–जनक बराल
म जन्मिँदा, मेरो गाउँ कास्कीको पुम्दीभूम्दीमा बिजुली थिएन । हाम्रो खरले छाएको घुमाउने घर थियो । त्यति बेला मट्टितेल राखेर बाल्ने पानस वा साना टुकी हुने गर्दथे, त्यसमा कपडाको सलेदो राखेर टुकी बालिन्थ्यो । म मामाघर जाँदा मेरो हजुरबुवाले लालटिन बालेको देख्ने गर्दथे । टुकीभन्दा लालटिन केही सुरक्षित र लिएर हिँड्न सजिलो पनि हुन्थ्यो ।
अलिक आम्दानी कम हुने र मट्टितेल उपलब्ध नहुने ठाउँमा भने सुकेका निगाला (सिट्ठा) बाल्ने चलन पनि हुन्थ्यो । कोही मान्छे राती कतै जानु पर्ने भएमा बाँसका कप्टेरामा बोरा बेरेर राँको बनाइन्थ्यो वा आगाको अगुल्टो उज्यालोको लागि प्रयोग गर्ने चलन हुन्थ्यो । टाढाको मेलापातमा जाँदा होस् या राती आपतकालिन अवस्थामा कतै हिँड्न परेमा अन्दाजको भरमा हिँड्नु पर्ने बाध्यता पनि हुन्थ्यो ।
घरमा प्रायः सबैका आ–आफ्ना टुकी हुन्थे र मट्टितेल पनि त्यहीअनुसार बाँडिएको हुन्थ्यो । सबैलाई चाहिने विशेष भान्छा कोठामा अलिक भरपर्दो र तेल धेरै जाने पानस राखिएको हुन्थ्यो भने साना केटाकेटी र स्कुले बालबालिका चाहिँ मसीका बट्टा वा कहिलेकाहीँ भट्टी बाहिर तिर भेटिने स–साना बोतल प्रयोग गरिएका आ–आफ्ना पानस हुन्थे । पानसको सलेदो चाहिँ प्रायः फाटेका सिरकका खोल तथा आमाका थोत्रा पटुका च्यातेर बनाइने गरिन्थ्यो । जब स्कुलका परीक्षा आउने गथ्र्यो अनि धेरै पढ्नु पर्ने समयमा चाहिँ पानसबाट निस्कने मुस्लोको धुवाँको कारण नाक/मुखभित्र कालो ध्वाँसो समेत पस्ने गर्दथ्यो भने कहिलेकाहीँ पानस पल्टिएर वा अन्य कारण आगलागी हुने जोखिम पनि उत्तिकै रहन्थ्यो ।
अलिक पछि कोही लाहुरबाट आउँदा ब्याट्रीवाला लाइट लिएर आउन थाले र केही हुने खाने सम्पन्न व्यक्तिहरूले पनि लाइटको प्रयोग प्रयोग गर्न थाले जसले रात÷विरात कोही बिरामी पर्दा अथवा अलिक टाढा जानु पर्दा केही राहत पनि दिलायो । बिस्तारै बजारमा चाइनिज लाइट आउन थाले । जसको पहुँच आम सर्वसाधारणसम्म पनि पुग्न थाल्यो ।
२०४६ साल आसपासबाट हाम्रो गाउँ साबिकको पुम्दीभुम्दी गाविस र हालको पोखरा महानगरपालिका वडा नम्बर २२ मा बिजुली ल्याउने भनेर तयारी भएको रहेछ । खास प्रोजेक्ट त कुन थियो कुन्नि, गाउँलेहरू उक्त बिजुली फिनल्यान्ड सरकारको सहयोगमा आएको बताउँछन् । बिजुलीका पोल गाड्न खाल्टा खन्ने, ठुला–ठुला मेटल र काठका पोल मानिसहरूद्वारा ठाडै उकालो बाटो बोकेर डाँडाका टुप्पासम्म पुर्याउनु पर्ने, पोल गाड्ने, तार तान्ने काम सहज त थिएन नै तर, पनि ती सबै काम सम्पन्न भएपछि २०४७ सालसम्म सबैका घरसम्म बिजुलीको तार पुगेर मिटर बक्ससमेत जडान कार्य भइसकेको थियो भने केवल प्रतीक्षा थियो त बिजुली छोड्ने दिनको ।
मेरा साना बा डण्डपाणी बराल, जो शिक्षक हुनुहुन्थ्यो र उहाँलाई इलेक्ट्रिसियन काम पनि आउँदथ्यो । बिजुली औपचारिकरूपमा नछोड्दै उहाँको घरमा भुलवश फेज लाइन आएछ र उहाँले कुनै उपायले आफैले न्युट्रल निकालेर पहिलो पटक एउटा बिजुलीको बल्ब बाल्नु भएको थियो । त्यो हेर्न धेरै मान्छेको घुइँचो लागेको थियो । त्यसपछि २०४८ साल वैशाख १८ गतेका दिनदेखि गाउँमा औपचारिक रूपमा बिजुली वितरण सुरु भयो, त्यस दिनदेखि एउटा नयाँ उज्यालो युगको सुरुवात भयो ।
बिजुली आउँदा सारा गाउँलेको मन गद गद भएको थियो । सुरुमा बिजुली केबल उज्यालोको लागि मात्रै प्रयोग गरिएता पनि त्यसले गृहिणी र विद्यार्थीको जीवनमा कायापलट ल्याइदिएको थियो । थुप्रै खालका दुःखहरू हटाएको थियो ।
बिजुली आएपछिको एउटा रमाइलो प्रसङ्ग पनि सुनाइहालौँ । त्यो बेला पहिला गाउँघर तिर प्रायः खरले छाएका घुमाउने घर हुन्थे । बिचमा अलिकति आटो बनाएर पाटेसन जस्तो गरे पनि सिङ्गो घर एउटै कोठा हुन्थ्यो । एकातर्फ सुत्ने अनि राखन–धरन गर्ने मदुस, खाट बिस्तारा हुन्थे भने अर्कोतर्फ भान्छा र अगेनो हुन्थ्यो । कुनामा भने भँडार हुन्थ्यो । भर्याङ्ग चढेर आँटीमा जान्नु पर्थ्यो, आँटीमा प्रायः अन्नपात र भाँडाकुँडा राखन–धरन गरिन्थ्यो । घरका बुढा हजुरबुवादेखि भर्खर जन्मेका बच्चासमेत त्यही एउटै कोठाको घरमा अटाउनु पर्दथ्यो ।
पहाडको ठाउँ धेरै खेतीपाती नहुने, खानको दुःख हुने । प्रायः सबैको घरमा कोदोको ढिँडो खाने चलन हुने गथ्र्यो, तर घरमा ढिँडो खाएको कुरा अरूले देखे, अझ विशेषगरी पाहुनाले थाहा पाए भने इज्जत जाने बुझाई थियो । पहिला बिजुली नहुँदा त घरमा अपर्झट कोही पाहुना आए भने ढिँडाको भजालो यताउति लुकाउन पनि सजिलो हुने, मैला कपडा, फाटेका तन्ना र सिरकका छेउलामा झ्याप्प कसैका आँखा नपर्ने, खाना पकाउँदा कुनै फोहोर परे, कपालका रौँ परेपनि नदेखिने हुन्थ्यो । घरमा पाहुना तथा छिमेकी आउँदा घरभित्र के छ सबै चिज देख्दैनथे तर, जुन दिनदेखि घरमा बिजुली बल्यो, त्यस दिनदेखि घरका कुना, कन्तरा सबै देखिन थाले । फाटेका सिरकका खोल, भान्छाको धुलो अनि भँडारमा लुकाएको ढाँड तथा ढिँडाको भुजुङ्गोसमेत घरभित्र छिरेका हर कोहीले छर्लङ्गै देख्ने भएपछि अब इज्जत भन्ने चिज संकटमा पर्यो ।
“यो बिजुली भन्ने चिज त बेइज्जती पो हुँदो रहेछ !” तत्कालीन समयमा हजुर बाको यो ठट्यौली तर्क समय सुहाउँदो भए पनि जब गाउँघर अनि कुना कन्दरामा बिजुली पुग्यो तब अँध्यारो युग सकिएर उज्यालो युगको सुरुवात भयो । जसलाई हामी उज्यालो युगतर्फ लम्किएको स्वर्ण युगको सुरुवातको रूपमा समेत लिन सकिन्छ ।