डडेल्धुरा : पछिल्ला दिनहरुमा सुदूर पहाडका जिल्लामा गौराको रौनक बढ्दै गएकोछ । केही डेउडा खेल, कही धुमारी त कही चैतलीका भाकाहरु सुन्न सकिन्छ ।
गौरा विशेषगरी कर्णाली र सुदूरपश्चिममा मनाउने गरिन्छ । पछिल्लो समयमा यस क्षेत्रबाट बसाइँसराइ जाने नागरिहरुले पनि आफु बसोबास गर्ने क्षेत्रमा गौरा विभिन्न तरिकाले मनाउँदै आएका छन् ।
बुढापाकाहरुले डेउडा, चैतली, धुमारी गाएर गौरा मनाउने गर्थे भने अहिलेको युवा पीडि भने यस विषयमा खासै जानकार छैनन् ।
पछिल्लो समयमा युवा पीडिमा कला, संस्कृति जर्गेना गर्नका लागि स्थानीय तह तथा संघसंस्थाले विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।
यस्तै डडेल्धुरामा ‘राष्ट्रिय गौरा महोत्सव २०८१’ विगतका वर्षहरूझैँ यसवर्ष पनि राधाकृष्ण मन्दिर विकास समितिको आयोजनामा बागबजार बसपार्कमा ‘राष्ट्रिय गौरा महोत्सव २०८१’ बुधबारबाट शुरु भएको हो ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बुधबार महोत्सवको उद्घाटन गरेका हुन् ।
स्थानीय कला संस्कृतिको सम्मान तथा युवापिँढीमा हस्तान्तरण होस् भन्ने महोत्सवको उद्देश्य रहेको आयोजक राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराका अध्यक्ष देवराज भट्टले जानकारी दिए ।
महोत्सवमा गौरा नाच, बालो नाच, चैत, धुमारी, देउडा जस्ता सांस्कृतिक कार्यक्रमहरू हुँदैछन् । महोत्सवमा सहभागी भएर आफ्ना सांस्कृतिक धरोहरको संरक्षण र प्रर्वद्धनमा योगदान पु¥याउन राधाकृष्ण मन्दिर विकास समितिले आग्रह गरेको छ ।
बुधबारदेखि शुरु भएको महोत्वस गौरा देवीको धार्मिक परम्पराअनुसार भदौ १५ गते विसर्जन गरी महोत्सवको समापन गरिने समेत अध्यक्ष भट्टले जानकारी दिए ।
गौराको महत्व
पञ्चमीदेखि हुरु हुने गौरा पर्वको पहिलो दिन बिरुडा (गहुँ, गहत, गुराँस, सानो केराउ, मास) भिजाउने चलन रहि आएको छ । बिरुडालाई पञ्चाखिरी शिव मन्त्रको प्रतिक मानिने गरिन्छ । बिरुडा भिजाएर शुरु हुने पर्वको दोस्रो अर्थात् षष्ठीका दिन गेडागुडीलाई नजिकैको नदी, पोखरी वा धारामा धुने गरिन्छ ।
सप्तमीका दिन महिलाहरु खेतमा गएर धान, बलु, कुस, दुबो, साउँ, पाती, कुर्जो, तिल र अपमार्ग गरी नौ प्रकारका बिरुवाहरुलाई गौराको रुपमा भित्र्याउने चलन छ । आयुर्वेदको दृष्टिकोणले महत्वपूर्ण यी बिरुवालाई नवदूर्गाको प्रतीकको रुपमा लिने गरिएको छ । यसैलाई गौरा भन्ने गरिन्छ ।
गौराको इतिहास
‘गौरा’ शब्द संस्कृत साहित्यको ‘गौरी’ शब्द बाट अपभ्रंश हुँदै उत्पन्न भएको हो । हिन्दु धार्मिक ग्रन्थमा माता पार्वतीको सुन्दर स्वरूपको रूपमा गौरीको वर्णन गरेको पाइन्छ । यस पर्वमा विशेष गरेर माता पार्वतीले भगवान् शिवलाई पति पाउन गरेको ध्यान, तपस्या लगायत स्थानीय मौलिकतामा आधारित शिव शक्तिको मिलनको कथा गौरा गीतमा वर्णन गरिएको छ ।
सतीदेवीले यज्ञकुण्डमा आत्मदाह गरेपछि भगवान् शिवले भावविह्वल भई सतीदेवीको शवलाई बोकेर संसारको भ्रमण गर्ने क्रममा सतीदेवीका अङ्ग पतन भएको ठाउँमा शक्तिपीठ र भगवान् शिवले विश्राम गरेको ठाउँमा शिवालय उत्पन्न भएको देखिन्छ ।
परदेशीहरु घर फर्कंदै
सुदूरमा गौरा भित्रिएसँगै अरु चाडपर्वहरु पनि भित्रिने गर्दछन् । विशेष गरी गौरापछि दशैँ तिहार, होली, नयाँ वर्ष मुख्य चाडपर्वको रुपमा रहेका छन् ।
चाडपर्व मनाउनुका लागि कामका सिलसिलामा घर बाहिर गएकाहरु घरमा आउने गर्छन् । गौरा मनाउनुकै लागि परदेशीहरु गाउँघरमा भित्रिएसँगै गाउँघरको रौनकता बढेको छ ।