२०८३ असोज २४ गते शनिवार / Oct 10 , 2026 , Saturday
२०८३ असोज २४ गते शनिवार

चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न नमुना अभ्यास

Nada
सूर्यप्रसाद भुसाल
२०८१ असोज २२ गते २१:०४
Shares
चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न नमुना अभ्यास

अर्घाखाँची : चाडपर्वमा हुने सवारी दुर्घटनाको उद्धारसँगै न्यूनीकरण गर्न नमुना अभ्यास अर्घाखाँचीमा गरिएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको निर्देशनमा सशस्त्र प्रहरी बल नेपाल नेपाली सेना नेपाल प्रहरीको संयुक्त आयोजनामा सदरमुकाम सन्धिखर्कस्थित नगरपालिका कार्यालय अगाडि सडकमा नमुना अभ्यास गरिएको हो ।

ncell

दुर्घटनाका बेला द्रुत उद्धार एवम् घाइतेहरूलाई अस्पताल पुर्‍याउन अभ्यस्त बनाउने उद्देश्यले  नमुना अभ्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक भिमसेन बोहराले बताए । 

अभ्यासका लागि नेपाल प्रहरी, नेपाली सेना जिल्ला प्रशासन सशस्त्रले सहकार्य गरेका हुन् ।  अर्घाखाँचीमा सडक दुर्घटना बढेको ट्राफिक प्रहरीको तथ्यांकले स्पष्ट पार्छ । सवारी दुर्घटना आफ्ना कारणले मात्र नभइ अरूका कारणले पनि घट्ने भएकोले सवारी साधन चलाउँदा सावधानी पूर्वक चलाउनुपर्छ र सावधानी  अपनाउने हो भने दुर्घटना हुँदैन भन्ने सन्देश दिनका लागि यस्ता खालका अभ्यास गर्नुपर्ने जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले बताए । 

पूर्व जानकारी बिना आउने दुर्घटनाले पुर्‍याउने क्षतिको आंकलन नहुने भएकाले दुर्घटना पश्चात उद्धारमा कसरी सहभागी हुने र पेशागत दक्षतालाई समयानुकुल कसरी परिचालन गर्न सकिन्छ भन्ने विषयमा घटना अभ्यासले सहज हुने सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए । 

सुरक्षाकर्मीहरू विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरण गर्न सक्षम रहेको श्रेष्ठले स्पष्ट पारे ।

चाडबाडको समयमा सडकमा सवारीको चाप बढ्ने भएकाले दुर्घटना हुनसक्ने प्रबल सम्भावना रहेकोले सवारी साधन चलाउँदा चालकको लापरबाही र सडकको दूराअवस्था नै दुर्घटनाको मुख्य कारण रहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । सबैले आफ्नो जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गरे दुर्घटना न्यूनीकरण गर्न सकिने प्रजिअ अर्यालको भनाइ छ ।

घटना अभ्यासका क्रममा देखिएको सीप र कौशलताको प्रशंसा गर्दै घटना प्रतिकार्य अभ्यासले सबै जिम्मेवार निकायको जिम्मेवारी स्पष्ट गर्न मद्दत पुगेको प्रमुख जिल्ला अधिकारी अर्यालले दाबी गरे । नमुना अभ्यासले घटना घट्दा कसरी समन्वय, सञ्चार र उद्धार गर्न जुट्ने लगायतका कुराहरू छर्लङ्ग पारेको प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले बताए । दुर्घटनाबाट हुने मानवीय तथा जनधनको क्षतिलाई न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयले सडक सुरक्षा तथा सडक सुधार कार्यक्रम ल्याएको जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीका सूचना अधिकारी नुमलाल पन्थिले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर