२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

विश्वविद्यालयको बिजोग

ADV
भावना पाठक
२०८१ भदौ २५ गते ०६:५०
विश्वविद्यालयको बिजोग

काठमाडौं : विश्वविद्यालय असुरक्षित बनेको भन्दै प्रश्न उठेको छ । तोडफोड र झगडाका घटनाले पदाधिकारी र प्राध्यापक नै विश्वविद्यालय जान नसक्ने अवस्थामा पुगेका उदाहरण दोहोरिएका छन् । पछिल्लो समय चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा विद्यार्थीबीचको झगडाले परीक्षा स्थगित भएको छ । 

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका विद्यार्थी संगठनबीचको झगडाका कारण परीक्षा स्थगित भएको भन्दै संसदमा विपक्षी दलका सांसदहरूले सरकार र सत्तारुढ दलमाथि प्रश्न गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले आफ्ना भातृ संगठनलाई सम्हाल्न आग्रह गरे । ‘नेपाली कांग्रेस र नेकपा एमाले दुईवटै दललाई आग्रह हो– तपाईंहरुका भातृ संगठनलाई सम्हाल्नुस् । कि त भातृ संगठन नभन्नुस्, गुण्डाहरूको संगठन भन्नुस्’, सांसद शाहीले भने । कृषि तथा वन विज्ञान विश्वविद्यालयको छात्राबासका विद्यार्थीहरुबीच यही भदौ १३ गते कुटाकुट भएको र यो विषयमा सत्तारुढ कांग्रेससंवद्ध नेपाल विद्यार्थी संघ र एमालेसम्वद्ध अनेरास्ववियुबीच आरोप प्रत्यारोप चलेको छ । यही विषयलाई लिएर प्रहरीमा जाहेरी परेको छ । यसकारण भदौ १४ गतेदेखि हुने नियमित तथा मौका परीक्षा स्थगित भएको छ । भदौ २८ गतेदेखि हुने नयाँ भर्नाको लागि प्रवेश परीक्षा पनि स्थगित भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले यो वा त्यो रुपमा विद्यार्थीको जाँचमा खेलवाड गर्न नहुने बताइन् ।

‘सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, ‘विद्यार्थीको जीवनमा, जाँचमा यस्तो खेलवाड नगरियोस्’, उनले भनिन् । विश्वविद्यालयमा राजनीतिक दल हावी हुँदा यस्तो समस्या देखिएको उनको टिप्पणी छ ।

‘विद्याविद्यालय पठनपाठनको क्षेत्र कम र पार्टीहरुको पार्टी प्यालेस बढी हुन थालेको छ । एउटा प्रधानमन्त्रीको पार्टी, एउटा गृहमन्त्रीको पार्टी । दुईटा विद्यार्थी संगठनको लडाईंमा पढ्छु मात्रै भन्ने विद्यार्थीहरुले जाँच पनि दिन नपाउने ?’ रास्वपा सांसद सुमनाको प्रश्न छ ।

सांसद श्रेष्ठले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइतबार हुने भनिएको दीक्षान्त समारोह स्थगित भएकोबारे पनि सरकारको ध्यानाकर्षण गरिन् । ‘यो एएफयुको जाँच कहिले हुन्छ ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह कहिले हुन्छ ?’ उनले भनिन् ।

कर्णालीको दीक्षान्त समारोह प्रधानमन्त्रीले कार्यव्यस्तताले अन्तिम समयमा स्थगित भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह भन्दै ५६ जना विद्यार्थी जुम्ला पुगेका थिए । डा. सन्दुक रुइत, स्वास्थ्य सचिव लगायतका सरोकारवालाहरू समेत जुम्ला पुगेका थिए । तर, अघिल्लो दिन राति दीक्षान्त समारोह स्थगित हुन पुगेको हो । 

यही भदौ पहिलो साता पद्मकन्या क्याम्पस बागबजारमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्षसहित विद्यार्थीले गत सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गरेका थिए । 

साउन अन्तिम साता विद्यार्थीको एक समूहले त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागको प्रमुख नियुक्तिको विषयमा पदाधिकारीलाई कार्यकक्षमै ‘आक्रमण गर्ने’ धम्की दिएको बाहिरिएको थियो । 

गत साउन १५ गते काठमाडौंकै सरस्वती क्याम्पस ठमेलमा परीक्षामा गार्ड बसेका अध्यापक विद्यार्थीबाट कुटिएका थिए । त्यसअघि विद्यार्थीको एक समूहले उत्तरपुस्तिका हराउने परीक्षा नियन्त्रण कार्यालयका जिम्मेवार कर्मचारीलाई कारबाही नगर्न त्रिविका पदाधिकारीलाई फोन र म्यासेजबाट धम्की दिएको बाहिरिएको थियो ।

गत वैशाख महिनामा पाटन र अस्कल क्याम्पसमा नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीका विद्यार्थीले महिना दिनसम्म तालाबन्दी गरेका थिए । त्यसबेला पनि असुरक्षा भएको भन्दै सरोकारवालाहरूले प्रश्न उठाएका थिए ।

पाँच वर्षअघि उपप्राध्यापक प्रेम चलाउने विद्यार्थी संगठनका नेताहरूबाट सांघातिक हमलामा परेका थिए ।

यस सम्बन्धमा संसदमा प्रश्न उठेको हो । एकपछि अर्को विश्वविद्यालयमा असुरक्षा बढ्न थालेको छ । तोडफोड र झगडाका घटनाले पदाधिकारी र प्राध्यापक नै विश्वविद्यालय जान नसक्ने अवस्थामा पुगेका छन् । यसलाई सरोकारवालाहरूले ‘विश्वविद्यालयको बिजोग’ भनेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise