काठमाडौं : अग्रणी औद्योगिक घराना गोल्याण गु्रप र जेन–जी आन्दोलनका शहीद परिवारबीच ‘शैक्षिक–वृत्ति योजना’ को सझदारीपत्रमा हस्ताक्षर भएको छ । गोल्याण ग्रुपले यही असोज २४ गते घोषणा गरेको शहीद परिवारका लागि शिक्षा तथा स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम कार्यान्वयन गर्ने क्रममा उक्त समझदारी गरेको हो । पहिलो चरणमा शुक्रबार ११ जना बालबालिकालाई कक्षा १२ सम्मको अध्ययन र विशेष क्षमता तथा प्रतिभा प्रोत्साहनका लागि खर्च व्यहोर्ने गरी सम्झौता भएको छ । गोल्याणको तर्फबाट कम्पनीका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकशन्स प्रमुख ज्योति गैह्रे र बालबालिकाका तर्फबाट उनीहरुका अभिभावकले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार गोल्याण गु्रपले शहीद परिवारका सदस्यले अध्ययन गर्दै आएको, इच्छाएको वा उपयुक्त ठहरिएको शैक्षिक संस्थामा माध्यमिक तह (कक्षा १२) सम्म अध्ययन गर्न आवश्यक छात्रवृत्ति प्रदान गर्नेछ । ‘छात्रवृत्ति स्वरुप निज अध्ययनरत शैक्षिक संस्थाको बैंक खातामा सो संस्थाले तोकेको शुल्क आवश्यकता अनुसार वा एकमुष्ट जम्मा गर्नेछ,’ समझदारीपत्रमा भनिएको छ, ‘आवश्यक परेको खण्डमा छात्रवृत्ति प्राप्तकर्ताको अभिभावक, गोल्याण ग्रुप तथा सम्बन्धित शैक्षिक संस्थाबीच यस समझदारीको अधिनमा रही तीन पक्षीय सम्झौता गर्न सकिनेछ ।’ शैक्षिक छात्रवृत्तिका अतिरिक्त बालबालिकाको इच्छाअनुसार कुनै एक अतिरिक्त क्रियाकलापमा सहभागी हुन सम्बन्धित संस्थामा भर्ना तथा नियमित शुल्क समेत व्यहोर्ने समझदारीपत्रमा उल्लेख छ ।
अभिभावकहरुले दिएको जानकारीका आधारमा यूरो स्कुल छाउनी, प्याराडाइज इंलिस स्कुल सानेपा, जागृति विद्यासदन इंलिस स्कुल मुलपानी लगायतमा पढाउने गरी प्रक्रिया सुरु गरेको गैहै्रले जानकारी दिइन् ।
‘हामीले गर्ने कुनै पनि सहयोगले परिवारका प्रियजन गुमाउँदाको पीडा मेटाउन सक्दैन, तर तपाइँहरु एक्लो हुनुहुन्न, हामी पनि सँगसँगै छौं भन्ने भावनाले सहयोगको हात बढाएका हौं,’ उनले भनिन्, ‘शहीदका बालबालिकासँग उनीहरुको सपना पनि जोडिएकाले त्यसको संरक्षण गर्नु हामीले दायित्व सम्झेका छौं ।’
गोल्याण ग्रुपकी कर्पोरेट अफेयर्स एण्ड कम्युनिकशन्स प्रमुख गैह्रेले कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा जेन–जी आन्दोलनका शहीद परिवारका लागि शिक्षा र स्वास्थ्यमा आधारित सहयोग कार्यक्रम घोषणा गरेको र त्यसलाई कार्यान्वयन सुरु गरेको बताइन् । उनका अनुसार शहीद परिवारका घरमै गएर उनीहरुको आवश्यकता पहिचान गरी पहिलो चरणको सहयोग कार्यक्रम अघि बढाइएको हो । ‘हामीले क्रमशः अन्य शहीदका परिवारसँग पनि सम्पर्क गरिरहेका छौं, उहाँहरुको आवश्यकता पहिचान गरेर सबैलाई सहयोग कार्यक्रममा जोड्नेछौं,’ उनले भनिन् ।
समझदारीपत्रमा हस्ताक्षर गर्ने क्रममा काठमाडौं, सानो भ¥याङकी उर्मिला नगरकोटीले नयाँ अभिभावक पाएको बताइन् । बुवा पहिल्यै बितेका र आमा कान्छी नगरकोटीको आन्दोलनमा मृत्यु भएपछि उर्मिलाको काँधमा ९ कक्षामा अध्ययनरत भाइ र ११ कक्षामा अध्ययनरत बहिनीको जिम्मेवारी आइलागेको थियो । ‘बुवा–आमा नरहेपछि भाइबहिनीलाई कसरी पढाउने भन्ने चिन्ता थियो, अब हटेको छ,’ उनले भनिन् ।
शहीद अनिष पराजुलीकी धर्मपत्नी मन्जु पौडेलले हरेक व्यक्तिको जीवनमा शिक्षाभन्दा ठूलो केही नभएको बताउँदै यसको जिम्मेवारी लिएकोमा गोल्याण गु्रपप्रति आभार व्यक्त गरिन् । मन्जुका श्रीमान् अनिष पराजुलीको महाराजगन्जमा गोली लागेर मृत्यु भएको थियो । उनका २ वर्षीय र १४ वर्षीय दुई छोरा छन् । उनीहरुको १२ कक्षासम्मको शिक्षाको जिम्मेवारी गोल्याणले लिएको छ । गोल्याण ग्रुपले स्वास्थ्य बीमा सहयोग कार्यक्रम कार्यान्वयन प्रक्रिया पनि सुरु गरेको जनाएको छ । शैक्षिक वृत्ति कार्यक्रममा समेट्न नसकिएका सहिद परिवारका बुवा र आमाका लागि बीमार्माफत सहयोग गरिने कम्पनीका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकशन्स प्रमुख गैह्रेले जानकारी दिइन् । उनका अनुसार दोस्रो चरणमा तिहारलगत्तै बाँकी शहीद परिवारलाई भेटेर कार्यक्रममा जोडिनेछ । काठमाडौं बाहिर रहेका शहीद परिवारसँग पनि सम्पर्क गर्ने काम भइरहेको र कात्तिक महिनाभित्र सबैलाई घोषणाअनुसार सबै सहिद परिवारलाई सहयोग कार्यक्रममा आवद्ध गर्ने गैह्रेले बताइन् ।