२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

लुम्बिनीका मुख्यमन्त्री र सभामुख सिद्धबाबा सुरुङ मार्गको निरीक्षणमा

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ ११ गते २२:२८
लुम्बिनीका मुख्यमन्त्री र सभामुख सिद्धबाबा सुरुङ मार्गको निरीक्षणमा

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले तीव्र गतिमा  निर्माण भइरहेको पाल्पाको सिद्धबाबा सुरुङ मार्गको निरीक्षण गर्दै गुणस्तरीय काम गर्न निर्देशन दिएका छन् । 

सुरुङ मार्गको स्थलगत निरीक्षण गर्न पुगेका मुख्यमन्त्री आचार्यले सुरुङ मार्गको हालसम्म प्रगती भावि योजनाका बारेमा आयोजना प्रमुखसँग जानकारी लिएको मुख्यमन्त्रीका स्वकीय सचिव कुसल भुसालले बताए ।

निर्माण हुँदै गरेको सुरुङ मार्ग लुम्बिनी प्रदेशको पहिलो सुरुङ  मार्ग र गौरवको ठूलो योजना रहेको बताउँदै मुख्यमन्त्री आचार्यले  विकास निर्माणको क्षेत्रमा नयाँ युगको सुरुवात भएको स्मरण समेत प्राविधिकलाई गराएको स्वकीय भुसालले बताए । त्यस क्षेत्रका नागरिकलाई आवत जावतमा सहजता हुने, पर्यटन प्रवद्र्धनमा समेत यो मार्गले टेवा पुग्ने विश्वास मुख्यमन्त्री आचार्यले गरेका थिए । निरीक्षणमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले सुरुङ मार्गको अवलोकन गर्दै मृत्यु मार्गको रुपमा परिचित सिद्धार्थ राजमार्गलाई सुरक्षित बनाउन सुरुङ मार्ग कोशेढुंगा सावित हुने बताएका थिए ।

अहिले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा विस्फोटक पदार्थ प्रयोग गरेर चौबिसै घण्टा खन्ने काम भइरहेको आयोजनाका प्राविधिकहरुले मुख्यमन्त्री र सभामुखलाई जानकारी गराएका थिए  । अबको दुईदेखि तीन महिनाभित्र सुरुङ मार्गको  ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको सिद्धबाबा सुरुङ मार्ग आयोजना कार्यालयका इञ्जिनियर सविता ज्ञवालीले जानकारी गराइन् ।

मुख्य सुरुङको लम्बाइ १ हजार १ सय २६ मिटर छ । यो योजना अन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि गरिनेछ । यस खण्डको चार किलोमिटर पहिरो आउने क्षेत्रभित्रपर्छ । सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्ने यसको निर्माण गरिएको हो ।

सुरुङको बीचबीचमा आपत्कालीनद्वारका रूपमा तीन वटा क्रस प्यासेज निर्माण भइरहेको छ । सुरुङभित्र केही समस्या आए क्रस प्यासेजबाट निस्कन मिल्नेछ । क्रस प्यासेजहरूको मात्र कुल दूरी ४ सय ४१ मिटर छ । सुरुङ र क्रस प्यासेजसहितको दूरी भने १ हजार ५ सय ६७ मिटर छ । यो खण्ड भएर साना–ठूलासहित औसतमा दैनिक करिब ५ हजार सवारी ओहोरदोहोर गर्छन् । पाँच वर्षभित्र निर्माण सक्ने गरी ०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise