२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

निगमकै लापरबाहीले जहाज ग्राउन्डेड

ADV
छबि सापकोटा
२०८१ भदौ १४ गते ०६:४०
निगमकै लापरबाहीले जहाज ग्राउन्डेड

काठमाडौं : नेपाल वायुसेवा निगमका तीन वटा जहाज एकै पटक ग्राउन्डेड हुने विषयले निगमको गम्भीर लापरबाही देखिएको हो । जहाजको समयमै मर्मतसम्भार नहुँदा सधैँ ग्राउन्डेडले निगमको व्यावसायिक यात्रा नै संकटमा परेको छ । निगम नै टाट पल्टिने अवस्था आएपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले चासो देखाएको छ । बिहीबार समितीमा नेपाल वायुसेवा निगमको जहाजमा देखिएको समस्याको विषयमा छलफल बैठक बसेको थियो । समस्याको समाधानको लागि बैठक बसेपनि कुनै निष्कर्ष निस्कन सकेन् । 

बैठकमा समितीमा सदस्यहरुले निगमका जहाज ग्राउण्डेड हुनुमा निगमकै नेतृत्वको लापरबाही भएको बताए । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी नेतृत्वमा आएपछि १० अर्ब निगमलाई घाटा गएको भन्दै नौतिकताको आधारमा निगमबाट राजिनामा दिनुपर्ने गरिएको छ । यस्तै भारतमा एयर इण्डिया टाट पल्टिएको र निजीकरण भएपछि नाफामा गएको भन्दै नेपालमा पनि सोही मोडल अपनाउँदा समस्या नहुने सांसदहरुको भनाइ थियो ।  

नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले ७५ प्रतिशत जहाज ग्राउन्डेडमा निगमको गम्भीर लापरबाही भएको बताए । उनले यसको सम्पूर्ण जिम्मेवारी निगम व्यवस्थापनले लिनुपर्ने भन्दै निगमका अध्यक्ष अधिकारी आएपछि १० अर्ब रुपैयाँ नोक्सान भएको बताए । 

यस्तै नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले मर्मतका लागि इटली लगिएको जहाज २ महिनासम्म नआएको विषयमा प्रश्न गरे । उनले भने ‘सरकारले निगम चलाउन नसक्ने भए निजी क्षेत्रलाई दिए हुन्छ । निगमसँग चार वटा विमान छ । हिमालय एयरलायन्ससँग पनि चार वटा विमान छ । हिमालयको जहाज कहिले ग्राउन्डेड भएको समाचार आउँदैन तर, निगमको किन आउँछ ?’ उनले भारतमा पनि एयर इण्डियाले चलाउन नसक्दा टाटा एयरलाइन्सले सञ्चालन गरेको उदाहरण रहेको भन्दै त्यही मोडलमा निगमलाई लैजान आवश्यक रहेको बताए । 

माओवादी केन्द्रका सांसद सुदन किराँतीले निगमको नीतिगत र संरचनागत सुधार नगरेसम्म परिणाम नआउने बताए । उनले भने ‘हाम्रोमा जहाज मर्मत र खरिद ऐन निकै झन्झट छ, सार्वजनिक ऐन सच्याउनुपर्छ, हाम्रोमा के समस्या छ त्यसको अध्ययन हुन्छ तर, कार्यान्वयन हुँदैन ।’ निगमसँग जहाज नभएको कारण पनि समस्या निरन्तर भै रहेको उनले बताए । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले समेत नेपाल वायुसेवा निगममा अहिले भएको ऋण र घाटाको अवस्था हेर्दा निजीकरण भए मात्रै समस्या समाधान हुने बताए । उनले राष्ट्रिय ध्वजावाहकलाई निजीकरण गर्नु राम्रो नभएपनि सधैँ समस्या र आर्थिक रुपमा कमजोर बनाएर चलाउन नहुने धारणा व्यक्त गरे । धेरै जहाज किन्न सरकारसँग पैसा नभएको भन्दै पुँजीको लागि निजी क्षेत्रलाई सञ्चालन गर्न दिँदा दिन उपयुक्त हुने बताए ।  

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले कुन पाटपुर्जा कहिले मर्मत भन्ने पनि निगमलाई थाहा नहुनु निगमका पदाधिकारीको लापरबाही देखिएको बताए । ‘निगम लथालिंग बनेको र अर्बौं रुपैयाँ ऋणमा डुबाएकाले तत्कालै राजीनामा दिनुपर्छ,’ उनले भने । 

तर, निगमका कार्यकारी अध्यक्ष अधिकारीले सी–चेकको काम नियमित हुँदाहुँदै पनि प्राविधिक कारणले ढिलाइ भएको बताए । उनले सी–चेकका लागि तीन पटक ठेक्का आह्वान गर्नुपरेको, पार्टपुर्जा खोल्दै जाँदा अन्य समस्या पनि देखिँदा जहाज मर्मतसम्भारमा ढिलाइ भएको जवाफ दिए । निगमसँग अन्तर्राष्ट्रिय उडान गर्ने चार वटा जहाज मध्ये तीनवटा जहाज एकैचोटि ग्राउन्डेड छन् । जहाज ग्राउन्डेड हुँदा दिनको करोडौं घाटा लागेको छ भने चाडपर्व समय कमाउने समयमा तीनवटा जहाज ग्राउन्डेडले मिलोमतोको आशंका समेत देखिएको छ । यसैगरी नेपाल वायुसेवा निगमका एकैपटक दुईवटै वाइडबडी जहाज सी–चेकका लागि पठाएपछि नेपाल वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई सरकारले स्पष्टीकरण सोधेको छ । सरकारको तर्फबाट पर्यटनमन्त्री बद्री पाण्डेले निगमका अध्यक्ष अधिकारीलाई सातदिने अल्टिमेटमसहित स्पष्टीकरण माग गरेका हुन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise