२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

कोइली शाही मृत्यु प्रकरण : अनुसन्धानमा ढिलाइ, दोषीमाथि कारबाही भएन

Nada
बालाराम शेर्पाली
२०८२ साउन ७ गते २१:१४
Shares
कोइली शाही मृत्यु प्रकरण : अनुसन्धानमा ढिलाइ, दोषीमाथि कारबाही भएन

रुकुमपूर्व : सिस्ने गाउँपालिका–६ की कोइली शाहीको रहस्यमय मृत्यु प्रकरणमा दोषीमाथि कडा कारबाहीको माग गर्दै विभिन्न संघसंस्थाले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वलाई संयुक्त ध्यानाकर्षण–पत्र बुझाएका छन् । 

ncell

नेकपा (माओवादी केन्द्र) निकट विभिन्न भातृ संगठनहरुले बुधबार जिल्ला प्रशासनमा बुझाएको ध्यानाकर्षण–पत्रमा अनुसन्धानमा ढिलासुस्ती भएको भन्दै असन्तोष प्रकट गरिएको छ । मृतक शाही सिस्ने गाउँपालिकामा कार्यालय सहायकको पदमा कार्यरत थिइन्। आषाढ २८ गते सिस्ने –५ स्थित आफ्नै डेरामा उनी मृत अवस्थामा फेला परेकी थिइन् । 

मृतकका बुबा दीपककुमार शाहीले रुकुम पश्चिम वाँफिकोट–२ निवासी परिचन्द्र खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दर्ता गराएका थिए।जाहेरीका आधारमा रुकुमकोट जिल्ला अदालतले पक्राउ पूर्जी समेत जारी गरिसकेको भए पनि नौ दिन बित्दा पनि अभियुक्त पक्राउ नपरेको भन्दै पीडित पक्षले राज्य संयन्त्रप्रति गम्भीर प्रश्न उठाएका छन् । ‘पर्याप्त प्रमाण हुँदाहुँदै पनि ढिलाइ हुनु र प्रहरी प्रशासनको निष्क्रियताले छोरीले न्याय पाउदैन कि भन्ने डरमा छु’ मृतकको बुबा दीपककुमार भने । 

ध्यानाकर्षण पत्रमा घटनाको सत्यतथ्य यथाशीघ्र सार्वजनिक गर्न, अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न जोड दिइएको छ । पत्रमा उल्लेख गरिएको छ, ‘अनुसन्धानमा भएको ढिलाइ पीडित परिवारको पीडामा थप चोट हो । यस्तो ढिलासुस्तीले दण्डहीनता मौलाउने र समाजमा न्यायप्रतिको विश्वास गुम्ने खतरा बढेको छ ।’

संयुक्त ध्यानाकर्षण बुझाउनेमा अखिल नेपाल महिला संगठन (क्रान्तिकारी), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल दलित मुक्ति मोर्चा, वाइसिएल नेपाल, अखिल क्रान्तिकारी, प्रेस सेन्टर नेपाल रुकुमपूर्व, नेपाल उद्योग व्यापार महासंघ, शिक्षक संगठन, ट्रेड युनियन, जनक्रान्तिका घाइते तथा अपाङ्ग योद्धा संघ, जिल्ला समन्वय समिति र सहिद परिवार समाज लगायतका संगठनहरू बुझाएको अखिल क्रान्तिकारीका अध्यक्ष चन्द्र रसाईलीले बताए ।  

जिल्ला प्रशासन र प्रहरी कार्यालयले घटनाको गम्भीर अनुसन्धान भइरहेको र अभियुक्तको खोजी तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए । यस्तै प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले अनुसन्धान अन्तिम चरणमा पुगेको र अभियुक्त पक्राउका लागि विशेष टोली परिचालन गरिएको जानकारी दिएका छन् । 

uae

सम्बन्धित खबर