
काठमाडौँ : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । शंकास्पद गतिविधि भइरहेको भन्ने जनगुनासोपछि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मंगलबार दिउँसो रिसोर्टमा छापा मारेको हो ।
प्रहरी नायब उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमान्डमा खटिएको ३० सदस्यीय टोलीले रिसोर्टमा जाँच गर्दा ३१ पुरुष र ५ महिला गरी ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक लगिएको प्रहरीले जनाएको छ ।
तलासीका क्रममा रिसोर्टका दुई कोठाबाट ठूलो संख्यामा ल्यापटप र मोबाइल फोनसमेत बरामद भएको छ । पक्राउ परेकाहरू साइबर अपराध वा अन्य गैरकानुनी गतिविधिमा संलग्न भए/नभएकोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।