
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को दुईदिने औपचारिक भारत भ्रमणका क्रममा लामो समयदेखि प्रतीक्षामा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारततर्फबाट हवाई प्रवेशमार्ग खुला गर्ने सहमति भएको छ । सोमबार नयाँदिल्लीमा उच्चस्तरीय वार्तापछि हाल एकतर्फी रहेको ‘बी३४५’ काठमाडौं–भैरहवा–लखनउ हवाईमार्गलाई दुईतर्फी बनाउने सहमति जुटेको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहको भ्रमणको प्रमुख उपलब्धिका रूपमा हवाई रुटसम्बन्धी सहमतिलाई लिइएको छ । यसले नेपालको अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी विस्तारसँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनको सम्भावना बढाएको छ ।
सहमति कार्यान्वयनका लागि भारतले हवाई रुट सञ्चालनसम्बन्धी कार्यविधि तय गर्ने तथा दुवै पक्षबीच छलफलमा रहेका नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावलाई सम्बोधन गर्न प्राविधिक परामर्श गर्ने सहमति भएको छ ।
हाल ‘बी३४५’ हवाईमार्गबाट विमान बाहिरिने व्यवस्था मात्र छ । पश्चिमतर्फबाट नेपाल भित्रिने अधिकांश अन्तर्राष्ट्रिय उडान सिमरा हवाई रुट हुँदै प्रवेश गर्नुपर्ने बाध्यता छ । भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने निर्णयसँगै नेपालले सन् २००९ देखि नै भारतसँग थप अन्तर्राष्ट्रिय हवाई रुट उपलब्ध गराउन माग गर्दै आएको थियो । तर, भारतले त्यसमा सहमति नदिँदा दुवै विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन प्रभावित हुँदै आएको थियो ।
भारतले दुईतर्फी हवाई रुटका लागि सहमति जनाएपछि अब पश्चिम वा भारत हुँदै आउने अन्तर्राष्ट्रिय उडानलाई भैरहवाबाटै नेपाल प्रवेश गर्न र बाहिरिन सहज हुनेछ । यसले उडानको समय र दूरी घटाउनुका साथै इन्धन खर्चसमेत कम गर्ने अपेक्षा गरिएको छ ।
निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सहज हवाई प्रवेशमार्गको अभावमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले भैरहवामा नियमित उडान सञ्चालन गर्न चासो देखाएका थिएनन् । हवाई रुट उपलब्ध भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सम्भावना बढ्ने र नेपालको समग्र उड्डयन क्षेत्रको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट पर्यटन आगमन तथा वैदेशिक रोजगारीका लागि विदेश जाने र फर्कने यात्रुलाई समेत सहज हुने विश्वास गरिएको छ ।
२ खर्ब ४० अर्बको सहायता घोषणा
भारतले रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँबराबरको विकास सहायता उपलब्ध गराउने भएको छ । सोमबार सम्पन्न द्विपक्षीय वार्तामा उक्त सहयोगसम्बन्धी सहमति भएको हो । यो रकम १ खर्ब ५० अर्ब भारतीय रुपैयाँबराबर हो ।
सहमतिअनुसार भारतले ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऋण सहयोग उपलब्ध गराउनेछ । अनुदान रकम विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनामा खर्च गरिनेछ भने सहुलियतपूर्ण ऋण ऊर्जा क्षेत्रका परियोजनाका लागि भारतीय रुपैयाँमा आधारित ऋण सहायता (लाइन अफ क्रेडिट)अन्तर्गत उपलब्ध हुनेछ । विशिष्ट परियोजना छनोट तथा विकास सहायता प्रदान गर्ने कार्यविधि आपसी परामर्शबाट अन्तिम रूप दिइने सहमतिमा उल्लेख छ ।
नेपालको पारवहन व्यापारका लागि भारतले गुजरातस्थित दीनदयाल बन्दरगाह (काण्डला) प्रयोग गर्न दिने भएको छ । आवश्यक पूर्वाधार तयार भएपछि ओडिसास्थित पारादीप बन्दरगाहसम्म नेपालको सहज पहुँच विस्तार गर्न पनि दुवै देश सहमत भएका छन् ।
त्यस्तै, नयाँ रेलमार्ग, पुल, एकीकृत जाँच चौकी (आइसिपी) र पेट्रोलियम पाइपलाइन निर्माणमार्फत सीमापार कनेक्टिभिटी सुधार तथा सीमा पूर्वाधार सुदृढ गर्ने सहमति भएको छ । अयोध्या र जनकपुरबीच ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सञ्चालन गर्ने सहमतिले रामायण सर्किटअन्तर्गत धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
ऊर्जा तथा पेट्रोलियम पूर्वाधार विस्तारमा पनि दुई देशबीच सहकार्य अघि बढाउने सहमति भएको छ । मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालन, झापामा पेट्रोलियम टर्मिनल निर्माणका लागि भर्चुअल माध्यमबाट शिलान्यास तथा सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको काम शीघ्र सुरु गर्ने विषयमा सहमति भएको छ । नेपाल र भारतबीच ग्यास पाइपलाइन निर्माणमा सहकार्य गर्ने सहमति पनि भएको छ ।
यसैगरी, ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको भर्चुअल माध्यमबाट शिलान्यास गरिएको छ । ऊर्जा क्षेत्रको सहकार्यका लागि भारत–नेपाल संयुक्त दृष्टिकोणपत्र र दीर्घकालीन विद्युत् व्यापार सम्झौताअनुसार अघि बढ्ने तथा भारतीय कम्पनीहरूले नेपालमा निर्माण गरिरहेका विभिन्न जलविद्युत् आयोजना शीघ्र सम्पन्न गर्ने विषयमा पनि दुई देशका प्रधानमन्त्रीबीच सहमति भएको छ ।