२०८३ कार्तिक २८ गते शनिवार / Nov 14 , 2026 , Saturday
२०८३ कार्तिक २८ गते शनिवार

रौतहटमा गाई तस्करी मौलायो : सुरक्षाकर्मीको भूमिका शंकास्पद, स्थानीय युवाद्वारा बिरामी गाईको उद्धार

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ कार्तिक २८ गते १७:५३
Shares
रौतहटमा गाई तस्करी मौलायो : सुरक्षाकर्मीको भूमिका शंकास्पद, स्थानीय युवाद्वारा बिरामी गाईको उद्धार

रौतहट : जिल्लाको सीमावर्ती क्षेत्रमा गाई तस्करीको अवैध धन्दा मौलाउँदै गएको छ भने यसलाई रोक्नुपर्ने सुरक्षा निकायहरूको भूमिकाप्रति उठेको शंकाले स्थानीय बासिन्दालाई चिन्तित बनाएको छ । पछिल्लो घटनाक्रमअनुसार जिल्लाको ईशनाथ नगरपालिका–१, बन्जरहास्थित पूर्वी बाँधतर्फ तस्करहरूले छाडेर भागेको अवस्थामा एक बिरामी गाईलाई स्थानीय युवा तथा समाजसेवीहरूको सक्रियतामा उद्धार गरिएको छ ।

तस्करीको उद्देश्यले नेपालबाट भारततर्फ लैजाँदै गरिएको अनुमान गरिएको उक्त गाई अत्यन्तै नाजुक र जीर्ण अवस्थामा फेला परेको थियो । गाई यति कमजोर अवस्थामा थियो कि उठ्नसमेत नसक्ने अवस्थामा रहेको थियो । सीमा क्षेत्रका स्थानीयवासीको सक्रियतापछि उक्त गाईलाई तत्काल प्रहरीको जिम्मा लगाइएको छ ।

स्थानीय बासिन्दा संदल राम र अमोध कुमार चन्द्रवंशीका अनुसार शुक्रबार बिहान करिब ४ बजे बन्जरहास्थित पूर्वी बाँध क्षेत्रमा बेवारिसे तथा दयनीय अवस्थामा उक्त चौपाया फेला परेको हो । खुला सीमानाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रबाट अवैध रूपमा गाई तस्करी गरी भारततर्फ लैजाँदै गरेका तस्करहरूले सुरक्षाकर्मी वा स्थानीय युवाको गस्ती आउने सुइँको पाएपछि बिरामी गाईलाई सोही स्थानमा छाडेर फरार भएको स्थानीय युवाहरूको दाबी छ ।

अत्यन्तै कमजोर, कुपोषित र बिरामी अवस्थामा रहेको गाईलाई देखेपछि बन्जरहाका युवा तथा समाजसेवीहरू स्वतःस्फूर्त रूपमा एकजुट भई उद्धार कार्यमा खटिएका थिए । तस्करहरूले क्रूरतापूर्वक हिँडाएर वा बोकेर ल्याई अलपत्र छाडेको ठहर गर्दै स्थानीयहरूले यस अमानवीय घटनाप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् ।

यस घटनाले सीमा सुरक्षामा खटिएका सुरक्षा निकायहरूको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ । स्थानीय बासिन्दाहरूको आरोपअनुसार तस्करहरूले स्थानीय सुरक्षाकर्मीसँगको मिलेमतोमा बाँधनजिकै रहेको केराघारीको बाटो प्रयोग गरी नेपालबाट भारततर्फ नियमित रूपमा गाई तस्करी गरिरहेका छन् ।

बन्जरहा क्षेत्रमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नियमित गस्ती तथा निगरानी प्रभावकारी नरहेको स्थानीयहरूको भनाइ छ। यसै कारण तस्करहरूको मनोबल उच्च भएको उनीहरूको दाबी छ । तस्करीको अवैध गतिविधिबारे जानकारी हुँदाहुँदै पनि सुरक्षा निकाय मौन बस्नुले उनीहरूको संलग्नता वा लाचारी स्पष्ट हुने स्थानीयहरूको तर्क छ ।

उद्धारपछि स्थानीय युवा तथा समाजसेवीहरूको टोलीले गाईको उचित संरक्षण, रेखदेख तथा स्वास्थ्योपचारका लागि इलाका प्रहरी कार्यालय बन्जरहाअन्तर्गतको प्रहरी चौकी र सशस्त्र प्रहरी बलको जिम्मा लगाएको जानकारी दिएको छ ।

साथै, स्थानीय युवा तथा समाजसेवीहरूले सीमा क्षेत्रमा अवैध रूपमा चौपाया तस्करी गर्ने गिरोहका नाइके तथा उनीहरूलाई संरक्षण दिने व्यापारीहरूको तत्काल खोजी गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् । उद्धार गरिएको गाईको शारीरिक अवस्था अत्यन्तै चिन्ताजनक र गम्भीर रहेकाले जिल्लास्थित पशु चिकित्सक तथा सम्बन्धित पशु उपचार निकायमार्फत तत्काल प्रभावकारी उपचारको व्यवस्था मिलाउनसमेत उनीहरूले आग्रह गरेका छन् ।

राष्ट्रिय जनावरका रूपमा रहेको गाईको खुलेआम तस्करी भइरहँदा पनि प्रशासनले चासो नदेखाउनुले रौतहटको सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्ने दाबी कागजमै सीमित रहेको देखाउँछ । तसर्थ, उच्च निकायले यस घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न अब ढिलाइ गर्नु हुँदैन ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर