२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

‘युवा पुस्ताको सहभागिता बिना हस्तकला उद्योग अब टिक्दैन’

ADV
२०८१ भदौ २३ गते ०६:३५
‘युवा पुस्ताको सहभागिता बिना हस्तकला उद्योग अब टिक्दैन’

नेपालको हस्तकला उद्योगले कला, संस्कृति, परम्परालाई विश्वमा परिचित बनाउने काम समेत गरेको छ । नेपाली हस्तकला विदेश निर्यातको लागि प्रचुर संम्भावना भएको क्षेत्र पनि हो । हस्तकला उद्योग व्यवसायमैत्री आवश्यक नीति नियम नहुँदा हस्तकला क्षेत्रले अगाडि बढ्न सकेको छैन । निर्यातको अथाह सम्भावना बोकेको क्षेत्रलाई ब्राण्डिङ गर्न सक्ने हो भने नेपालबाट हस्तकलाको समाग्री निर्यात गर्ने सम्भावना छ । गत आर्थिक वर्षमा समेत २५ अर्ब बराबारको व्यापार हुँदा १२ अर्बको निर्यात भएको देखिन्छ । यसले के देखाउछ भने हस्तकलाका उत्पादित वस्तुहरुको विश्व बजार विस्तार गर्न सकिन्छ । प्रस्तुत छ, यसै सन्दर्भमा नेपाली हस्तकलाको समस्य, अवसर र व्यवसायलाई प्रवर्द्धनमा गर्न के सरकारले के गर्नुपर्छ भनेर नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यसँग मध्यान्हका छबि सापकोटाले गरेको कुराकानी :

नेपालमा हस्तकला व्यवसायको अवस्था अहिले कस्तो छ ?

नेपालको कला र संस्कृतिलाई चिनाउने क्षेत्र नै हस्तकला हो । नेपाली हस्तकलाका उत्पादनहरु विश्वभर नै परिचित छन् । नेपालको हस्तकला व्यवसाय कोभिड महामारी कालमा निकै गाह्रो अवस्थामा गुज्रियो । अहिले हस्तकला व्यवसायमा तंग्रिन थालेको छ । तर, पछिल्लो समय नेपालबाट युवा पुुस्ता पलायनको कारण हस्तकला क्षेत्रमा दक्ष जनशक्तिको अभाव बढ्दै गएको छ ।

नेपालबाट निर्यातको अथाह संभावना रहेको हस्तकला उद्यमका लागि सरकारसँग प्रोत्साहनको नीति नहुँदा नयाँ पुस्ता आउन सकेका छैनन् । पुराना पुस्ताले धानेको हस्तकला सीपलाई अब हस्तारणको लागि ठोस कार्यनीति नै बनाउनु पर्ने आवश्यकता छ । हस्तकलालाई टिकाइराख्ने नै हो भने ठूला उद्योगलाई जसरी सरकारी तवरबाट विभिन्न नाममा अनुदान दिने गरिन्छ त्यसरी नै हस्तकलामा आवद्ध उद्यमीलाई सरकारले नै सहज वातावरण बनाउन तर्फ जोड दिनुपर्छ । 

हस्तकलामा किन जनशक्ति टिक्न सकेका छैनन् ? 

नेपाली हस्तकला अहिलेसम्म पुस्तान्तरणवाट चलिरहेको व्यवसाय हो । अहिलेको पुस्ताको शैक्षिक ज्ञानमा हस्तकला छैन । नयाँ पुस्ताले यो क्षेत्र भन्दा विदेश जाने वा नेपालीमा बसे जागिर खाने संस्कृति छ । नेपालमा बस्नु भन्दा बाहिर जाँदा राम्रो हुन्छ भन्ने समाजको मनोविज्ञान छ । हस्तकलामा लागेकाहरु पनि आफ्नो पुस्तालाई यो क्षेत्रमा लगाउन सकिरहेका छैनन् । 

नेपाल बस्ने भन्दा विदेश गएर जे सुकै काम गरेपनि राम्रो आम्दानी गरेका छन । पछिल्लो समय नेपालमा केही हुँदैन भन्ने भाष्य निर्माण हुँदापनि हस्तकलामा लाग्नेहरु समेत अहिले टिक्न सकेका छैनन् । हाम्रो शिक्षा नीति नै बेरोजगार शक्ति उत्पादन गर्ने प्रकारको छ । उद्यमतर्फ लाग्नका लागि प्रोत्साहन गर्ने शिक्षा र सामाजिक मनोविज्ञान नहुँदा नेपालमा युवा पुस्ता बस्न सकिरहेका छैनन्, जसको प्रभाव हस्तकला क्षेत्रमा पनि परेको छ ।

नयाँ पुस्ता हस्तकला व्यवसायबाट फाइदा नहुने भएर पलायन भएका हुन कि ?

त्यस्तो होइन । नेपाली हस्तकलाको मूल्य अमुल्य छ । अन्य देश भन्दा हाम्रो हस्तकलामा प्राचित मूल्य मान्यता जोडिएका छन् । नेपालमा हस्तकलाको व्यापार गरेर राम्रो आम्दानी गर्नेहरु समेत धेरै छन् । तर, यसमा लगनशीलता र धैर्यताको आवश्यकता छ । अर्काे हस्तकला साना तथा घरेलु उद्यम अन्तरगत पर्छ । यो उद्यमलाई सरकारले हेर्ने दृष्टि समेत कम पुगेको छ, त्यसैले काम गर्ने वातावरण धेरै ग्राह्रो नै छ । 

हस्तकलामा करको कुरा गर्ने हो भने विभिन्न प्रकारको कर तिर्नुपर्ने अवस्था छ । कच्चापदार्थ ल्याउँदा र बिक्री गर्दा समेत कर तिर्नुपर्ने अवस्था छ । छिटो लाभ लिन नसक्ने भएकोले लगानीकर्ताले समेत लगानी गर्न डराउनुपर्ने अवस्था छ । युवा पुस्ताको सहभागिताबिना नेपाली हस्तकला उद्योग अब माथि जान सक्दैन । युवा पुस्तालाई हस्तकलामा आकर्षित गर्न नियमित रुपमा सिपमूलक तालिम, हौसला र हस्तकलाको संम्भावनाको बारेमा ज्ञान दिनु आवश्यक ।

हस्तकलाको व्यापार कस्तो छ ? 

हस्तकलाको वार्षिक व्यापार १२ अर्ब निर्यात छ र १२ अर्बकै भन्दा बढी नेपाल भित्र नै कारोबार भइरहेको छ । नेपालीहरुमा नेपाली चाडपर्व, उपहार, संस्कृति परम्परामा प्रयोग गर्ने नेपाली उत्पादनहरुको प्रयोग बढ्दो छ । नेपाली हस्तकला अमेरिका, युरोप, चीन, भारत लगायतका मुलुकमा राम्रो निर्यात हुने गरेको छ । पछिल्लो वर्षमा निर्यात बढ्नुले नेपाली हस्तकलामा माग छ भन्ने देखिन्छ । 

तर हाम्रो सरकारी नीति हस्तकलाको व्यापारलाई निर्यातमा सहज गराउने प्रकारको छैन । नेपालमा ठूला–ठूला उद्योगले मात्र अनुदान पाइरहेको अवस्था छ । तर साना तथा घरेलु उद्योग छैन । केहीले अनुदान पाएपनि निकै मुस्किलले पाएका छन् । हस्तकलाको व्यापार विस्तार गर्ने वातावरण छैन । 

नेपाली हस्तकलाको अन्तर्राष्ट्रिय बजारमा माग धेरै छ । तर, पछिल्लो समय यो क्षेत्रमा लाग्ने युवा पुस्ताको रुची बढ्न नसक्दा माग बमोजिम उत्पादन गर्न सकिएको अवस्था छैन । सरकारले यो क्षेत्रलाई विशेष ध्यान दिनै पर्छ । 

विदेशी सामान आयातबाट हस्तकला क्षेत्रलाई कस्तो असर गरिरहेको छ ? 

नेपालमै उत्पादन गर्न सकिने सामानहरु विदेशबाट आयात हुँदा अवश्य नै असर गर्छ । अर्काे कुरा नेपाली हस्तकलाबाट उत्पादन हुने वस्तु जस्तै नक्कल गरेर नेपालमै आउने गरेकाले समेत समस्या छ । सरकारले नेपालमा उत्पादन हुने वस्तुमा जसरी विभिन्न शिर्षकमा कर लगाउने गरेको छ, त्यो घटाउने तर आयात हुने वस्तुलाई धेरै भन्सारदर बढाउने हो भने पनि नेपाली उद्योगीहरुलाई राहत हुन्छ । यसले नेपालको आयस्रोत बढ्छ र अर्थतन्त्र चलायन हुन्छ । 

विदेशमा समान उत्पादन गरे अनुसार अनुदान दिने गरेका छन् । नेपालमा त्यस्तो नगर्दा उद्यममा लाग्नेहरुको मनोबल उठ्न सकेको छैन । हामीले नेपालमै केही गर्नुपर्छ भनेर लागिरहेका छौं । यस्ता उद्यमीलाई वातारवण बनाउने हो लगानी बढ्छ भने रोजगारी सृजना समेत हुन्छ । अर्काे महत्वपूर्ण कुरा भनेको हामीले पनि नेपाली उत्पादन भनेर माया गर्न सिक्नुपर्छ । विदेशीले रुचाउने तर, नेपालीले कम महत्व दिँदा समेत हाम्रो मेहनतको कदर भएको छैन । हामी साँच्ची नै आत्मनिर्भरको बाटोमा अगाडि बढ्ने सोच राख्ने हो भने स्वदेशी वस्तुलाई सरकारदेखि नागरिक समेत प्रयोग गर्नैपर्छ । नेपाली वस्तु प्रयोग गर्दा गर्वले अवस्था सृजना गर्न सकिन्छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise