२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

फेरि सक्रिय समाजवादी मोर्चा

ADV
दिवाकर अधिकारी
२०८१ असोज ७ गते ०६:३०
फेरि सक्रिय समाजवादी मोर्चा

काठमाडौं : समाजवादी मोर्चा नेपाल फेरि सक्रिय भएको छ । नेताहरूका अनुसार समाजवादी मोर्चाले सातै प्रदेशमा राजनीतिक प्रशिक्षण सञ्चालन गर्दैछ । देशको समसामयिक राजनीतिक अवस्था र अन्तर्राष्ट्रिय परिवेशमा केन्द्रित रहेर प्रदेश तहमा सभा, सम्मेलन, जनाधिकार, सामाजिक विकासलगायत विषयमा प्रशिक्षण छिट्टै सञ्चालन गर्न लागेको हो । 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपाध्याक्ष प्रमेश हमालका अनुसार समाजवादी मोर्चामा आबद्ध पार्टीका शीर्षनेताहरूले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । 

वामपन्थी शक्तिलाई एकताबद्ध गरी एउटै र बलियो कम्युनिष्ट पार्टी बनाउने लक्ष्यसहित २०८० साल असार ४ गते मोर्चा गठन भएको थियो । त्यसबेला नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मोर्चा घोषणा गरेका थिए । पछिल्लो समय जनता समाजवादी पार्टी नेपाल मोर्चामा सक्रिय छैन । तर, जसपा नेपालसँग समेत कुराकानी भइराखेको नेताहरू बताउँछन् । नेपाली मौलिकतासहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्य सहित मोर्चा गठन गरिएको थियो । यस अन्तर्गत मोर्चाले सातै प्रदेशमा प्रादेशिक कार्यक्रम यस अगाडि नै गरिसकेको थियो । 

नेकपा एमाले र माओवादी केन्द्र सरकारमा गएपछि यो मोर्चाको गतिविधि सेलाएको थियो । सत्ताबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाहिरिए लगत्तै मोर्चा सक्रिय हुन खोजेको थियो । तर, मोर्चामा रहेका दलहरू आन्तरिक गतिविधिमा केन्द्रित हुँदा मोर्चाको गतिविधि धकेलिएको थियो । अब फेरि मोर्चाकै गतिविधि अगाडि बढाउन खोजिएको छ । 

नेताहरूका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको बाटो तय गर्ने मोर्चाको उदेश्य छ । वर्गीय तथा क्षेत्रीय विभेदको अन्त्य गर्ने, मानव विकास सूचकांकमा पछाडि परेका मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्रमुख प्राथमिकता राख्ने, जनताको नागरिक तथा आर्थिक अधिकारको संरक्षण, वित्तीय एकाधिकार तथा पूँजीवादी अर्थव्यवस्थाको विकल्पमा समाजवादी अर्थतन्त्रको आधार तयार पार्ने लगायतका उदेश्य राखेर मोर्चाका गतिविधि अगाडि बढेका हुन् । मोर्चामा पछिल्लो समय बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बाट बिद्रोह गरेको महिन्द्रराय यादव समूह समाजवादी मोर्चामा समावेश भएको छ । यसअघि गत साउन १ गते बसेको मोर्चाको बैठकमा यादव नेतृत्वको नेपाल समाजवादी पार्टी सहभागी भएको थियो । त्यसदिन बसेको बैठकले मोर्चामा सहभागी गराउने निर्णय गरेको थियो । पछिल्लो समय मोहन विक्रम सिंहको मसाललगायतलाई मोर्चामा आबद्ध गराउन पहल गर्ने निर्णय भएको छ । प्रगतिशील र कम्युनिस्टहरूसँग छलफल गर्दै मोर्चामा आबद्ध गराउने आफूहरूको योजना रहेको नेताहरू बताउँछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise