२०८३ मंसिर २ गते बुधवार / Nov 18 , 2026 , Wednesday
२०८३ मंसिर २ गते बुधवार

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

सुदूरपश्चिमलाई पहिलो क्वालिफायरमा ६ विकेटले हराउँदै साबिक विजेता लुम्बिनी लायन्स लगातार दोस्रो पटक एनपीएलको फाइनलमा पुगेको छ । डिकवेलाको अविजित ५९ रन र बलरहरूको उत्कृष्ट प्रदर्शनमा लुम्बिनीले १०६ रनको लक्ष्य २० बल बाँकी छँदै पूरा गर्‍यो ।

Nada
२०८३ मंसिर १ गते २०:३०
Shares
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाडौं । निरोसन डिकवेलाको उत्कृष्ट अर्धशतक र बलरहरूको कसिलो प्रदर्शनको मद्दतमा साबिक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि रक्षाको सम्भावना बलियो बनाएको हो । सुदूरपश्चिमले प्रस्तुत गरेको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमै चार विकेटको क्षतिमा भेट्टायो ।

लुम्बिनीलाई जित दिलाउने क्रममा विकेटकिपर ब्याटर डिकवेलाले अविजित ५९ रन बनाए । उनले ३७ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे । कप्तान रोहित पौडेलले २१ रनको योगदान दिए । २८ बल खेलेका उनले एक चौका हिर्काए ।

२४ रन जोड्दा दुई विकेट गुमाएर दबाबमा परेको लुम्बिनीलाई डिकवेला र रोहितले सम्हालेका थिए । यी दुईबीच भएको ३८ रनको साझेदारीले टोलीलाई जितको बाटोमा अघि बढायो । ओपनर डार्शी सर्ट खाता नखोल्दै आउट भए भने आसिफ शेखले चार रन मात्रै बनाउन सके ।

अन्तिम समयमा दिलीप नाथले अविजित १० रन जोड्दै विजयी छक्का प्रहार गरे । सुदूरपश्चिमका थरिन्दु रत्नायकेले दुई विकेट लिए । स्कट कुगेलेइन र हेमन्त धामीले एक–एक विकेट हात पारे ।

लगातार दोस्रो पटक फाइनल पुगेको लुम्बिनी अब उपाधि जोगाउने लक्ष्यसहित मैदानमा उत्रनेछ । दुई पटक फाइनल खेलेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिमले भने प्रतियोगिताबाट बाहिरिनुपरेको छैन । उसले अब एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । बुधबार हुने एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन् ।

यसअघि टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको लुम्बिनीले सुदूरपश्चिमलाई निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १०५ रनमै सीमित गरेको थियो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले एक्लै संघर्ष गर्दै सर्वाधिक ५२ रन बनाए । ५१ बल खेलेका उनले तीन चौका र एक छक्का प्रहार गरे । इशान पाण्डेले २७ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

सुदूरपश्चिमको सुरुवात निकै निराशाजनक रह्यो । यस सिजन पहिलो पटक खेलिरहेका ओपनर जर्ज मन्सेले पहिलो बलमै विकेट गुमाए । अर्का नयाँ खेलाडी तानुका दबारे पनि तेस्रो ओभरमा आउट भए । उनलाई रुबेन ट्रम्पलम्यानको बलमा विकेटकिपर डिकवेलाले क्याच गरे ।

ट्रम्पलम्यानले आफ्नो पहिलो स्पेलमै सुदूरपश्चिमका दुई ब्याटरलाई पवेलियन फर्काउँदै तीन ओभरमा सात रन मात्रै खर्चिए । त्यसपछि अभिशेष गौतमले विनोद भण्डारीलाई डिकवेलाकै हातबाट क्याच गराए । ३.१ ओभरमा आठ रन बनाउँदा तीन विकेट गुमाएपछि सुदूरपश्चिम गम्भीर संकटमा परेको थियो ।

त्यस्तो अवस्थामा दीपेन्द्र र इशानले चौथो विकेटका लागि ६४ रनको साझेदारी गर्दै टोलीलाई सम्हाले । तर, १५औं ओभरको पहिलो बलमा इशान रनआउट भएपछि यो साझेदारी टुट्यो । उनले ३३ बलमा तीन चौकासहित २७ रन बनाए ।

त्यसपछि सुदूरपश्चिमको इनिङ्स पुनः धरमरायो । थरिन्दु रत्नायके १६औं ओभरको पहिलो बलमै शेर मल्लको बलमा बोल्ड भए । आरिफ शेखले ६ बलमा चार रन मात्रै जोड्न सके । उनलाई मल्लले डार्शी सर्टको हातबाट क्याच गराए ।

अन्तिम ओभरसम्म क्रिजमा टिकेका कप्तान दीपेन्द्र दोस्रो बलमा किशोर महतोको बलमा सर्टबाट क्याच आउट भए । स्कट कुगेलेइन अन्तिम बलमा सात रन बनाएर रनआउट भए भने अनिल खरेल दुई रनमा अविजित रहे ।

लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले चार ओभरमा १२ रन खर्चेर दुई विकेट लिए । शेर मल्लले पनि दुई विकेट हात पारे । किशोर महतो र अभिशेष गौतमको नाममा एक–एक विकेट रह्यो । सुदूरपश्चिमका दुई ब्याटर रनआउट भएका थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर