२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

विद्युतीय सवारीको प्रयोग बढाउन छलफल

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ १९ गते २०:५९
विद्युतीय सवारीको प्रयोग बढाउन छलफल

बुटवल : जलवायु परिवर्तन, पेट्रोलियम पदार्थको सीमितता र बढ्दो वायु प्रदूषणका कारण विद्युतीय सवारी साधनको प्रयोग व्यापक रुपमा बढिरहेको छ । ठूला साना शहरहरुलाई  वायु प्रदूषण मुक्त बनाउन वातावरणमैत्री यातायात सवारी साधन सञ्चालन गर्ने विषयमा अहिले बुटवल उपमहानगरपालिकाको पहलमा एशियाली विकास बैंक एडीबी र स्थानीय बुटवलका व्यवसायीहरुका बीचमा सवारी सञ्चालन गर्ने विषयमा छलफल शुरु भएको छ । 

बुटवल उपमहानगरपालिकाको अगुवाइमा भएको छलफलमा  विद्युतीय सवारी साधनलाई महानगरपालिकाभित्र सञ्चालनका लागि उच्च प्राथमिकता दिँदै भविष्यमा विद्युतीय सवारी साधन सञ्चालन गर्ने  सहमति भएको छ । बुटवल क्षेत्रको वातावरणीय प्रदूषण कम गर्न तथा स्वदेशमा उत्पादित  विद्युत खपत बढाउनका लागि विद्युतीय सवारी साधनको  प्रयोगलाई प्राथमिकता दिनुपर्ने बहस देशभर चलिरहेको बेला बुटवलमा यसको पहल शुरु गरेपछि स्थानीयबासी खुसी भएका छन् ।

विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिने गरी बुटवल उपमहानगरपालिका, एडीबी र व्यवसायीहरुकाबीचमा साझेदारी गर्ने गरी पहिलो चरणको छलफल सकिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जानकारी दिए ।

प्रमुख पाण्डेले विद्युतीय सवारी सञ्चालन गर्ने विषयमा गाडिका  मोडलहरु,  कस्ता सञ्चालन गर्ने व्यवसायीलाई  स्थानीय सरकारले दिन सकिने सहुलियत र चार्जिङ तथा मर्मत स्टेशन राख्ने ठाउँहरुका बारेमा छलफल भएको बताए । 

पाण्डेका अनुसार देशमै सबैभन्दा धेरै सवारी साधन भएको बुटवल  शहरबाट विद्युतीय सवारी साधनको  शुरुवात गर्ने गरी एडीबीले केही  लगानी गर्ने, बुटवल उपमहानगरपालिकाले प्रोत्साहन गर्ने र व्यवसायीहरुले धेरै लगानी गरेर विद्युतीय सवारी सञ्चालन गर्ने खालको मोडलमा जान सकिने गरी छलफल शुरु भएकोले यसलाई निष्कर्षमा पु¥याउने तयारी छ ।

बुटवलबाट छुट्ने सवारीहरुलाई पर्यटकीय स्थलहरुमा पुर्‍याउने  र नियमित सवारी सञ्चालनलाई थप व्यवस्थित गर्ने गरी कुराकानी भएको बुटबल उपमहानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले बताए । 

छलफलमा सहभागी एडीबीका नेपाल आवासीय  प्रतिनिधि लिडर अरुण रामामूर्तिले धेरै सवारीको चाप भएको बुटवलबाट विद्युतीय सवारी साधन सञ्चालन गर्ने गरी बुटवल उपमहानगरपालिका र स्थानीय व्यवसायी हरुसँगको छलफल सकारात्मक भएको बताए । उनले एडीबीले निश्चित लगानी गरेर यसमा प्रोत्साहन गर्न खोजिरहेको जानकारी दिए । 

विद्युतीय सवारीहरुको उपयोग विश्वव्यापी रुपमा बढ्दै गएको भन्दै उनले वातावरणमैत्री सवारी भएकाले पनि यसको उपयोगमा चासो बढिरहेको बताए । 

पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले पूराना गाडी विस्थापित गरेर नयाँ गाडी ल्याउँदा विद्युतीय सवारी ल्याउने र यसमा एडीबी र बुटवल उपमहानगरपालिकाको समेत साथ रहने कुरा सकारात्मक रहेको बताए ।

छलफलमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, एडीबीका सिनियर प्रोजेक्ट अफिसर हेमन्त तिवारी, एडीबीका प्रतिनिधिहरु ग्लोरिया गेरिल्ला टेकनोमो, ओली नोरोजोनो, गुरुदत्त अधिकारी, रोम भट्टराई लगायतको उपस्थिति रहेको बुटवल उपमहानगरपालिकाका प्रेस सल्लाहकार सीपी खनालले बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise