२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

प्रचण्ड–जनार्दन बढ्दो टकराव

ADV
दिवाकर अधिकारी
२०८१ भदौ ६ गते ०६:५५
प्रचण्ड–जनार्दन बढ्दो टकराव

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रदेश तहमा छलफल सुरु गरेको छ । पार्टीको भावी रणनीति तय गर्नका लागि पदाधिकारी, स्थायी समिति बैठक हुँदै प्रदेश तहमा छलफलमा पुगेको हो । तर यसपटक माओवादीमा शीर्ष नेतृत्वका बीचमा देखा परेको टकराव पनि छलफलमा एकसाथ अगाडि बढेको छ । 

स्थायी समितिको बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित प्रस्ताव राखेपछि बढेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको टकराव प्रदेश तहको छलफलमा पुग्दा थप झाँगिएको नेताहरू बताउँछन् । 

बुधबारबाट काठमाडौंमा बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु सम्मिलित प्रदेश स्तरीय बैठक सुरु भएको हो । बागमतीको बैठक बिहीबार पनि चल्नेछ । पहिलो दिन नै अध्यक्ष प्रचण्डको अभिव्यक्तिले उपमहासचिव जनार्दन शर्मासँगको टकराव बढ्दो रुपमा रहेको प्रष्ट्याएको देखिन्छ । 

बागमती प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी फुटको हल्ला स्थायी समितिले खारेज गरिसकेको भन्दै मिडिया ट्रायल नगर्न नेताहरुलाई आग्रह गरे ।

माओवादीमा प्रचण्डको आलोचना गरेका कारणले पार्टी छाड्नुपर्ने अवस्था वर्तमानमा नरहेको र आन्तरिक जनवादको अभ्यास कम्युनिस्ट पार्टीमा हुने भन्दै बैचारिक बहस चलाउने भनेर सार्वजनिक रुपमा उपमहासचिव शर्माले बताइरहेका बेला प्रचण्डले मिडिया ट्रायल नगर्न नेताहरुलाई आग्रह गरेका हुन् । 

यसअघि स्थायी समितिको बैठकमा १४ पृष्ठ लामो लिखित प्रस्ताव राख्दै उपमहासचिव शर्माले पार्टीको नेतृत्व प्रचण्डले छाड्नुपर्ने बताएका थिए । त्यसपछि माओवादीभित्र तरंग नै पैदा गरिदिएको छ ।

बुधबार बागमती प्रदेशस्तरीय बैठकमा अध्यक्ष प्रचण्डले आफूहरुबीच बीच फरक मत नभई एकमत गर्ने कोसिस हुने भनेर बचाउ गरे । उनले जनार्दनसहितका नेताहरुले स्थायी समिति बैठकमा उठाएका प्रश्नहरुको जवाफसहितको दस्तावेज आगामी केन्द्रीय समिति बैठकमा पेश गर्ने जानकारी पनि गराए । 

बैठकको सुरुमै अध्यक्ष प्रचण्ड बोलेका थिए । उनले पदाधिकारी, स्थायी कमिटीबाट भएको निर्णय र कार्यक्रमबारे बैठकमा ब्रिफिङ गरेका थिए । 
अध्यक्ष प्रचण्डले आफूहरू सरकारमा जानेतिर भन्दा ज्यादा प्रतिपक्षमा बसेर जनताको आवाज संसदमा उठाउने र जनतामा गएर उनीहरूका कुरा सुन्ने नीति नेतृत्वले लिएको बताए । 

‘सरकारतिर जाँदैनौं । प्रतिपक्षीमा बस्छौं । जनताको मुद्दा र सरकारमा बस्दा गरेका राम्रा काम लिएर जनतामा जानुपर्छ’ प्रचण्डले भनेका छन् । 

बुधबार ४१ जना केन्द्रीय सदस्यले अध्यक्षको धारणामाथि सुझाव दिएका छन् । त्यसक्रममा माओवादीका प्रदेशस्तरका नेताहरूले अध्यक्ष प्रचण्डलाई विशेष महाधिवेशनमा गएर पार्टीलाई गति दिन सुझाव दिएका छन् । 

माओवादी नेता लेखनाथ दाहालका अनुसार पार्टीको आन्तरिक एकता बलियो पार्दै पार्टीलाई थप गति दिनुपर्नेमा नेताहरुको जोड रहेको छ । यसका लागि विशेष महाधिवेशनमा जानुपर्ने भएपनि पछि हट्नु नहुने अधिकांशको सुझाव रहेको छ । बुधबारको बैठकमा प्रदेशका ४१ जना नेताहरूले बोलेका छन् । प्रदेशका १ सय १९ जना नेतामध्ये बाँकीले बिहीबार बोल्ने कार्यक्रम रहेको छ । 

माओवादी केन्द्रले असोजको पहिलो साता केन्द्रीय कमिटीको बैठक बस्ने तय गरेको छ । त्यसअघि सातै प्रदेशमा प्रदेशस्तरीय परामर्श बैठक गरेर राय संकलन गर्दैछ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise