
काठमाडौं : नेपालको पहिलो तथा १०९ वर्ष पुरानो ऐतिहासिक दमकल सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ । काठमाडौंको वसन्तपुरस्थित जुद्ध वारुण यन्त्र परिसरमा सङ्ग्रहालय निर्माण गरी ऐतिहासिक दमकलसहित पुराना अग्नि नियन्त्रणका उपकरण अवलोकन गर्न मिल्ने व्यवस्था गरिएको हो । नेपालको इतिहास र अग्नि नियन्त्रण सेवाको विकासक्रमसँग जोडिएको उक्त दमकललाई संरक्षण गर्दै सर्वसाधारणले नजिकबाट अवलोकन गर्न पाउने गरी प्रदर्शनीमा राखिएको हो । दमकललाई पुरानै स्वरूपमा फर्काउन मर्मतसम्भार तथा रङरोगन गरी व्यवस्थित रूपमा राख्ने काम गरिएको छ ।

विसं १९९४ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेर जङ्गबहादुर राणाले वसन्तपुरमा जुद्ध वारुण यन्त्र स्थापना गरी नेपालमा पहिलोपटक दमकल भित्र्याएका थिए । काठमाडौंको ऐतिहासिक सेतो दरबारमा भएको भीषण आगलागीपछि आगो नियन्त्रणका लागि बेलायतबाट दमकल मगाइएको इतिहास छ । यतिबेला काठमाडौं उपत्यका सडक सञ्जालबाट तराई तथा भारतसँग जोडिएको थिएन । त्यसैले बेलायतबाट ल्याइएका तीन वटा दमकललाई मकवानपुरको भीमफेदीमा पाटपुर्जा छुट्याएर मानिसले काँधमा बोकी काठमाडौं ल्याएका थिए ।

दमकलको अग्रभागमा ‘मेरी वेदर, मोरिस कमर्सियल लन्डन’ लेखिएको छ । वसन्तपुरस्थित जुद्ध वारुण यन्त्रमा बेलायतबाहेक जर्मन मोडेलका साना तथा ठूला पुराना दमकलसमेत संरक्षणका लागि राखिएका छन् । ३५० लिटर क्षमताको सानो दमकल अहिले प्रयोग गर्न नसकिने अवस्थामा छ भने ठूलो दमकलको इन्जिन परिवर्तन गरेर सञ्चालन गर्न सकिने भए पनि खर्च व्यवस्थापनको समस्या रहेको छ ।

यसैबीच भक्तपुर र ललितपुरमा रहेका पुराना दमकललाई पनि संरक्षण गरी सङ्ग्रहालयका रूपमा विकास गर्ने परिकल्पना गरिएको छ । भक्तपुरको दुधपाटीस्थित जुद्ध वारुण यन्त्र परिसरमा तीन वटा पुराना दमकल टहरामा राखिएका छन् । त्यसमध्ये ठूलो दमकलमा टिपरको इन्जिन जडान गरी सञ्चालन गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाइएको छ ।




