२०८३ मंसिर ७ गते सोमवार / Nov 23 , 2026 , Monday
२०८३ मंसिर ७ गते सोमवार

मनकामना केबलकारबाट दुई करोड यात्रुले गरे यात्रा

Nada
२०८३ मंसिर ७ गते १८:२३
Shares
मनकामना केबलकारबाट दुई करोड यात्रुले गरे यात्रा

चितवन : गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शनका लागि सञ्चालनमा रहेको मनकामना केबलकारबाट २८ वर्षको अवधिमा दुई करोड १२ लाखभन्दा बढी यात्रुले यात्रा गरेका छन् ।

विसं २०५५ मङ्सिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकार २९औँ वर्षमा प्रवेश गरेको अवसरमा मनकामना दर्शन प्रालिले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसमा तल्लो स्टेसन रहेको केबलकारको लम्बाइ ३ दशमलव ०२ किलोमिटर छ । यसमार्फत नेपालीसँगै भारतीय तथा अन्य देशका पर्यटकले मनकामना मन्दिर पुगेर दर्शन गर्दै आएका छन् ।

संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र स्थापनामा सुरु भएको केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको कम्पनीले जनाएको छ ।

२९औँ वर्ष प्रवेशका अवसरमा जारी विज्ञप्तिमा कम्पनीले केबलकार सञ्चालनमा सहयोग पुर्‍याउने सहिद लखन गाउँपालिका, इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालय तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ ।

यात्रुको माग, सेवा, सुविधा र हितलाई ध्यानमा राख्दै कम्पनीले पछिल्लो समय मनकामना मन्दिर नजिकै मनकामना हिलक्रेस्ट रिसोर्टसमेत सञ्चालनमा ल्याएको छ । यसबाट धार्मिक पर्यटनसँगै पर्यटकलाई थप सुविधा उपलब्ध गराउने कम्पनीको अपेक्षा छ ।

laxmi recruitement

सम्बन्धित खबर