२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

अदालतको एउटा आदेशले काठमाडौंका ८० हजार परिवार प्रभावित

ADV
अस्मिता बम
२०८१ भदौ १९ गते ०६:५०
अदालतको एउटा आदेशले काठमाडौंका ८० हजार परिवार प्रभावित

काठमाडौं : सर्वोच्च अदालतको एउटा आदेशका कारण काठमाडौं उपत्यकाका ८० हजार घर परिवार प्रभावित भएको भन्दै संसदमा यो विषयले प्रवेश पाएको छ ।

काठमाडौं उपत्यकाका १४ वटा नदी किनारमा ४० मिटरभित्र संरचना बनाउन नपाउने सर्वोच्च अदालतको फैसलापछि ८० हजार परिवार प्रभावित भएको भन्दै संसदमा यो विषयले प्रवेश पाएको हो । 

सरोकारवालाहरूले बिना अध्ययन फैसला आएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । 

गत पुस तीन गते न्यायाधीश आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले गरेको फैसला कार्यान्वयन गर्न काठमाडौं महानगरले हालै एउटा सूचना निकालेपछि यो विषयमाथि सरोकारवालाहरूको चासो गएको हो । 

नेपाली कांग्रेसका सांसद सन्तोष चालिसे अनुसार सर्वोच्च अदालतको आदेशका कारण खाली रहेको जग्गामा घर बनाउन नपाउने र २० मिटर मापदण्ड भित्र रहेका घर पनि अवैध भएपछि ८० हजार परिवारमा रुवाबासी चलेको छ ।

चालिसे काठमाडौँ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर उनले बिना अध्ययन सर्वोच्च अदालतबाट आदेश आएको बताए । 

‘उक्त फैसलाको कारण उपत्यकाका १४ वटा नदी किनारमा थप २० मिटर मापदण्ड थप गर्दा ८० हजार घर परिवारको रुवाबासी भएको छ’ उनले प्रश्न गरे, ‘कुन अध्ययन गरेर यो फैसला आयो ? कसले यो फैसला गर्न लगायो ?’ 

सांसद चालिसेका अनुसार नदी किनारमा बस्ने उपत्यकाका मानिसहरुलाई बैंकमा राखिएको घर जग्गामा फटाफट पत्र काटेर कि पैसा तिर नभए धितोलाई चेन्ज गर भनिरहेको छ । 

२०६५ सालमा तय भएको मापदण्ड अनुसार २० मिटर जग्गा अधिग्रहण गरिएको थियो । सर्वोच्च अदालतबाट भएको फैसलाबाट थप २० थप भन्नु उचित नभएको प्रभावितहरूको छ । ‘नदी नियन्त्रण गर्ने अरु पनि उपाय छन् । साराको बास उठाएर नदी नियन्त्रण गर्न पाइँदैन । यसमा सबैको ध्यानाकर्षण होस्’ कांग्रेस सांसद चालिसेले भने ।

२०६५ सालको मापदण्डले बागमती, विष्णुमणि र मनहरा खोलाको मापदण्ड २० मिटर, धोबिलखोलाको मापदण्ड ९ मिटर, नख्खु खोलाको १२ मिटर निर्धारण गरेको थियो । 

काठमाडौं महानगरपालिकाका अनुसार त्यसबेला बल्खु कर्मनासा, कोइकु, साङ्ले र महादेव खोलाको १० मिटर, करखुसी खोलाको ६ मिटर, टुकुचा, सामाखुशी र उपत्यकामा बग्ने अरु खोलामा ४ मिटर कायम गरेको थियो । 

पछिल्लो समय सर्वोच्च अदालतले थपिएको समेत मापदण्डभित्रका दूरीभित्र कुनै संरचना निर्माणको अनुमति प्रदान नगर्न र नक्सा पास नगर्न अदालतले आदेश दिएको हो । यस्तो फैसला सर्वोच्च अदालतबाट हालै भएको हो ।

खाली रहेको जग्गामा घर बनाउन नपाउने र भएको घर पनि अवैध भएपछि ८० हजार परिवारको रुवाबासी भएको भन्दै कांग्रेस सांसद चालिसेले संसदमै यो विषय प्रवेश गराएका हुन् । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise