२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

shivam cement
२०८१ भदौ २४ गते ११:२१
Shares
खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

रुपन्देहीः एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गरेका छन् । 

पाँच किलोमिटरको सो प्रतियोगितामा उनले १५ मिनेट ५२ सेकेण्डमा उक्त दूरी पूरा गर्दै प्रथम भएका हुन् । यसैगरी रुपन्देही गैडहवाका उमेश बरईले १६ मिनेट चार सेकेण्ड र रुपन्देही सियारीका अजय पाण्डेले १६ मिनेट २५ सेकेण्डमा उक्त दूरी पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट शुरु भएको दौड लुम्बिनी रोड, नारायणपथ हुँदै मिलनचोकमा समापन भएको थियो ।

यसैगरी प्रतियोगिताको महिलातर्फ भने नेपाली सेनाको वर्चस्व रह्यो । महिलातर्फ दोस्रोबाहेक सबै पुरस्कार सेनाले हात पारेको छ । कालीभक्ती गणका सरिताकुमारी बस्नेतले पाँच किमीको दूरी २१ मिनेट २९.४४ सेकेण्डमा पूरा गर्दै प्रथम भए भने कुसुम ठगुन्नाले २१ मिनेट २९.७३ सेकेण्ड र विपना केसी २१ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए । 

पुरुषतर्फ मनोज केवट र महिलातर्फ विन्दु थापाले सान्त्वना पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक ओमकुमार श्रेष्ठले बताए । प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई रु १० हजार र प्रमाणपत्र, दोस्रोलाई नगद रु पाँच हजारसहित प्रमाणपत्र, तेस्रो हुनेलाई रु तीन हजार नगदसहित प्रमाणपत्र र सान्त्वना हुनेलाई रु एक हजार पाँच नगदसहित प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र सर्वसाधारण गरी चार सय ५० जना बढी धावकको सहभागिता रहेको उनले बताए ।

‘खेलको विकास गर्नुपर्छ’ भन्ने बिपीको भनाइलाई आत्मसात् गर्दै प्रतियोगिताको आयोजना गरिएको कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाणले बताए । ‘खेलले नागरिकलाई स्वस्थ बनाउँछ, राष्ट्रलाई बलियो बनाउँछ । राष्ट्रियतालाई बलियो बनाउँछ । त्यही सिलसिलामा हामीले पनि खेलको विकास र युवालाई सङ्गठित बनाउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरेका हौँ’, उनले भने, ‘खेलको विकासबाट राष्ट्रकै विकास गर्न सकिन्छ र यसमा पार्टीहरू पनि लाग्नुपर्ने सन्देशसहित मिनी म्याराथनको आयोजना गरेका हौँ ।’ प्रतियोगिताको शुभारम्भ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले गरेका थिए ।

सम्बन्धित खबर