नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान छ । देशभित्र रोजगारीको प्रशस्त अवसर नहुँदा वैदेशिक रोजगारीमा जाने युवाको संख्या ठूलो छ । सरकारले स्वदेशमै रोजगारी दिने नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा यो संख्या अझ थपिदै छ । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै कोरोना संक्रमणपछि घट्न थालेको रेमिट्यान्समा समेत सुधार आएको छ । त्यसले देशको विदेशी विनिमय सञ्चिति बढाउन सकारात्मक भूमिका खेलेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार चालु आवको पहिलो ५ महिनामा रेमिट्यान्समा २३ प्रतिशतले वृद्धि भई ४ खर्ब ८० अर्ब ५० करोड पुगेको छ । गत आर्थिक वर्षको मसान्तसम्म विदेशी विनिमयको सञ्चिति रकम ९ अर्ब ५४ करोड डलर रहेकोमा यो वर्षको मंसिर मसान्तसम्म ३ प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड डलर कायम भएको छ ।
गत आर्थिक वर्षमा रेमिट्यान्समार्फत १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ नेपाल भित्रिएको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४.८ प्रतिशत बढी हो । देशको गरीबी प्रतिशत घटाउनमा समेत रेमिट्यान्सको मूख्य देन रहेको छ । रेमिट्यान्सको प्रभावले नेपालको गरिबी ४२ प्रतिशतबाट क्रमशः झर्दै १८ प्रतिशतमा आइपुगेको छ । गरिबी घट्नुमा अन्य कारण समेत भए पनि मुख्य भूमिका रेमिट्यान्सको हो भन्ने तथ्यलाई नकार्न सकिदैन ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा अन्तिम श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको संख्या १ लाख ५५ हजार १ सय ९६ पुगेको छ । बिदामा आई पुनः सोही कम्पनीमा फर्किनेको संख्या पनि ८७ हजार ४ सय २८ पुगेको छ । गत आर्थिक वर्ष ६ लाख २८ हजार नेपाली वैदेशिक रोजगारीमा गएका थिए । अहिले वार्षिक ६ लाख बढी नेपाली युवाले वैदेशिक रोजगारीमा गएर देशको अर्थतन्त्रमा कुनै न कुनै रुपमा योगदान गर्दै आएका छन् । तर यति महत्वपूर्ण नेपालको वैदेशिक रोजगारी क्षेत्र आफैं समस्यामुक्त भने छैन, व्यवसायीका आफ्नै समस्याहरु छन् । केही व्यवसायीहरुले इमान्दारिता देखाउन नसक्दा सिंगो वैदेशिक रोजगार व्यवसायी क्षेत्रमाथि नै टिकाटिप्पणी हुने क्रम रोकिएको छैन । व्यवसायीहरु इमान्दार बन्न नसक्दा रोजगारदाता देशका कम्पनीहरुले विकल्प खोज्नसक्ने सम्भावना पनि प्रवल रहन्छ । दक्षिण एसियाको श्रम बजारमा अहिले पनि बंगलादेश,श्रीलंका र पाकिस्तान नेपालको मूख्य प्रतिस्पर्धी हुन् ।
यस्तै राज्यको कतिपय नीति र कार्यक्रम पनि वैदेशिक रोजगार व्यवसायमैत्री हुन नसक्दा व्यवसायीहरुले मुस्किलको सामना गर्नु परेको छ । यस्तो अवस्थामा नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आज हुन लागेको निर्वाचनबाट चुनिएर आउने नयाँ नेतृत्व समक्ष चुनौतिका चाङ त छन् नै । यस व्यवसायलाई विश्वसनीय, इमान्दार र सम्मानित बनाउदै नयाँ सम्भावनाका ढोकाहरु खोल्ने अवसर पनि प्रशस्त छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies