
काठमाडौँ : पक्राउ नै नपरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको भनी फेसबुकमा सूचना प्रकाशन गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार नियन्त्रणमा लिइएकामा कविलासी नगरपालिका-७ का २८ वर्षीय महेश पासवान र बलरा नगरपालिका-८, गडहिया डुमरियाका ३२ वर्षीय आलम बैठा छन् । पासवानले आफ्नो व्यक्तिगत फेसबुक खाताबाट र बैठाले आफूले सञ्चालन गरेको फेसबुक पेजबाट उक्त सूचना प्रकाशन गरेको प्रहरीको आरोप छ ।
प्रहरीले पक्राउ नगरेका व्यक्तिबारे गलत विवरण सार्वजनिक हुँदा प्रहरीको कामकारबाहीबारे सर्वसाधारणमा भ्रम र अन्योल सिर्जना भएको कार्यालयले प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै जनाएको छ । दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेदप्रसाद गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले घटना, पक्राउ, अनुसन्धान र कारबाहीसम्बन्धी सूचना प्रकाशन वा सेयर गर्नुअघि सम्बन्धित प्रहरी कार्यालय वा सूचना अधिकारीबाट विवरण पुष्टि गर्न आग्रह गरेको छ ।