२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

प्रविधिले फस्टाएको मनोरञ्जन क्षेत्र

ADV
भावना पाठक
२०८१ असोज २१ गते ०५:४०
प्रविधिले फस्टाएको मनोरञ्जन क्षेत्र

‘उज्यालो नेपाल’ अभियानसँगै कला र मनोरञ्जन क्षेत्रले पनि फड्को मारेको छ । ब्याट्रीबाट चल्ने रेडियो, टेलिभिजन अब विद्युतमा निर्भर भएको छ । सबैको पहुँचमा बिजुली पुगेपछि रेडियो, टेलिभिजनजस्ता उपकरणको विकल्पका रुपमा गुगल, युट्युबजस्ता अन्य माध्यम फष्टाउँदै गएको छ । 

ब्याट्री प्रयोग हुँदा सीमित समयका लागि रेडियो, टेलिभिजन बजाइन्थ्यो भने बिजुली आएपछि आफूलाई सुन्न र हेर्न मन लागुन्जेल बजाइन्छ । त्यतिमात्र होइन, मोबाइलमा इन्टरनेट सहज भएसँगै हातहातमा विश्वका हरेक कुनाको खबर सजिलै थाहा पाउन सकिन्छ ।

बिजुलीले इमेल, इन्टरनेट र अन्य सामाजिक सञ्जालसँग पनि मानिसलाई सजिलै जोडेको छ । साहित्य, संगीत र चलचित्रजस्ता मनोरञ्जनका क्षेत्रसँग नजिक बनाउनुका साथै व्यापार र व्यवसायलाई विस्तार गर्न मद्दत पुगेको छ । सूचना सरल, सहज र छिटो छरितोरुपमा सबैतिर फैलिने गतिलो माध्यम बनेको इन्टरनेट बिजुलीको सहजताले अझ बढी लोकप्रिय भएको देखिन्छ । 

मोबाइल चार्ज गर्न मात्र पनि सोलार अथवा बिजुली भएको ठाउँमा लाइन बस्नुपर्ने ग्रामीण भेग अहिले त्यो अवस्थाबाट माथि निस्केर मज्जाले आफ्नै घरमा मोबाइल चार्ज गर्न, जति मन लाग्छ चलाउन सक्ने हैसियतमा पुगेका छन् । अहिले नेपालको करिब सबै मानिसको पहुँचमा बिजुली पुगेको छ । 

बिजुली पुग्नुभन्दा अर्को महत्वपूर्ण कुरा लोडसेडिङ अन्त्य भएको छ । राष्ट्रिय प्रसारण लाइन, स्थानीय स्तरमा उत्पादित विद्युतको उपयोग सबै नेपालीले गर्न पाउनुका साथै अन्य देशमा विद्युत निर्यात गर्ने हैसियतमा नेपाल पुगेको छ । दिनको १८ घण्टामाथि लोडसेडिङ खेप्दै आएको नेपाल अहिले लोडसेडिङमुक्त भएको छ ।

लोडसेडिङ अन्त्यसँगै मोबाइल, ल्यापटप, कम्युटर, रेडियो, टेलिभिजनजस्ता सञ्चारका मध्यमहरू सजिलै प्रयोग गर्न सकिने भएको छ । मोबाइल, ल्यापटप, कम्युटरजस्ता माध्यमले त सञ्चार र मनोरञ्जनलाई सबैको हातमा राखिदिएको छ भन्दा पनि फरक पर्दैन । यसले पछिलो समय सुस्त बनेको चलचित्र र गीत संगीतको बजारलाई माथि उठाउन मद्दत पुगेको देखिन्छ ।

सिडी र क्यासेटमा अडिएको मनोरञ्जन क्षेत्र मेमोरी र पेनड्राइभमा खुम्चिएको थियो । मनोरञ्जनको पहुँच सबैतिर पुग्ने भएपनि सर्जक विस्थापित हुने र सर्जकको लगानी डुब्ने गरी मेमोरी र पेनड्राइभको समय चल्यो । त्यसलाई पनि लगभग विस्थापित गर्ने गरी पछिल्लो समय गुगल र युट्युबजस्ता अन्य एप्लिकेसन विस्तार भएका छन् ।  गीत संगीत सुनेर मात्र आनन्द लिने गरिन्थ्यो भने अब हेर्ने जमाना आएको छ । 

गुगल र युट्युबजस्ता एप्लिकेसन धेरै पहिला नै विश्वबजारमा लञ्च भएपनि नेपालमा त्यसको प्रभाव अलि पछिदेखिमात्र देखिन थाल्यो । जुन देशमा बिजुलीको उज्यालो देख्न पाइँदैन थियो, इन्टरनेटको पहुँच थिएन त्यो देशमा यस्ता एपहरूले त्यति छिट्टै पकड जमाउन सक्ने अवस्था पनि थिएन । 

जब देशमा बिजुली सहज भयो मोबाइल, ल्यापटप, कम्प्युटर सबैले प्रयोग गर्न थाले तब विश्व बजारमा लञ्च भएका सबै एप नेपालमा सबैतिर फैलियो । अहिले नेपालका प्राय मानिसहरू फेसबुक र युट्युबसँग सजिलै जोडिन सकेका छन् । पछिल्लो समय टिकटकले मनोरञ्जन क्षेत्रलाई फ्रीमा बिज्ञापन गर्ने काम गरेको छ ।

आफूलाई अनुकूल भएको समयमा गीत हेर्न र सुन्न पाइन्छ, चलचित्र हेर्न सकिन्छ, आफ्ना आफन्तसँग कुराकानी गर्न सकिन्छ, पहिला जता जता टेलिकमको टावर आउँथ्यो त्यता आफू जानुपथ्र्यो अहिले सबैतिर टावर पुगेको छ । त्यसले समय बचत भएको छ । सबै काम सकेर फुर्सदमा गीत सुन्छु, चलचित्र हेर्छु भन्न पाइएको छ । विश्वका सबै खबर हेर्छु सुन्छु भन्दा हातमै खबरहरू आइदिन्छ ।

नेपलमा धरासायी बन्न लागेको मनोरञ्जन क्षेत्र बिजुलीकै कारण माथि उकासिन थालेको छ । त्यसले सर्जक लगानी डुब्ने खतराबाट मुक्त भएका छन् । राम्रा सृजनामा मिलियन भ्युज पुगेका छन् । हलमा चल्न नसकेका चलचित्र युट्युबमा हिट भएका छन् । नेपालमा युट्युव शुरु हुँदा अपलोड भएका गीत अहिले आएर भाइरल भएर मिलियन पटक हेरिएका छन् ।  यो सबै बिजुलीकै देन हुन् ।

युट्युबमा अहिलेसम्म सबैभन्दा धेरै हेरिएको नेपाली गीतमा फिल्म ‘दुई रुपियाँ’को ‘कुटुमा कुटु’ छ । यो गीतलाई २ सय १२ मिलियन पटक हेरिएको छ । माया ‘लुकी लुकी’ बोलको गीत  युट्युबमा १ सय ५२ मिलियन पटक हेरिएको छ । चलचित्र ‘घामड शेरे’को ‘साली मनपर्‍यो’ बोलको गीतलाई १ सय ३५ मिलियन पटक हेरिएको छ ।

त्यस्तै ‘पिरिम नलाउने’ बोलको गीत पनि धेरै हेरिने गीतको सूचीमा पर्छ यो समाचार तयार पार्दासम्म यो गीत १ सय १२ मिलियन पटक हेरिएको छ। ‘कसरी कसरी–२’ बोलको गीतले १ सय ७ मिलियन भ्युज पाएको छ । ‘फुलबुट्टे सारी’ ले १ सय ६ मिलियन भ्युज पाएको छ भने ‘दुबो फुल्यो’ बोलको गीतले १ सय ६ मिलियन, ‘माया बिरानी’ ले १ सय २ मिलियन, ‘सालको पात टपरी’ बोलको गीतले ९६ मिलियन भ्युज पाएका छन् । 

त्यस्तै चलचित्रमा ‘छक्कपन्जा ३’ ले ३५ मिलियन, ‘प्रेम गीत’ ले ३२ मिलियन, ‘घामड शेरे’ ले २२ मिलियन, ‘कृ’ ले २२ मिलियन ‘होस्टेल’ ले २२ मिलियन, ‘कबड्डी कबड्डी कबड्डी’ ले २१ मिलियन, ‘घामपानी’ ले २० मिलियन, ‘जेरी’ ले १९  मिलियन, ‘सुख सुख’ ले १७ मिलियन, ‘झ्यानाकुटी’ ले १६ मिलियनभन्दा धेरै भ्युज पाएका छन् ।

आजभन्दा केही वर्ष पाहिला युट्युबमा अपलोड भएका गीत तथा चलचित्रहरू राम्रा भएर पनि यति धेरै पटक हेरिने र सुनिने अवस्था थिएन । तर प्रविधिको सहज उपलब्धले यो सबै सम्भव भएको छ । यसले एकातर्फ प्रविधिको उपयोग भएको छ भने अर्कोतर्फ खस्किँदै गएको मनोरञ्जन क्षेत्रको विकासमा सहयोग पुगेको छ । यो सबै हुनुमा नेपालमा विद्युतको उपलब्धता नै प्रमुख कारण हो । विद्युतको सहजतासँगै इन्टरनेटको पहुँच विस्तार र इन्टरनेटको पहुँचसँगै प्रविधिको प्रयोग बढेको देखिन्छ ।

ADVADV

सम्बन्धित खबर

Advertise