२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

विपद्‍मा अल्मलियो सरकार

ADV
२०८१ असोज १४ गते ०६:३५
विपद्‍मा अल्मलियो सरकार

अविरल वर्षापछि शुक्रबार राति गएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको  संख्या आइतबार रातिसम्म १७० जना पुगेको छ भने ४२ जना बेपत्ता र १११ जना घाइते भएका छन् । उद्धार कार्य जारी रहेकाले मृतक संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । ५४ वर्ष यताकै उच्च वर्षाका कारण राजधानी उपत्यका सहित सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतमा ठूलो क्षति पुगेको छ । पूर्वी नेपालका केही जिल्लाहरुमा पनि बाढी र पहिरोबाट ठूलै संख्यामा जिउधनको क्षति पुगेको थियो । तर राजधानीको खोला करिडोर क्षेत्रमा बढी प्रभाव देखिएको छ । मृतक मध्ये आधा भन्दा धेरै मृतक राजधानीभित्रै छन् । मृतक र प्रभावित मध्ये धेरैजसो गरीब परिवारका छन्, जो खोला किनारमा बस्ने गर्थे । त्यस बाहेक सडक यात्रा गरिरहेकाहरुले पहिरोमा परेर ज्यान गुमाएका छन् । घर र बस्ती नै बगाएर लैजाँदा पनि कयौले ज्यान गुमाएका छन् । 

यो तहको मानवीय संकट निम्तन सक्ने पूर्वानुुमान जल तथा मौसम विज्ञान विभागले लगातार दिएको थियो । मौसम सम्बन्धी सूचनालाई लिएर आमसञ्चार माध्यमहरुले जानकारीमुलक समाचार तयार पारेका थिए । औसत भन्दा बढी वर्षाको संभावना रहेकाले संभावित क्षतिबारे पर्याप्त जानकारी दिइएको थियो । तर सरकारले पूर्वतयारी सम्बन्धी ठोस् काम गर्नै नसकेको रहेँछ । बुधबारबाट वर्षा सुरु हुनु र शुक्रबार राति अत्याधिक वर्षा भएर ठूलो संख्यामा मानवीय क्षतिको सूचना आउँदा पनि सरकारले उद्धारको कार्यमा प्रभावकारी बनाउन सकेन । यदि पूर्वतयारी राम्रोसँग गरिएको हुन्थ्यो भने कम्तिमा आइतबारसम्म उद्धार कार्य सकिनु पथ्र्यो । तर प्रकोपको तीन दिनसम्म पुरिएका सवारी साधनमा हराएकाहरुको अवस्था सरकारी संयन्त्रले पत्ता लगाउन सकेन । बीच बाटोमै अलपत्र परेकाहरुलाई उद्धार गर्न सकेन । शनिबार बिहान ललितपुरको नख्खु खोलामा उद्धारको पर्खाइंमा छतमा बसेकाहरु बगेको भिडियो भाइरल नै बन्यो । 

आइतबार रातिसम्म राजधानी उपत्यकासँग सम्बन्ध बिच्छेद भएका कुनैपनि सडक सञ्चालनमा आउन सकेको छैन । यसको अर्थ राजधानी देशका सबै भूभागबाट अलग हुन पुगेको छ भने अरु भूभागबाट राजधानी आउन सक्ने अवस्था छैन । तर सरकारी संयन्त्रले अवरुद्ध सडकहरु सञ्चालनको पहल कदमी धेरै परको कुरा भयो, हराइरहेका नागरिक र अलपत्र परेकाहरुलाई उद्धार गर्न समेत सकेको छैन । कतिसम्म भने हराइरहेका मानिस, सवारी साधन अथवा अरु संरचनाको अभिलेख समेत तयार पार्न सकिएको छैन । जबकी मुलुकमा तीन तह गरी ७६१ वटा सरकार छ । सरकारी संयन्त्र र राजनीतिक संरचना वडासम्म फैलिएको छ । तर पूर्वानुमान गरिएकै संकटमा समेत यो तहको निकम्मापन देखिनुमा सरकारहरुबीच प्रभावकारी समन्वय नहुनु र विपद् प्रतिकार्यमा राज्य कमजोर रहेकै पुष्टि हुन्छ । भविष्यमा यस्ता संकटबाट बच्न पनि वर्तमानमा भोग्नु परेका समस्याको समेत पहिचान गरिनु आवश्यक छ । तर त्यो भन्दा पनि उद्धार, राहत र अस्थायी पुनस्र्थापनामा जोड दिनु हामी सबैको दायित्व हो । 

ADVADV

सम्बन्धित खबर

Advertise