२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

देश–विदेशका नेपाली मन जोड्ने पर्व

Nada
मदनकुमार श्रेष्ठ
२०८३ कार्तिक १ गते १२:३०
Shares
देश–विदेशका नेपाली मन जोड्ने पर्व

शरद् ऋतु, सफा नीलो आकाश, सिरसिर चल्ने चिसो हावा । यो दसैं पर्व सम्झाउने मौसम हो । हिलोमैलो सकिएर वातावरणले नयाँ रूप लिँदै गर्दा विजयादशमी अर्थात् बडादसैं आउँछ । बालापानको नेपाल सम्झिएर विदेशमा होस् या नेपालमा उस्तै उल्लासपूर्ण वातावरणमा यो पर्व मनाइन्छ । संसारभर फैलिएका नेपालीका निम्ति यो एउटा चाड मात्र होइन, एउटै भावात्मक सूत्रमा बाँध्ने अजम्बरी सेतु हो । भौगोलिक सीमा, समयको दूरी र फरक परिवेशलाई भुलेर नेपाली मनहरूलाई आपसमा जोड्ने सबैभन्दा ठुलो सांस्कृतिक शक्ति हो । 

ncell

ऐतिहासिक रूपमा नेपालभित्र मात्र सीमित रहेको दसैं विस्तारै विश्वव्यापी बन्दै छ । रोजगारी, अध्ययन तथा स्थायी बसाइँसराइका क्रममा विश्वका कुनाकुनामा नेपालीहरू पुगेका छन् । सरकारी तथ्यांकअनुसार ८८ देशमा नेपाली छन् । यसकारण दसैं नेपालमा मात्र होइन, सात समुद्रपारि पुगिसकेको छ ।

पंक्तिकार आफैं दसैं मनाउने क्रममै केही वर्षअघि अमेरिका पुगेको थियो । अमेरिकाको वासिङ्टन डिसीमा रहेका केही आफन्तसँग दसैंं मनाउँदाको अनुभव छ । अमेरिकाकै केन्टकी, वासिङ्टन डिसी र मेरिल्यान्डमा रहेका आफन्त र साथीभाइसँग दसैं मनाउँदा गरेको अनुभूति छ । त्यहाँ पनि आफन्तहरू एकै ठाउँमा जम्मा भएर भेटघाट गरेर शुभकामना आदानप्रदान गर्ने, विभिन्न संघसंस्थाको नाममा जम्मा हुने गर्दा रहेछन् । एकै ठाउँमा भेला भएर मासु काट्ने, खाना बनाउने, विभिन्न परिकार एकै ठाउँमा बनाएर खाँदै रमाइलो गर्ने हुँदो रहेछ । पंक्तिकारलाई त्यो सम्झना ताजै छ । 

अर्थात्, समुद्रपारिको दसैंको आफ्नै स्वाद छ । अमेरिकाको वासिङ्टन डिसी वा केन्टकी होस्, बेलायत (युके)को लन्डन होस्, जापान, अस्ट्रेलिया, वा खाडी मुलुक, जहाँ–जहाँ नेपाली पुगेका छन्, त्यहाँ दसैंको रातो टीका र पहेँलो जमरा पुगेको छ । ठाउँअनुसार पर्व मनाउने तौरतरिका केही भिन्न हुन सक्छन् । तर नेपाली संस्कृतिको विश्वव्यापीकरण भएको छ । विदेशी भूमिमा रहेका नेपालीहरूले सामूहिक रूपमा भेला भई, जमरा उमारेर, खसीका परिकार बनाएर र सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेर दसैं मनाउने परम्परा फैलाएका छन् । वर्षभरि भेट्न नपाइएका या नसकिएका आफन्त इष्टमित्र भेट्ने र एकांकीपन भेट्ने मौका पनि दसैंंले जुराएको हुन्छ । 

पंक्तिकार अक्सर दसैंको समयमा (यसपटक बाहेक) बेलायतमै हुन्छ । दुई छोरी र परिवार उतै पेसा, व्यवसाय गर्दै रहेकोले उनीहरू प्रायः बेलायतमै रहन्छन् । यसकारण प्रायजसो दसैं, तिहारका बेला नेपालबाट समेत गएपछि सपरिवार बेलायतमै पर्व मनाइन्छ । पंक्तिकार संसारका १८÷१९ वटा देश पुगेको छ, घुमेको छ । ती देशमा नेपाली पहिल्यै पुगिसकेका छन् । त्यसक्रममा नेपाली संस्कृतिको कुरा स्वाभाविक हुन्छन् । दसैंको सबैभन्दा सुन्दर पक्ष भनेको पारिवारिक र सामाजिक पुनर्मिलन हो । विदेशमा रहेकाहरू सकेसम्म नेपाल फर्किन्छन् । कोही नेपालबाट विदेशमै पुग्छन् र वर्षभरिको थकाइ, भागदौड र दुःख–कष्टलाई बिर्सेर आफन्तको सामीप्यमा पर्व मनाउँछन् । परिवारसँग मिलन हुन नसके भर्चुअल कुराकानी हुन्छ । साथमा आसपासमा रहेका साथीभाइ जम्मा भएर पर्व मनाउने चलन छ । डायस्पोरा अर्थात्, विदेशमा रहेका नेपाली संघ÷संस्था र गैरआवासीय नेपाली एनआरएनएमार्फत पनि सामूहिक जमघट, संस्कृतिको संरक्षण भइराखेको हुन्छ । यसले संसारभर रहेका नेपाली नयाँ पुस्तामा दसैंं पर्व हस्तान्तरण पनि गरिरहेको छ । 

नेपालमा रहनेहरूको दसैंं रौनक लोभलाग्दो हुने नै भयो । दसैं आउनेबित्तिकै सहर पसेका युवाहरू, छोराबुहारी र दूरदराजमा रहेका आफन्त गाउँ फर्कन्छन् । सुनसान बनेका गाउँघर पुनः जीवित हुन्छन् । नेपाली गाउँघर लिंगेपिङ र रोटेपिङले भरिन्छन् । घर–आँगन लिपपोत, देउराली र चौतारीमा जमघट, रातो माटो र कमेरोले पोतिएका परम्परागत घरहरू आफैंमा रमणीय हुन्छन् । दसैंको समयमा कृषि, व्यापार, यातायात र पर्यटन क्षेत्रमा व्यापक आर्थिक गतिविधि हुन्छ, यसले राष्ट्रिय अर्थतन्त्रलाई समेत चलायमान बनाउँछ । साथै, व्यस्त दिनचर्याबाट विश्राम, सहरबाट गाउँ फर्किनेहरूको भिड, बजारमा नयाँ कपडा र खाद्यान्नको किनमेल, आफन्तको घरमा टीका ग्रहण, यस्तै दृश्य नियाल्दानियाल्दै दसैंं सकिन्छ । 

समय र परिस्थितिका कारण सबै नेपाली दसैंमा आफ्नो थातथलो फर्कन सम्भव हुँदैन । विदेशमा रहेकाहरू स्वदेश फर्किन पाउँदैनन् र उनीहरू भएका ठाउँमै नेपालबाट आफन्त पुग्न सम्भव हुँदैन । यस्तोमा प्रविधिको विकास वरदान सावित भएको छ, प्रविधिले भौतिक दूरीलाई भावनात्मक सामीप्यमा बदलिदिएको छ । सात समुद्रपारि रहेका सन्तानलाई आमाबुबाले भिडियो कलमार्फत आशिष दिन्छन् । यसलाई कतिपयले ‘डिजिटल टीका’ र ‘डिजिटल शुभकामना’ शब्दले सम्बोधन गर्छन् । मोबाइलको स्क्रिनमा देखिएको आमाबुवाको हातको रातो टीका र जमराले प्रवासी नेपालीको मन अमिलो बनाए पनि, त्यसले सम्बन्ध र स्नेहलाई भने मर्न दिँदैन । साथै, प्रविधिले प्रवासमा रहेका नेपालीलाई गाउँघरको दसैंको प्रत्यक्ष आभास गराउन पनि मद्दत गर्दछ ।

विविधतामा एकता र सामाजिक सद्भाव नेपालको मौलिक पहिचान हो । यसको उदाहरण नेपालभित्र र संसारभर छरिएर रहेका नेपालीहरूले दसैंं मनाउँदै गर्दा अनुभूत गर्न सकिन्छ । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । दसैं बहुसंख्यक नेपाली हिन्दुहरूको मुख्य पर्व भए पनि अन्य समुदायसमेत सामेल हुन्छन् । यसले बहुसांस्कृतिक नेपालको साझा राष्ट्रिय पहिचानको रूप झल्काउँछ ।

दसैंका केही मानक छन्, जसले समाज विकास र निरन्तरतामा समेत योगदान गरिरहेको छ । मान्यजन र ज्येष्ठ नागरिकबाट रातो टीका, जमरा र आशिष ग्रहण गर्ने परम्पराले अनुशासन, श्रद्धा र आदरको संस्कृतिलाई संरक्षण र विस्तार गरिहरहेको छ । छिमेकी, साथीभाइ र इष्टमित्रबीच शुभकामना आदानप्रदान गर्ने, कटुता बिर्सेर मिलाप गर्ने सुन्दर एकता यो पर्वको आफ्नै विशेषता हो ।

नेपालीहरूको यस्तो अनुपम सामाजिक एकता दर्शाउने पर्व दसैंंमा युवा र बालबालिकामा उस्तै उत्साह रहने गरेको पाइन्छ । विदेशी भूमिमा हुर्किंदै गरेको नयाँ पुस्तालाई आफ्नो मूल जरो, भाषा र संस्कृतिसँग जोडिराख्न पनि दसैंले मुख्य भूमिका खेलेको छ । प्रवासमा आयोजना गरिने दसैं विशेष कार्यक्रमले बालबालिकालाई नेपाली पहिचान, परम्परा र मूल्य मान्यता बुझ्न सहयोग पु¥याउँछ । यसले गर्दा पनि नेपाली संस्कृति विश्वाव्यापी रूपमा फैलिँदै मात्र छैन, अझ मजबुत बन्दै गएको छ ।

अर्थात्, विजयादशमी एउटा पर्व मात्र होइन । यो  भौगोलिक रूपमा छरिएका, पेसा व्यवसायमा व्यस्त रहेका र देश–विदेशमा बसेका करोडौं नेपाली मनहरूलाई जोड्ने पर्व हो । दसैंले हरेक नेपालीलाई आफू कहाँ छु भन्ने कुरा बिर्साएर नेपाली को हुन् भन्ने मूल पहिचान सम्झाउँछ । प्रवासमा रहेका नेपालीहरू भन्ने गर्छन्– संसारको जुनसुकै कुनामा रहे पनि रातो टीका र पहेँलो जमरा देख्नेबित्तिकै मातृभूमिको माया र आत्मीयताले हृदय भरिन्छ ।

सम्बन्धित खबर