२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

राप्रपामा विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर, मिश्रलाई महत्वपूर्ण जिम्मेवारी

ADV
भावना पाठक
२०८१ असोज १८ गते ०६:४०
राप्रपामा विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर, मिश्रलाई महत्वपूर्ण जिम्मेवारी

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा संगठनका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई राजनीतिक विभागको प्रमुखको महत्वपूर्ण जिम्मेवारी दिँदै पार्टीका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बिहीबार अध्यक्ष लिङ्देनले राप्रपा संगठनका विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका हुन् । 

‘संगठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र तोकिएको छ’ श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

यस्तै, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री बिजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धब थापा, सूचना प्रविधि विभाग(आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धबराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने तोकिएको छ ।

नेताहरूका अनुसार मिश्रलाई राजनीतिक विभागको प्रमुखको महत्वपूर्ण जिम्मेवारी दिन विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको हो । 

राजनीतिमा आउनु अगाडि मिश्र लेखक र पत्रकार थिए । बिबिसी नेपाली सेवाको जागिर छोडेर उनी राजनीतिमा आएका थिए । 

बिबिसी नेपाली सेवाको जागिर छाडेर साझा पार्टीं स्थापना गरेर राजनीतिमा आएपछि उनले आफ्नो राजनीतिक विचार र स्पेसलाई वैकल्पिक राजनीति भनेर ब्याख्या गरेका थिए । भारतको अरविन्द केजरिवालको आम आदमी पार्टीसँग तुलना गर्दै साझा पार्टीको ब्रान्डिङ गरेका थिए । 

पछि उनले विवेकशिल नेपालीदलसँग साझा पार्टीलाई एकता गराए । विवेकशील नेपाली दलका संस्थापक उज्ज्वल थापा थिए, जसले २०७० को दोस्रो संविधानसभा निर्वाचनदेखि कुकुर चिन्ह लिएर वैकल्पिक राजनीतिको भिन्नै अभ्यास र पैरवी गरिरहेका थिए ।

साझाको भन्दा विवेकशीलको विश्वसनीयता बढी थियो । उज्ज्वल थापाले आफू पृष्ठभागमा बसेर मिलन पाण्डे, रन्जु दर्शना, पुकार बम, निर्देश सिलवाल लगायतका युवालाई अगाडि ल्याए । २०७४ को स्थानीय निर्वाचनमा साझा पार्टीका उम्मेद्वार किशोर थापाले भन्दा विवेकशील दलकी रन्जु दर्शनाले काठमाण्डौंको मेयरमा धेरै भोट ल्याइन् । 

त्यसपछि, साझा र विवेकशील बीच एकता हुनु पर्ने सार्वजनिक माग बढेको थियो । अनौपचारिक जनदबाब समेतलाई सम्बोधन गर्दै दुई पार्टी एक भए । विवेकशील नेपाली दलका संस्थापक नेता उज्ज्वल थापा कोरोना महामारीको समयमा निधन भयो । त्यसपछि मिश्रले पार्टी फुटाए । फेरि मिश्र र मिलन पाण्डेको प्रयत्नले यी दलबीच फेरि एकता भयो । तर, त्यो एकता पनि टिक्न सकेन । मिश्रसँगको एकता र विभाजनको घनचक्करले विवेकशील नेपाली दलको पनि वैकल्पिक राजनीतिको छवि कमजोर हुँदै गयो । अन्ततः साझा विवेकशिल साझा पार्टी अध्यक्ष रहँदा रहँदै मिश्र राप्रपामा प्रवेश गरे । उनले राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन पछाडिको बरियता पाएका थिए । अन्य भूमिका रहेता पनि उनले राजनीतिक विभागको प्रमुखको महत्वपूर्ण जिम्मेवारी पहिलो पटक पाएका हुन् । यसलाई मिश्रको राजनीतिक जीवन र राप्रपाको जीवनका लागि समेत महत्वपूर्ण रहेको बताइन्छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise