२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

खाँचो अनुगमनको

ADV
२०८१ असोज २२ गते ०६:२५
खाँचो अनुगमनको

सामान्य अवस्था हुन्थ्यो भने यतिबेला दशैंको रौनकले अरू सबै कुरालाई ओझेलमा पार्ने थियो । घर फर्कनेहरुको लहर, गाडीको लस्कर, दशैं मनाउन चाहिने सामग्री खरीद गरिरहेकाहरुको भीड जस्ता तस्वीरले सामाजिक सञ्जालदेखि आमसञ्चार माध्यम भरिएका हुने थियो । दशैं उत्सवलाई अवरोध गर्ने सारा कुराहरुको विरोध हुने थियो । तर यो वर्षको दशैं एकप्रकारले खुलेर मनाउने परिस्थिति देखिदैन । दशैं आउनु दुई साता अगाडि मात्र आएको बाढी, पहिरो र डुबानमा परेर मुलुककले ठूलो क्षति बेहोर्नु परेको छ । सरकारी अनुमान अनुसार १७ अर्ब बराबरको क्षति भएको छ । अढाइ सय जनाको मृत्यु र ठूलो संख्यामा बेपत्ता छन् । बाढी पहिरोको बढी प्रभाव रहेको ४१ पालिकामा ज्यान जोगाउनेहरुले पनि घर, खेतबारी र अरु सम्पत्ति गुमाएका छन् । आफन्त गुमाएका, बेपत्ता भएका र सम्पत्ति गुमाएकाहरुले यो दशैं खुलेर रमाउने परिस्थिति छैन । 

बाढी पहिरोबाट प्रत्यक्ष प्रभाव खेप्नु नपरेकाहरुले पनि दशैंमा सास्ती खेप्नु परेको छ । विशेषगरी राजधानी उपत्यकाबाट छुट्ने विभिन्न राजमार्गहरु क्षतिग्रस्त हुँदा घर फर्केर दशैं मनाउन सहज बनिरहेको छैन । यद्यपि जोखिमयुक्त बाटोहरु भएर घर फर्कनेको भीड छ । विशेषगरी बीपी राजमार्ग पूर्ण क्षतिग्रस्त भएकाले वैकल्पिक बाटो भएर घर फर्कनेहरुले महँगो मूल्य चुकाउनु परेको छ । यातायात कम्पनीहरुले तेब्बर बढी मूल्य लिएर गाडी चलाइरहेका छन् । मुलुकका अरु भू–भाग जाने यात्रुहरुबाट पनि साविकको मूल्य भन्दा बढी भाडा लिइदै गरेको गुनासो आइरहेको छ । गाडी भाडा मात्र नभएर राजधानी उपत्यकामा दैनिक उपभोग्य सामग्रीको मूल्य आकाशिएको छ । राजधानी उपत्यका जोड्ने राजमार्गहरु क्षतिग्रस्त हुनुको लाभ उठाउँदै तरकारी, फलफुल र अरु उपभोग्य सामग्रीको मूल्य चर्को बनाइएको छ । 

राज्य चाहिने भनेकै यस्तै संकटका बेला हो । संकटका बेला नागरिक अप्ठ्यारो परिस्थितिमा हुन्छन् । त्यही मौका छोपेर कृतिम मूल्य बृद्धि र उपभोग्य सामग्रीको अभाव सिर्जना गरिन सक्छ । बाढी पहिरो जस्तो प्रकोपमा परेका मानिसहरु ठगिन सक्छन् । तर राज्यका निकायहरुले संकटमा परेका मानिसहरुलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु सञ्चालन गरिनुपर्छ । त्यसका निम्ति राज्यका निकायहरुबाट हुनुपर्ने भनेको अनुगमन हो । बजार अनुगमनबाट उपभोग्य सामग्रीको कृतिम अभाव र मूल्य बृद्धि रोक्न सकिन्छ । सार्वजनिक यातायातमा लिइरहेको भाडाबारे निर्देशन दिन सकिन्छ । तर सरकारले आफ्नो उपस्थिति संकटमा परेका नागरिकसम्म पुर्‍याएको देखिदैन । त्यसैले उद्धार, राहत र पुननिर्माणमा सहयोग नपाइरहेका बाढी पहिरो पीडित नागरिक समेतले कृतिम संकट खेप्नु परिरहेको छ । सँगै समग्र मुलुकका नागरिकले चर्को मूल्यमा दशैं मनाउने परिस्थिति बनिरहेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise