२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

‘बुबा कक्षा’का कारण व्यवहारमा परिवर्तन, चर्चामा २९ वर्षीय रमेश

ADV
सन्तोष पौडेल
२०८१ जेठ २८ गते २०:३२
‘बुबा कक्षा’का कारण व्यवहारमा परिवर्तन, चर्चामा २९ वर्षीय रमेश

बर्दिया : बारबर्दिया नगरपालिका वडा नम्बर २ स्थित नारायणपुर गाउँका २९ वर्षीय रमेश थारुको आजभोलि गाउँमा निकै चर्चा छ । उनको चर्चा हुनुको कारण हो,  आनीबानी तथा घरमा छोरी र श्रीमतीलाई गर्ने व्यवहार । गाउँमा कुनै कार्यक्रमको आयोजना वा छलफल भए रमेशको उपस्थिति विना कार्यक्रम खल्लो लाग्ने गरेको गाउँलेको प्रतिक्रिया छ । उनी कार्यक्रममा पुुग्दा उठाउने जिज्ञासा र प्रश्न गर्ने शैलीको सबैले प्रशंसा समेत गर्दछन् । 

एक छोरीको बुबा रमेशले गाउँका कार्यक्रमहरुमा बालबालिकाको प्रारम्भिक विकास, पोषणको आवश्यकता, स्वच्छ गर्भावास्था, लगायतका विषयमा जिज्ञासा राख्ने र घरपरिवारमा लागु गर्ने बानीले झनै उनको चर्चा चुलिँदै गएको छ । गाउँमा विभिन्न संघसंस्थाहरुले आयोजना गर्ने कार्यक्रममा प्रायः उनी उपस्थित रहन्छन् । कार्यक्रमको उपलब्धिलाई व्यवहारमा समेत लागु गर्ने उनको बानीले रमेशलाई चर्चामा ल्याउने गर्छ । 

रमेशको १४ महिनाको छोरी छिन् । उनको श्रीमती गर्भावस्थामा रहँदा उ्नी श्रीमतीलाई हरेक काममा सहयोग गर्ने, नियमित स्वास्थ्य परीक्षणका लागि श्रीमतीसँगै अस्पताल जाने काम पनि छोडेनन् । उनी भन्छन्, ‘गर्भवास्था भएको ४५ दिनसम्म खुवाउने औषधी र ९० दिनसम्म नियमित खुवाउनुपर्ने औषधीको बारेमा समेत ज्ञान छ ।’

उनले थपे, ‘श्रीमती गर्भवस्था भएका समयमा खुवाउनुपर्ने क्यालसियम, आइरन चक्की लगायतका विषयमा समेत जानकार छु ।’ उनमा आएको यो ज्ञान र गाउँमा उनको चर्चा चल्नुको कारण हो ‘बुबा कक्षा’ । राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत समुदायमा सञ्चालन गरिएको ‘बुबा कक्षा’ ले रमेशलाई यस्तो बनाएको हो । छोरीको स्याहार र श्रीमतीलाई काममा सघाउने दैनिकी बनाएको रमेश वताउँछन् । जिम्मेवार बुबा तथा श्रीमान बन्नका लागि उनी कतै बाहिर गएर नसिकेको बताउँदै त्यसको श्रेय गाउँमै सञ्चालन भएको ‘बुबा कक्षा’लाई दिन्छन् ।

बाल हेरचाहमा पुरुष संलग्नता प्रवर्द्धन गर्न समुदायमा बुबा समुह गठन गरी बारवर्दिया र ठाकुरवावा नगरपालिकामा ‘बुबा कक्षा’हरु सञ्चालन गरिएको छ । सशक्त बालिका परियोजना अन्तर्गत बालबालिकाको हेरचाह र घरको जिम्मेवारीहरुमा बुबा अर्थात् पुरुष अभिभावकहरुको संलग्नतालाई बढावा दिने उद्देश्यले बुबा समुहलाई सञ्चालन गरिएको ‘बुबा कक्षा’मा रमेश नियमित जान्छन् र नबुझेको कुरा पुनः बुझ्न खोज्छन् । जसले गर्दा संस्थाले उनलाई पुरस्कृत समेत गरेको छ । 

असल अभिभावक र बाल हेरचाहमा उनको संलग्नता हेरेर संस्थाले उनलाई पुरस्कृत गरेको हो । कक्षामा सिकेको कुरालाई गाउँका अन्य बुबाहरुलाई समेत जागरुक गराउने गरेको रमेश बताउँछन् । जसले गर्दा गाउँका अन्य पुरुषहरु समेत आ–आफ्नो घरमा छोराछोरी तथा श्रीमतीलाई सघाउने थालेका छन् । छोराछोरीको सरसफाइ गर्ने, लुगा धोइ दिन, स्कूलका लागि तयार गरिदिने, खाजा बनाइदिने, भाँडा माझ्ने, बच्चा लिन विद्यालय जाने जस्ता हरेका क्रियाकलापमा आफु निरन्तर लागि रहेको रमेशले सुनाए । 

कक्षामा लैंगिकता, लिंग, लिंग भेद र पुरुष, बुबा हुनुको सौभाग्य, स्वस्थ्य गर्भावस्था, गर्भवती जीवन साथीलाई सहयोग र साथ, शिशुको जन्म र बाबुको जिम्मेवारी, बालबालिकाहरूको हेरचाह, बालबालिका हुर्काउने कार्य, अपाङ्गता वा सीमितता भएका बालबालिकाको पहिचान, हेरचाह, स्वास्थ्य र सरसफाइ र विपद्मा बुबाको भूमिका लगायतका विषयमा छलफलका माध्यमवाट सहजीकरण गरिने राधाकृष्ण थारुजनसेवा केन्द्रकी फिल्ड सुपरभाइजर विनिता चौधरीले बताइन् । 

प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा सन् २०२३ जुलाईदेखि सशक्त बालिका परियोजना सञ्चालित छ । परियोजनाले बालबालिकाको प्रारम्भिक अवस्थादेखि उनीहरुको सर्वाङ्गिण विकासका क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise