२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

ओलीको कडा प्रतिवाद

ADV
अस्मिता बम
२०८१ भदौ १६ गते ०६:५५
ओलीको कडा प्रतिवाद

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिको कडा प्रतिवाद गरेका छन् । शनिबार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इनटु द फायर’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा बंगलादेश र श्रीलंकाको जस्तो अवस्था नआउने बताए ।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बंगलादेश र श्रीलङ्काको घटनाबाट सिक भन्ने अर्ति, उपदेश दिएकोप्रति आक्रोश पोखे । उनले आफूले लुटपाट नगरेको भन्दै खुट्टा कमाउनु नपर्ने बताए । उनले प्रचण्ड आफैलाई बंगलादेश र श्रीलङ्काबाट सिक्न आग्रह गरे । उनले नेपालमा बेथिति चलाउन नसिकिने भन्दै बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुन नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको टिप्पणी गरे । 

उनले वर्तमान व्यवस्था आफूहरुले लडेर ल्याएको भन्दै यसको विकास र परिमार्जन गर्दै लाने बताए। उनले नेपालमा अब कुनै पनि प्रकारको हिंसा सम्भव नभएको उल्लेख गरे । 

‘प्रचण्डजीले श्रीलङ्का र बंगलादेशबाट सिक भनेर अर्ति, उपदेश दिनुभएछ । मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छु र खुट्टा कमाउनु, मैले डराउनुपर्ने ? श्रीलङ्काबाट सिक, बंगलादेशबाट सिक जो चर्को स्वरमा भन्दै हुनुहुन्छ, राम्ररी सिक । म भन्न चाहन्छु, राम्ररी सिक । बेथिति चलाउन सकिँदैन आजको समयमा ।’

प्रचण्डले वर्तमान सरकार माफियाले बनाएको भनेर आरोपित गर्दै हिँडेका छन् । यही भदौ ११ गते प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले सरकारको कामकारबाहीलाई लिएर प्रश्नमाथि प्रश्न गरेका थिए । बंगलादेशमा विद्यार्थीहरूको आन्दोलनबाट सत्ता परिवर्तन भएको छ । यसलाई स्मरण गर्दै प्रचण्डले दुईतिहाई बहुमत छ भनेर घमण्ड नगर्न भनेका थिए । 

शनिवार प्रधानमन्त्री ओलीले प्रचण्ड लक्षित कडा अभिव्यक्ति दिएका हुन् ।

माओवादी अध्यक्ष प्रचण्डले पुनः समस्या भयो भनेर आफूकहाँ नआउन कांग्रेस र एमालेलाई भनेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले सत्ता गठबन्धनमा कार्यकाल नै तोकेर अगाडि बढेकाले भ्रम नर्छन आग्रह गरे । 

आफ्नो प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको बताए । उनले त्यसभन्दा हप्ता दिन अगाडि नै प्रधानमन्त्री पद छोड्ने पनि बताए । उनले आफूलाई बढी प्रधानमन्त्री पद खाने भन्दा पनि समयमै हस्तान्तरण गरौँ भन्ने लागिरहेको सुनाए । 

‘मलाई मन नपराउनेहरूका लागि म खुशीको खबर भन्दिनँ चाहन्छु, अब मेरो यसपल्ट प्रधानमन्त्रीको कार्यकाल एक वर्ष १० महिना १५ दिन मात्रै बाँकी छ । त्योभन्दा पनि अलि हप्तादिन अगाडि नै छोड्छु भनेको छु । बढी खाउँ भन्ने होइन कि बरु समयमै हस्तान्तरण गरौँ भन्ने छ’ ओलीले भने । 

सोही कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारमाथि संकट नरहेको बताए । बरु वर्तमान सरकार बन्नुमा क्याप्टेन रामेश्वर थापाको ठूलो हात रहेको भनेर प्रसंसा गरे । 

‘ओलीजी र मेरोबीचमा नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा उहाँको धेरै ठूलो योगदान छ, धेरै ठुलो मद्दत गर्नुभएको छ’, सभापति देउवाले भनेका छन् । 

द्वन्द्वकालमा नेपाली सेनाको एमआई १७ हेलिकप्टरका प्रथम इन्स्ट्रक्टर क्याप्टेन रामेश्वर थापाको युद्धस्थलका उद्धार भोगाइ एवं अनुभूतिमा आधारित अंग्रेजी पुस्तक ‘इन्टु द फायर’ एक समारोहका बीच विमोचन भएको हो । 

प्रधानमन्त्री ओली, सभापति देउवा र बाल गुरु आदित्यनाथले पुस्तकको लोकार्पण गरेका हुन् ।  

प्रधानमन्त्री ओली र सभापति देउवाले नेपालको शान्ति प्रक्रिया, राजनीतिक स्थिरता र विकासका लागि थापाले आफ्नो ज्यान जोखिममा राखेर पनि महत्त्वपूर्ण पहल गर्दै आएको भन्दै प्रशंसा गरेका हुन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise