२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गाउँपालिका अध्यक्ष रोकायाद्वारा प्रसूति गृहको उद्घाटन

ADV
सत्यराज सिंह
२०८१ भदौ ९ गते २०:३१
गाउँपालिका अध्यक्ष रोकायाद्वारा प्रसूति गृहको उद्घाटन

बझाङ : बझाङको तलकोट गाउँपालिका–६ रजाडाको प्रसूति गृहको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष कलक रोकायाले गृहको उद्घाटन गरेका हुन् । 

आड्रा नेपाल र तलकोट गाउँपालिका बझाङको आर्थिक साझेदारी तथा इनरुडेक बाँकेको सहजीकरणमा ४ कोठे उक्त प्रसूति गृह हस्तान्तरण गरी उद्घाटन गरिएको हो । प्रसूति गृह सञ्चालन भएपछि स्थानीयहरु हर्षित भएका छन् । 

पालिका भित्रका गर्भवती आमाहरुलाई सहज स्वास्थ्य तथा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यका साथ तलकोट गाउँपालिकाले एक औपचारिक कार्यक्रमको आयोेजना गरी प्रसूति गृहको उद्घाटन गरेको गाउँपालिकाले जनाएको छ । प्रसूति गृह निर्माण उपभोक्ता समितिका अध्यक्ष दोरेन्द्र विष्टको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कलक रोकाया प्रमुख अतिथि रहेका थिए । समारोहमा प्रमुख अतिथि गाउँपालिका रोकायाले तलकोट गाउँपालिका बासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन पालीकाले कुनै कसुर बाँकी नराख्ने बताए ।

पालिकाको दुरदराजमा रहेका हरेक नागरिकलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउनु गाउँपालिकाको कर्तव्य भएकोले आवश्यकतालाई पहिचान गरी पालिकाको सबै ठाउँमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन आफु लागि परेको बताए । उनले भने,‘गाउँपालिका क्षेत्रभित्रका महिलाको स्वास्थ्य प्रति म सधैँ गम्भीर रहेको छु र रहने पनि छु, गाउँपालिकामा कुनै पनि सुत्केरी महिलाले अस्पताल जान नपाएर अकालमा ज्यान गुमाउनुपर्ने छैन, त्यसका लागि गाउँपालका चौविसै घण्टा यहाँहरुको साथमा छ, जनताको स्वास्थ्य सुधारका लागि सधैँका लागि पर्नेछु ।’ 

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रोकायाले पालिकाका ग्रामीण बस्तिहरुमा गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँच सृजना गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताए । रजाडा गाउँमा स्थापना भएको प्रसूति गृहले गर्भवति आमाहरुले सहज रुपमा प्रसूति स्वास्थ्य सेवा पाउने भएका छन् । ग्रामीण क्षेत्रका महिलाको स्वास्थ्यलाई मध्यनजर गरी प्रसूति गृहको स्थापना गरिएको गाउँपालिकाले जनाएको छ । 

कार्यक्रममा आड्रा नेपालका प्रतिनिधि टम पिनयन, विपद जोखिम कोडिनेटर डा.सुमन रावल, इनरुडेक नेपालका अध्यक्ष धर्म रोकाया र कोषाध्यक्ष मिनु रावल लगायत गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी र स्थानीयहरुको सहभागिता रहेको थियो । तलकोट गाउँपालिका र आड्रा नेपालको आर्थिक सहयोगमा निर्माण भएको उक्त प्रसूति गृहका लागि आड्रा नेपालले करिब ५ लाख रुपैयाँ बराबरको प्रसूति सामग्री पनि हस्तान्तरण गरेको छ ।

आड्रा नेपाललाई आवश्यक सहयोग सहजीकरणका गरिदिएको भन्दै गाउँपालिकाले सम्मान पत्र प्रदान गरको छ । पालिकाकोतर्फबाट संस्थालाइ सम्मान पत्र र संस्थाको तर्फबाट पालिकालाई हस्तान्तरण पत्र प्रदान गरिएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise