२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

माओवाद र माओविचार !

ADV
२०८१ असोज १८ गते ०६:२०
माओवाद र माओविचार !

–शम्भू कट्टेल

नेपालमा चार दशक यता आएर माओको विचार पद्धतिलाई विचार भन्ने कि वाद भन्ने विवाद बढेको छ । यो विवादले माओ पक्षधरहरूलाई एकताबद्ध हुनमा बाधा पारिरहेको छ । एकता पक्षधरहरू यो बाधा फुकाउन वाद/विचार (वाद र विचारको बिचमा स्ल्यास राखेर) लेख्ने गरौँ भन्छन् भने एकतालाई महत्व नदिनेहरू आफ्नै ढिपी जितिरहेका छन् । नेपालको एउटा कम्युनिस्ट पार्टीले वाद/विचार लेखेर जाने कि नजाने भन्ने विषयमा भोटिङसम्म गरेको र बहुमतले एकतामा बाधा नपार्नका लागि वाद÷विचार लेखेर जाने निर्णय गरेको छ ।

वादभन्दा माओको लाइनलाई बढी महत्व दिएको हुन्छ कि विचार मात्रै भन्दा विभिन्न मत पाइन्छ । एक दुइटा नाम चलेका अङ्ग्रेजी शब्दकोश हेर्दा, वाद भन्नुभन्दा विचार भन्दा खेरी त्यसले बढी महत्व पाउने देखिन्छ तर, केही अङ्ग्रेजी भाषा बोलिने देशहरूका केही कम्युनिस्ट पार्टी स्वयम्ले भने त्यसलाई बढी महत्व दिएको देखाउन वाद भन्न थालेको पाइन्छ । जस्तै कि (नवउदारवादी) अर्थशास्त्रीहरूले अघि सारेको विचारलाई ‘थट्’ भन्ने तर लागू गर्ने राजनीतिक नेता रियागन अथवा थेक्चर)लाई भने ती नेताको नाम जोडेर वाद भन्ने गरेको पाइयो ।

माओका विचारलाई धेरै महत्व नदिऔँ भन्नेहरू नेपालमा माओ विचार भन्दछन् । वाद भनियो भने माक्र्स वा लेनिनको स्तरको विचार ठहरिन्छ र त्यसो नभनेर विचार मात्र भन्नुपर्छ भन्दछन् । वाद भन्नपर्छ भन्नेहरू माओका विचार पनि विश्वव्यापी महत्वको छ र २०औं शताब्दीको माक्र्सवादी संस्करण हो भन्दछन् । माओका ‘व्यवहारबारे’, ‘अन्तर्विरोधबारे’ जस्ता लेखहरू लेनिनको ‘राज्य र क्रान्ति’भन्दा वा माक्र्सको ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ भन्दा कम माक्र्सीय वा कम वजनदार छैनन् भनिन्छ । बृहत् स्वीकार्यता, नवीनता र व्यापकताकै हिसाबले पनि माक्र्सले औद्योगिक देशका क्रान्तिको आवश्यकता र मोडेल देखाए, लेनिनले साम्राज्यवादी देशका क्रान्तिको आवश्यकता र मोडेल देखाए भने माओले साम्राज्यवादबाट उत्पीडित औद्योगिक विकास कम भएका देशका क्रान्तिको आवश्यकता र मोडेल देखाए भन्ने कुरा विश्वले स्वीकार गरेकै कुरा हो । जहाँसम्म सबै प्रस्थापनाहरूको सर्वकालिकताको प्रश्न छ एक देशमा मात्रै क्रान्तिको सम्भावना नदेख्ने माक्र्सलाई लेनिनले गरेर देखाए र मजदुर विद्रोहको लेनिनको मोडेललाई माओले किसान मजदुर संयुक्त विद्रोहमा सफल परिवर्तन गरिदिए । यस अर्थमा माओ पनि लेनिन भन्दा कम थिएनन् ।

यो विवाद विषयवस्तुको विवादभन्दा पनि आफ्नो कुरामाथि पार्ने सङ्कीर्णता र एकता वृद्धि गरी क्रान्तिलाई नजिक ल्याउनमा वास्ता नगर्ने प्रवृत्तिको रूपमा बढी देखिएको छ । माओका योगदान नै विषयवस्तु हो भने विचार वा वाद जे भने पनि के नै फरक पर्छ र विवाद निकाल्नु ? विवाद/वादभन्दा समस्या हल हुन्छ भने किन नभन्नु ? त्यसैले विचार र वादको झगडा नबल्झाई माओका सान्दर्भिक भनाइहरू (संसदवादको विरोध, जनसंघर्षमा जोड, किसान समुदायमा आधारित जनसत्ताद्वारा बलपूर्वक विद्रोह गरी नयाँ जनवादी सत्ताको स्थापना)लाई लागू गर्न अघि बढ्नु नै हितकर देखिन्छ । लागू नगर्ने हो भने वाद भने पनि अर्थ छैन, विचार भने पनि अर्थ छैन । वाद भन्दा माओका योगदानको अति–मूल्याङ्कन हुन्छ भन्ने भनाई गलत हो, त्यस्तो धारणा राख्नेलाई माओ विचारै भन्न पनि के कर छ र, माओ विचारै छोडे भयो । वाद र विचारको झगडाले संगठनात्मक एकता हुँदैन भने विद्यमान विकृति, विसङ्गति, स्वेच्छाचारिता, भ्रष्टाचार, लूटतन्त्र, मौलिक हकको बहाली, विदेशी दासता आदिको विरोधमा सहकार्य त गर्न सकिन्छ नि । इमानदारहरूले सकारात्मक कामहरूलाई साथ दिनै पर्छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise