरा चिन्न सक्ने चेतना बाँकी रह्यो भने पहिचान हराउँदैन । हामीले परदेशमा संस्कृतिको फूल फुलाउनुपर्छ, तर त्यसको जरालाई मातृभूमिको माटोसँग जोडिराख्नुपर्छ ।

परदेशले जीवनका अवसर दिएको छ, तर देशको माया र परिवारको आत्मीयताको मूल्य पनि उत्तिकै गहिरोसँग बुझाएको छ । हामी केवल नेपालबाट अमेरिका आएका मानिस होइनौं, हामीभित्र नेपाल बोकेर हिँडेका मानिस हौं । हाम्रो शरीरले यहाँ जीवन बिताए पनि सम्झनाको एउटा अंश सधैं गाउँको आँगनमा, माता–पिताको काखमा र बाल्यकालको पिङमा झुन्डिरहेको हुन्छ । त्यसैले परदेशको दसैंमा आँखा रसाउनु कमजोरी होइन, आफ्नो जराप्रतिको अगाध प्रेमको प्रमाण हो ।

दसैंको वास्तविक विजय बाहिरी उत्सवमा मात्र होइन, द्वेषमाथि प्रेमको, निराशामाथि आशाको र दूरीमाथि आत्मीयताको विजयमा निहित छ । दसैंले हाम्रो मन नेपाली बनाइरहोस्, परिवारसँगको सम्बन्ध आत्मीय राखोस् र संस्कृतिको दीप पुस्तौंसम्म बलिरहोस् । परदेशको आकाशमुनि टीका र जमरासँगै यही कामना गर्छु–सबैका घरमा सुख, शान्ति र समृद्धि छाओस्, टाढिएका मनहरू नजिकिऊन् र संसारको जुनसुकै कुनामा पुगे पनि नेपालीहरू आफ्ना जरासँग जोडिइरहून् ।

विजयादशमीको हार्दिक मंगलमय शुभकामना !

सम्बन्धित खबर